नागढुङ्गा सुरुङ मार्गको प्रजिअ रिजालद्वारा निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नागढुङ्गा सुरुङ मार्गको प्रजिअ रिजालद्वारा निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न निर्देशन


३ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुङ्गा सुरुङ मार्ग अहिले निर्माणको क्रममा छ । विक्रम सम्मत २०७६ असोजमा नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा एन्डो कर्पोरेसनबिच सम्झौता भई निर्माण सुरु भएको सुरुङ मार्गको निर्माण कार्य २३.०२ प्रतिशत सकिएको छ ।

४२ महिनामा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको सुरुङ मार्गको दुई वर्ष बित्दा आयोजनाका विभिन्न संरचनाको निर्माणसँगै १ हजार ८११ मिटर सुरुङ खनिएको छ । नेपालको पहिलो सुरुङ मार्ग भएकाले पनि यसको निर्माण प्रति सबैको चासो छ ।

कोरोना महामारी र चाडपर्वका कारण निर्माण कार्यमा केही सुस्ताएपछि यसको निर्माण प्रगतिबारे चासो बढेको हो । यस क्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले शुक्रवार आयोजनाको निरीक्षण गरेका छन् । निरीक्षण क्रममा प्रजिअ रिजालले आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन पनि दिए ।

अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अण्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढेको छ । जग्गा प्राप्तिमा देखिएको समस्यामा पनि समाधानका क्रममा छ । विगतमा देखिएको जग्गा प्राप्ति र स्थानीयसँग सम्बन्धित समस्याहरू समाधान भएकाले अब निर्माण कार्यमा ढिलाइ नहुने भन्दै प्रजिअ रिजालले निर्माणको कार्य प्रगति राम्रो नै रहेको पाएको जानकारी दिए । स्थानीयको मुआब्जा पाउन नसकेको गुनासोबारे पनि आयोजनासँग छलफल भएको र जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण गर्ने काम सम्पन्न गरिसकेको उनले बताए ।

आयोजनाका पदाधिकारीसँग नियमित सम्पर्कमा रहिरहेको र आफूले गर्नुपर्ने सहयोग पनि गरिरहेको रिजालले बताए । उनले तोकिएकै समयमा निर्माण सम्पन्न हुनेमा आफू आशावादी रहेको बताए ।

अहिले निर्माण स्थलमा सुरुङ खन्न चार टोली खटिएको छ । एउटा ‘अण्डर पास’ सकिएको र एउटा सुरु गर्न लागिएको आयोजनाले जनाएको छ । काठमाडौँतर्फ मुख्य सुरुङमा २८३ मिटर र धादिङतर्फ मुख्य सुरुङतर्फ २७९ मिटर गरी मुख्य सुरुङमा ५६२ मिटर खनिएको छ ।

निकासतर्फ काठमाडौँतर्फ ६६१ मिटर र धादिङतर्फ ४१८ मिटर गरी जम्मा १ हजार ७९ मिटर खनिएको छ । धादिङतर्फको ‘वर्किङ अडिट’ मा १२६ मिटर, काठमाडौँतर्फको क्रस प्यासेजमा ४४ मिटर खनिएको आयोजनाले जनाएको छ ।

आयोजनाअन्तर्गत नेपालमै पहिलो पटक फ्लाइओभर निर्माण हुनेछ । यसैगरी आयोजनामा तीन वटा पुल र ठाउँ ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्ने छ ।

सुरुङ मार्ग सञ्चालनमा आएसँगै नाग ढुङ्गा-नौबिसे सडक खण्डमा दैनिकरुपमा हुने जाम हट्ने छ ।

निरीक्षणका क्रममा आयोजना निर्देशक नरेश शाक्यले हाल भई रहेका निर्माण कार्य र कार्यमा आएका समस्या तथा बाधाहरूबारे जानकारी गराएका थिए ।

निरीक्षणमा प्रजिअ रिजालसँगै सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रशासकीय अधिकृत लक्ष्मी शाहीलगायत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस