धनुषामा छोरा नजन्माएको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

धनुषामा छोरा नजन्माएको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या


२३ कार्तिक २०७८, मंगलबार


जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा ‘बझिनिया’ भन्दै एक श्रीमानले श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

सबैला नगरपालिका ३ बस्ने ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनलाइ छोरा जन्माउन नसकेको भन्दै घाँटी थिचेर हत्या गरेको मृतकका माइती पक्षको आरोप छ ।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा र दाइजोलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाई मन्जुर साफीले मानसिक तनाव दिँदै आएको खातुनका बुबा मोहम्मद आलमले बताए ।

कार्तिक ८ गते राती रक्सी खाएर साफीले घरमा सुतिरहेका छोरीको घाँटी थिचेर हत्या गरेको उनको आरोप छ । मृतकको शरिरभरि डाम देखिएको र घाँटीमा समेत डाम देखिएको उनको भनाइ छ ।

किटानी जाहेरी दिए पनि प्रहरीले आरोपीलाई कारबाही गर्न तदारुकता नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाइन् ।

यता, ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भए लगतै मृतकका श्रीमान् लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।

घटनामा संलग्न अन्य आरोपीको खोजबिन गरिरहेको बताउँदै उनले भने, ‘चाडपर्वको कारण घटनाको अनुसन्धान केही प्रभावित हुन पुगेको छ । अब अनुसन्धान अगाडि बढ्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस