बिपी प्रतिष्ठान छानबिन समितिले आज प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिपी प्रतिष्ठान छानबिन समितिले आज प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाउने


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने ठहरसहितको छानबिन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने भएको छ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहितको छानबिन टोलीले तयार पारेको प्रतिवेदन आज (शुक्रबार) प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवालाई बुझाउने कार्यक्रम छ।

‘हामी आज प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउँदै छौ,’ स्वास्थ्यमन्त्री खतिवडाले भने, ‘त्यो प्रतिवेदनमा के छ भन्ने कुरा भरेसम्म पर्खनुस्।’

मन्त्रीले समितिको ठहरबारे खुलाउन नचाहे पनि प्रतिवेदनमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई कारबाही गर्नुपर्ने सिफारिस गरिएको स्रोतको भनाइ छ ।

उपकुलपति गिरी, रेक्टर डा. गुरु खनाल, अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई पदमुक्त गर्ने प्रक्रिया थाल्न र त्यसका लागि सिनेट बोलाउन सिफारिस प्रतिवेदनमा गरिएको छ।

शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषी उपर कारबाही माग गर्दै चार महिनादेखि निरन्तर आन्दोलनमा रहेका प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले पदाधिकारीको बहिर्गमनलाई आन्दोलनको न्यूनतम सर्त बनाएका थिए।

आन्दोलन चर्केर सेवा नै प्रभावित हुने अवस्था आएपछि सरकारले वार्ता टोली गठन गरेर आन्दोलनकारीको माग सम्बोधन गर्ने सहमति गरेको थियो। तर सहमतिअनुसार सरकारले कुनै कदम अघि नबढाएको भन्दै बिपीमा आन्दोलन जारी थियो।

Tags :
प्रतिक्रिया दिनुहोस