१४ वैशाखमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१४ वैशाखमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते एकै पटक गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूसँग शुक्रवार भएको छलफलमा आयोगका पदाधिकारीहरूले सबै स्थानीय तहको निर्वाचन १४ वैशाखमा एकै पटक गर्न प्रस्ताव गरेका छन् ।

खर्चमा मितव्ययितादेखि सुरक्षा र समग्र निर्वाचन व्यवस्थापनमा सहजता र मतदाता शिक्षा सामग्रीहरूमा एकरूपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने भएकाले एकै दिन एकै चरणमा निर्वाचन गर्नु उपयुक्त हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाई थियो ।

यदि एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने पनि आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरूको पदावधि ५ जेठमा समाप्त हुँदै छ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।

साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस