टेलिकमको नाफा ७४ करोडले बढ्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टेलिकमको नाफा ७४ करोडले बढ्यो


३० कार्तिक २०७८, मंगलबार


नेपाल टेलिकम

काठमाडौँ । यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको नाफा ७४ करोडले बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ४८.९० प्रतिशतले बढी हो ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी ४० रुपैयाँ ४७ पैसा थियो । कम्पनीको सञ्चालन आय नै बढ्दा नाफामा टेवा पुगेको हो । कम्पनीको सञ्चालन आय १ अर्ब १३ करोडले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन आय ८ अर्ब ६३ करोड रहेकोमा चालु आवको सोही अवधिमा १३.२ प्रतिशतले बढेर ९ अर्ब ७७ करोड ५२ लाख पुगेको छ ।

कम्पनीले आफ्नो सेवाबाट तीन महिनामा कुल १० अर्ब ९५ करोड २३ लाख आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा १० अर्ब १० करोड ४४ लाख आर्जन गरेको थियो ।

फोरजी आयोजनाको कार्यान्वयन, एफटिटिएचको विस्तार, सस्तो डाटा प्याकेज जस्ता कारणले आम्दानी र नाफा बढेको टेलिकमले जनाएको छ ।

टुजी र थ्रीजी सेवाको पहुँच नपुगेका स्थानमा समेत फोरजीसम्मको सेवा विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको कम्पनीले जनाएको छ ।

भ्वाइस, डाटा र एसएमएस सेवामा अघिल्लो आवको त्रैमासको तुलनामा यस आवको सोही अवधिमा क्रमश: ७, १५ र ३३५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस