पर्यटन दूत बन्न योगगुरु रामदेवलाई पर्यटनमन्त्रीको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्यटन दूत बन्न योगगुरु रामदेवलाई पर्यटनमन्त्रीको आग्रह


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेपाल सरकारले भारतीय योगगुरु रामदेवलाई पर्यटन दूतका रुपमा अघि सारेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योग गुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दूत बन्न आग्रह गरेका छन् ।

मन्त्रालयद्वारा आज पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना गरिएको योग शिविरमा बोल्दै मन्त्री आलेले योगगुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दूत बन्न आग्रह गरेका हुन् ।

मन्त्री आलेको आग्रहपछि योगगुरु रामदेवले नेपाल संसारकै अद्वितीय पर्यटकीय गन्तव्य भएको र आफू पर्यटन दूत हुन पाउनु गौरवको विषय भएको बताए ।

उनले भने, ‘नेपाल सरकारको पर्यटन दूत बन्न गरिएको आग्रहलाई उचित समयमा औपचारिक रुपमा ग्रहण गर्ने छु, दूत हुन पाउनु मेरो गौरवको विषय हो ।’

उक्त शिविरकै अवसरमा मन्त्री आलेले योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पशुपति नाथको दर्शन समेत गराएका थिए । मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई मन्त्रालयका तर्फबाट सम्मानसमेत गरेका थिए ।

उक्त योग शिविरमा पूर्व अर्थ राज्यमन्त्री लार्के लामा, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्रालयका उच्च अधिकारी र सयौँ योग साधकको उपस्थिति रहेको थियो ।

योगशिविर पश्चात् योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन् ।
.

Tags :
प्रतिक्रिया दिनुहोस