विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्छ : अर्थमन्त्री शर्मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्छ : अर्थमन्त्री शर्मा


१७ पुस २०७८, शनिबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विद्युत्को बजार खोज्न लागिएको भन्दै बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताएका हुन् ।

शुक्रवार नयाँ वानेश्वरमा नागरिक लगानी कोषको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युत्को खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो दिशामा गएको बताए । ‘जलविद्युत थोरै मात्र उत्पादन हुँदा पनि हामी यसको बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ’, उनले भने, ‘हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन, खपत हुने क्षेत्र खोज्ने हो । हामी उल्टो बाटोमा छौँ ।’

बजारले भन्दा खपत गर्ने क्षेत्रले बढी प्रतिफल दिने भन्दै उनले खपतले मुलुकलाई आर्थिक विकासतिर लैजाने बताए । कृषि आधुनिकीकरण, औद्योगीकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रमा खपत गर्न सकिने मन्त्री शर्माले औँल्याए । त्यस्ता क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोष जस्ता कोषले लगानी गर्नुपर्नेमा समेत उनले जोड दिए ।

नागरिक लगानी कोषका ठुला कोषहरूमध्ये एक रहेको भन्दै मन्त्री शर्माले यस्ता कोषहरूको उचित परिचालन गर्नुपर्ने बताए । कोषहरू निष्क्रिय रहेकाले तिनीहरूको परिचालनमा उनले जोड दिएका हुन् । ‘कोषको पैसा लगानी भइरहेको छैन । लगानी गरेर पुँजी निर्माण गरिरहेको छैन’, उनले भने, ‘आजको दिनमा सबै कोषहरूलाई पुँजी निर्माणमा केन्द्रित गर्न आवश्यक छ ।’ आगामी दिनमा लगानीका लागि ठुलो पुँजीको आवश्यकता रहेकाले त्यसका लागि कोषहरू केन्द्रित गर्नुपर्ने उनले बताए ।

भवन ९१ करोड लागतमा ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो । समयमै निर्माण सम्पन्न भएको साढे ६ तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ समेत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस