२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट अभावमा रोकियो दुर्लभ सालकको अनुसन्धान

अ+ अ-

काभ्रेपलान्चोक । बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान रोकिएको छ ।

वाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएका कारण काभ्रेपलान्चोकमा सालकको वासस्थान अनुसन्धान तथा संरक्षण अभियान यो वर्ष पनि रोकिएको हो ।

संरक्षण अभियान अन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले दुई वर्षअघि सालकको वासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रदेश सरकारले २०७५/०७६ मा रु दुई लाख तथा अघिल्लो आर्थिक वर्षमा रु पाँच लाख पठाएको कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताए । उनले भने, ‘प्रदेश सरकारबाट दुई वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ’, पोखरेलले भने ।

पोखरेलका अनुसार कृषि उत्पादनमासमेत निकै गुणकारी नेपालमा रहेको स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालकको अनुसन्धान/संरक्षण अत्यावश्यक देखिन्छ ।

अभियानकै क्रममा सालकको उपयुक्त वासस्थान भएको स्थानीय क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित पनि देखिएका थिए । जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको पोखरेलले बताए ।

‘हामीले सालकबारे पाँच वर्षे योजना बनाउने प्रक्रियामा थियौँ, बजेट रोकिँदा यसप्रति थप अनुसन्धान र गतिविधि गर्न सकिएन’, उनले भने। आउने वर्षका लागि योजना बनाएर मन्त्रालयमा पेस गर्नेबारे छलफल भएको उनले बताए ।

गत असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको थियो । राति ९ बजे स्थानीय एक घरको आँगनमा भेटिएको उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको थियो ।

पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्गोलिन’ रहेको पोखरेलले जानकारी दिए । उनका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’नै रहेका छन् । सालकको उपयुक्त वासस्थान मानिएको काभ्रेपलान्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा दुई वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम भएको थियो ।

जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित वासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यक देखिएको छ । ‘यो मानिसका लागि उपयुक्त जनावर हो, यसले बालीका कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पुर्‍याउँछ, मानिसलाई भने आक्रमण गर्दैन’, पोखरेलले थपे । उनका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका किरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ ।

बल्थलीस्थित समुदायमा आधारित चोरी, सिकारी नियन्त्रण एकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईँले स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा जमिनमा ५४२ वटा प्वाल भेटिएकामध्ये पुरानो ३२३ र नयाँ २१९ प्वाल रहेको जानकारी दिए ।

उनले भने, ‘नयाँ प्वालको सङ्ख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा जाँदै छ भन्ने बुझिन्छ, हामीले सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएका छौँ ।’ उनका अनुसार एकाइले गत वर्ष स्थानीय २५० स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराएको थियो भने एकाइकै पहलमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए ।

अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ । दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित वासस्थान रहेको उसको वासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ ।

पाँच वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलान्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो ।

संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक वासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउँछिन् । उनी भन्छिन्, ‘नेपालमा दुर्लभ कालो सालक अति सङ्कटापन्न अवस्थाको सूचीमा छ ।’

विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने पोखरेलले जानकारी दिए । उनका अनुसार यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठुलो सहयोग गरिरहेको छ ।

सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुने गरेको घटनाक्रमले देखाएको छ । वन संरक्षण ऐन अनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।