कोरोना प्रभावित उद्योग व्यवसायीले ५ करोडसम्म पुनःकर्जा पाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना प्रभावित उद्योग व्यवसायीले ५ करोडसम्म पुनःकर्जा पाउने


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । कोरोनाका कारणले प्रभावित बनेका पारेका उद्योगी र व्यवसायीले ५ करोडसम्म पुनः कर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले सूचना निकालेर बैङ्क तथा वित्तीय संस्थाहरूलाई पुनः कर्जाका लागि आवेदन दिन आग्रह गरेको हो ।

निजी क्षेत्रले राहत नपाए धेरै उद्योग-व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको भन्दै लामो समयदेखि सरकारलाई घचघच्याएको थियो । त्यसलाई मध्यनजर गर्दै राष्ट्र बैङ्कले कोरोनाबाट अति प्रभावित र मध्ये प्रभावित व्यवसायीहरूलाई पुनः कर्जाको नीति लिएको हो ।

कोरोनाका कारण समस्यामा परेका उद्योगी र व्यवसायीले आफूले कारोबार गरेको बैङ्कमा पुनः कर्जाको लागि आवेदन दिन सक्ने छन् ।

राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले कोरोनाबाट प्रभावित भएका व्यवसायले ५ करोडसम्म पुनःकर्जा लिन पाउने बताए ।

ढकालले भने, ‘पुनः कर्जाको सीमाभित्र रहेर व्यवसायीले ५ करोडसम्म पुनः कर्जा लिन पाउने छन् । पुनः कर्जा लिन चाहने व्यवसायीले आफूले कारोबार गरेको बैङ्कको शाखामा मङ्सिर १९ गतेभित्र निवेदन दिनुपर्छ ।’

सरकारले यातायात, पर्यटन, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरा पालन व्यवसाय, पशुपन्क्षी, हवाई तथा पर्यटकीय मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय पार्टी प्यालेस, मत्स्यपालन लगायतका व्यवसायलाई कोरोना प्रभावितको सूचीमा राखेको छ ।

सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, विद्यालय, निर्माण व्यवसाय, औषधि उत्पादक, छपाइ प्रकाशन तथा सञ्चार गृह, फलामजन्य व्यवसाय र अस्पताल पनि प्रभावित सूचीमा छन् । उनीहरू सबैले पुनः कर्जा प्राप्त गर्न सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस