राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री देउवा


१६ पुस २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य भएको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, संवाद, सहमति र सहकार्य सदैव आवश्यक हुने उल्लेख गरेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठुलो महत्त्व रहेको उल्लेख गर्दै उनले सबैमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘बिपी कोइराला तत्कालीन राजनीतिक व्यवस्थाले लगाएका ठुला–ठुला मुद्दाको पनि परवाह नगरी ज्यान नै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ देशभित्र प्रवेश गरेका थिए । यो दिनले हामी सबैलाई सधैँ देशभक्ति र लोकतन्त्रप्रति प्रतिबद्धताका लागि प्रेरणा दिइरहेको छ ।’

विसं २०३३ पुस १६ गते नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको आजको दिनलाई मेलमिलाप दिवसका रुपमा मनाइँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस