प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुरा ओलीले गरेको गलत प्रचार हो : अध्यक्ष नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुरा ओलीले गरेको गलत प्रचार हो : अध्यक्ष नेपाल


१२ कार्तिक २०७८, शुक्रबार


पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश महाअभियोग लगाउने कुरा गलत प्रचार भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा आफूहरुबीच (गठबन्धन) कुनै छलफल नभएको बताए । उनले केपी ओलीका कार्यकर्ताले गलत प्रचार गर्दै भ्रम छाडेको बताए ।

‘केपी ओलीले बदला लिन यस्तो प्रचार गरेका हुन्,’ नेपालले भने, ‘दुई/दुई पटक संसद् विघटन गर्दा प्रधानमन्त्री रहेका ओलीसँग छलफल नगरी सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला गरेकाले बदला ओलीले लिन खोजेका हुन् । महाअभियोग लगाउने कुनै कारण छैन ।’

ओली कम्युनिस्ट पनि नरहेको र ओलीमा कम्युनिस्ट विचार पनि नरहेको नेपालको आरोप थियो । ‘कम्युनिस्टको विचार, पुष्पलाल र मदन भण्डारीको विरासत बोकेर हामीले नयाँ पार्टी खोलेका छौँ,’ उनले भने, ‘एमालेभन्दा हाम्रो पार्टी विशाल हुन्छ । अहिले एमालेको लाइनमा रहेका कार्यकर्ता पनि ओलीले हुर्मत लिएपछि हामीतिर फर्किन्छन् ।’ पहिले आफ्नो पक्षमा रहेका नेताहरूप्रति इङ्गित गर्दै उनले दाजुभाइ फुट्ने र छुट्ने क्रम स्वाभाविक रहेको बताए ।

ओलीले आफूबाहेक अरुलाई आफ्नो भन्ने प्रवृत्ति नरहेकाले एमालेमा पनि विचलन हुने उनको भनाइ थियो । उनले आफैले बनाएको एमाले पार्टीभित्र आफैले सङ्घर्ष गर्नुपरेको बताए । एकीकृत समाजवादीलाई नेताको नभई विचार र कार्यकर्ताको पार्टी बनाइने उनले बताए । उनले केपी ओलीलाई सुधार्नु भनेको बालुवा निचरेर तेल निकाल्नु जस्तै रहेको बताएका थिए ।

उनले गण्डकी प्रदेशमा आफ्नो एउटा पनि सांसद नरहेको भन्दै आगामी निर्वाचनमा आफूहरुले पनि प्रतिनिधित्व गर्ने बताए । आफूहरु सबैभन्दा कमजोर गण्डकीमा रहेको बताउँदै उनले यस क्षेत्रमा बढी सङ्घर्ष गर्नुपर्ने बताए । ‘सुदूरपश्चिममा हामी पहिलो छौँ,’ उनले भने,‘केपी ओली कता हो कता रु अबका दिनमा नेकपा एमालेलाई टर्च बालेर खोज्ने बनाउँछौँ ।’

उनले अबको निर्वाचन पटक पटक गर्नुभन्दा राज्यको खर्च जोगिने गरी एकै पटक गर्नुपर्ने धारण व्यक्त गरे । उनले अब हुने निर्वाचनमा सरकारमा भएको गठबन्धन नै एक भएर जाने पनि बताए । उनले यदि गठबन्धन सँगै चुनाव लड्न नमाने पनि आफूहरु एक्लै चुनाव लड्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस