म्याग्दीमा देउसीभैलो खेल्न रोक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

म्याग्दीमा देउसीभैलो खेल्न रोक


१५ कार्तिक २०७८, सोमबार


बेनी । हिमाली जिल्ला म्याग्दीमा यस वर्ष पनि चाडपर्वलक्षित गतिविधि सञ्चालन गर्न तथा देउसीभैलो खेल्न स्थानीय प्रशासनले रोक लगाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मेला जात्रा लगाउन र देउसी खेल्नलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको हो ।

जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रमुखसहित सरोकारवालाहरुको राय, सल्लाह र सुझावको आधारमा नजिकिँदै गरेको तिहार र छठ पर्वलगायत चाडपर्वमा भेला तथा जमघट हुने खालका खेलकुदका गतिविधिहरु गर्न र देउसीभैलो खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले चाडपर्वमा भेला हुने र भिडभाड गर्ने खालका गतिविधि सञ्चालनमा रोक लगाइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले जानकारी दिए।

चाडपर्वको अवसरमा हुने मेला, जात्रा, देउसीभैलो, खेलकुद तथा साङ्गीतिक कार्यक्रम जस्ता भिडभाड हुने क्रियाकलापहरुमा रोक लगाइएको सहायक प्रजिअ शर्माले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनाको बेवास्ता गरी कसैले चाडपर्वको नाउँमा खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना तथा सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही हुने सहायक प्रजिअ पौडेलको भनाइ छ ।

घरदैलोमै पुगेर खेलिने देउसीभैलोले संक्रमण हुने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको प्रशासनले जनाएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार हाल जिल्लामा सक्रिय संक्रमित २८ जना रहेका छन् । तीमध्ये दुई जना बेनी अस्पतालमा उपचाररत रहेकोमा अन्य संक्रमित होम आइसोलेसनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस