मुक्त हलियाका घर निर्माण गर्न बजेटको व्यवस्था « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुक्त हलियाका घर निर्माण गर्न बजेटको व्यवस्था


१२ पुस २०७८, सोमबार


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले मुक्त हलियाका घर निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मुक्त हलियाका २५ परिवारका घर निर्माणका लागि बजेटको व्यवस्था गरेको हो ।

घरबासको व्यवस्था नभएका मुक्त हलिया परिवारका लागि घर निर्माण गर्न नगरपालिकाको कोषबाट रकम खर्च गर्ने निर्णय गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए ।

‘पुनः स्थापना हुनबाट छुटेका ‘क’ वर्गको परिचय पत्र पाएका मुक्त हलिया परिवारका लागि घर निर्माण गर्नका लागि आवश्यक बजेटको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘जग्गा खरिदको कार्य गत वर्ष नै गरेका हौँ । विविध कारणले गत वर्ष घर निर्माणका लागि बजेटको व्यवस्था गर्न सकेका थिएनौँ । अहिले त्यो कार्यलाई पुरा गरेका छौँ ।’ मुक्त हलिया पुनः स्थापनका लागि नगरपालिकाको वडा नं १ वन्साहमा जग्गा खरिद गरिएको छ ।

पुनः स्थापनका लागि छनौटमा परेका २७ मध्ये २५ परिवारलाई घर निर्माणका लागि रु दुई लाखका दरले शून्य मौज्दातमा बैङ्कमा खाता खोलेर रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

मुक्त हलिया परिवारलाई सात धुरका दरले घरवासका लागि जग्गा उपलब्ध गराइएको छ । मुक्त हलियाका लागि दुई कोठा, एक बरन्डा र शौचालय सहितको घर निर्माण हुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले बताए ।

उनका अनुसार शौचालय निर्माणका लागि प्रति घरधुरीलाई रु एक लाख ५० हजारका दरले हेविटाट नेपाल नामक संस्थाले सहयोग उपलब्ध गराउने सहमति भएको छ ।

सोही संस्थाले घर निर्माणका लागि प्राविधिक सहयोगसमेत गर्नेछ । घर निर्माणका लागि नक्साङ्कनको कार्य भैसकेको छ । केही दिन भित्रै घर निर्माणको कार्य थालिनेछ ।

नगरपालिकाका लगतमा समावेश भई परिचय पत्र पाएका ४५८ मुक्त हलिया परिवार पुनः स्थापन भैसकेका छन् । पुनः स्थापना हुनबाट छुटेका लगतमा समावेश हुन नसकेका मुक्त हलिया परिवारको सङ्ख्या भने ३५२ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस