प्रधानन्यायाधीश जबरालाई रोक्न सर्वोच्चको गेटभित्र वकिलको धर्ना र नाराबाजी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश जबरालाई रोक्न सर्वोच्चको गेटभित्र वकिलको धर्ना र नाराबाजी


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज (आइतबार) पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै धर्ना दिएका छन्।

नेपाल बार एसोसिएसनको नेतृत्वमा आइतबार बिहान सर्वोच्च अदालतको गेटभित्र वकिलहरू धर्नामा बसेका हुन्। उनीहरूले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्।

गत शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए।

शुक्रबार वकिलहरू सर्वोच्चको गेटबाहिर बसेका थिए, आज भने उनीहरूले भित्र बसेर जबरालाई रोक्न खोजिरहेका छन्।

बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज प्रधानन्यायाधीश राणा शुक्रबार सर्वोच्च परिसरभित्र छिरेको गेटमा पनि धर्ना दिने बताएका छन्।

धर्ना दिनुअघि वकिलहरू नेपाल बारको प्राङ्गणमा भेला भएका थिए।

मन्त्रिपरिषदमा भागबन्डा खोजेको, न्यायालय सुधारमा अवरोध गरेकोलगायत विवादमा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस