माओवादी पालिका अधिवेशन: मादीमा सर्वसम्मत नेतृत्व « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

माओवादी पालिका अधिवेशन: मादीमा सर्वसम्मत नेतृत्व


१२ मंसिर २०७८, आइतबार


कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरे पनि अधिकांश पालिकामा नेतृत्व चयन गर्न सकेन ।

पोखरा महानगरपालिका र मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अधिवशेन गरिए पनि मादीमा बाहेक अन्य पालिकामा नेतृत्वका आकाङ्क्षीका बीचमा सहमति नजुट्दा नेतृत्व चयन हुन नसकेको हो ।

मादी गाउँपालिकाको दोस्रो अधिवेशनबाट तोरण गुरुङको अध्यक्षतामा सर्वसम्मत पालिका कमिटी चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । कमिटीको उपाध्यक्षहरूमा नन्दश्री गुरुङ, रुद्र रानाभाट र एङ्गेल्स कार्की रहेका छन् ।

सचिवमा बेलबहादुर विश्वकर्मा, सहसचिव सन्तोष अधिकारी र कोषाध्यक्ष कल्याणी अधिकारी रहनुभएको ५० सदस्सीय कमिटी निर्वाचित गरिएको जिल्ला सचिवालय सदस्य लालबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार कमिटीका पाँच सदस्य पछि थप गरिनेछ ।

माछापुच्छे, रुपा र अन्नपूर्ण गाउँपालिकामा पालिका कमिटीमा रहनेको नाम टुङ्गो लागे पनि पदाधिकारीमा सहमति बन्न सकेको छैन । पोखरा महानगर कमिटीको अधिवेशन पार्टीका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले शुभारम्भ गरेका थिए ।

बाँकी रहेका अन्य चार पालिकामा पनि एक÷दुई दिनमा नयाँ नेतृत्व चयन गरिने पार्टीका जिल्ला संयोजक बखानसिंह गुरुङले जानकारी दिए । चार पालिकामा माओवादीको नेतृत्व लिने आकाङ्क्षीका बीचमा राति अबेरसम्म पनि सहमति नबनेपछि थप छलफलका लागि समय अपुग भएको जनाउँदै माओवादीले शनिबार अधिवेशन स्थगन गरेको थियो ।

पार्टीका जिल्ला संयोजक गुरुङका अनुुसार सकभर सर्वसम्मत नेतृत्व चयन गरिने र सम्भव नभए स्वस्थ निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व टुङ्गो लगाउने योजना बनाएको छ । माओवादी केन्द्रले पहिलोपटक देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस