सिन्धुलीमा जारी गरिएको निषेधाज्ञा अन्त्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिन्धुलीमा जारी गरिएको निषेधाज्ञा अन्त्य


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । सिन्धुलीमा जारी गरिएको निषेधाज्ञा हिजो (बुधबार) राति १२ बजेदेखि अन्त्य भएको छ ।

नेकपा एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबिच झडप हुने स्थिति देखिएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

अहिले सिन्धुली जिल्लाको शान्ति सुव्यवस्थाको अवस्था सामान्य भएकाले निषेधाज्ञाको अवधि नबढाएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

बुधबार सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्क उद्घाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा एमाले महासचिव ईश्वर पोखरेललाई बोलाएको थियो ।

तर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी दल आबद्ध गठबन्धनका नेता कार्यकर्ताले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएका थिए ।

अप्रिय स्थिति हुनसक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेको कार्यकक्षमा सर्वदलीय बैठक बसेर सहमतिको प्रयास गरे पनि सहमति जुट्न सकेको थिएन । बैठकमा पार्कको उद्घाटन र सालिक अनावरण कार्यक्रम स्थगित गर्ने तथा गढीमा विजयोत्सव समारोहमा अवरोध नगर्ने सहमति भएको थियो ।

सम्बन्धित समाचार : ईश्वर पोखरेललाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोलाइएपछि सिन्धुलीमा विवाद , सदरमुकाममा निषेधाज्ञा जारी

Tags :
प्रतिक्रिया दिनुहोस