पुस ४ देखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पुस ४ देखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप


२४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । सरकारले पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ।

पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १८ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए।

त्यसै गरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्याङ्क सङ्कलन गरिरहेको र त्यस अनुसार नै खोप केन्द्र राखिने महाशाखाका प्रमुख विवेक लालले जनाकारी दिए।

यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने विभागको भनाइ छ।

यसअघि फाइजर खोपहरु सञ्चालन गरेका जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरा रहेका छन्।

हिजो मोर्डनाको १४ लाख ९८ हजार ८०० डोज खोप आएको छ। यस्तै गत शुक्रबार १ लाख ८८ हजार ४०० डोज खोप नेपाल आइपुगेको छ। आगामी आइतबार १९ लाख डोज खोप आउन लागेको पनि मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस