प्रधानन्यायाधीश जबराले तोकेको इजलास बसेन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानन्यायाधीश जबराले तोकेको इजलास बसेन


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिकसहित ११ इजलास तोकेका छन् । तर इजलास भने बसेको छैन ।

न्यायाधीशहरूले इजलाशमा नबस्ने गरी छुट्टै छलफल थालेका बेला प्रधानन्यायाधीश जबराले ११ इजलास तोकेका हुन् ।

जबराले आफ्नै नेतृत्वमा पूर्ण र संवैधानिक इजलास पनि तोकेका छन् । संवैधानिक इजलासमा दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठसमेत छन् । यो इजलासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाइ गणेश हमालले दायर गरेको मुद्दा छ ।

यसैगरी जबराको एकल इजलासमा अदालतको अवहेलनासम्बन्धी लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको मुद्दा छ । यसैगरी मधुकुमारी चौधरीविरुद्धको सम्पत्ति शुद्धीकरण सम्बन्धी, मोरङ र कास्की जिल्ला अदालतविरुद्धको बन्दी प्रत्यक्षीकरण सम्बन्धी र नेपाल सरकारविरुद्धको कालोबजार तथा केही सामाजिक अपराध सम्बन्धी कसुरको मुद्दा छ ।

प्रधानन्यायाधीश जबराले इजलास तोके पनि उपलब्धन्यायाधीशहरू छलफलमा बसेको र कानुन व्यवसायीहरूले बहस पैरवी नगर्ने निर्णय गरेकाले न्यायनिरुपण हुने सम्भावना भने देखिएको छैन । प्रधानन्यायाधीश जबराले न्यायालयको साख गिराउने काम गरेको भन्दै न्यायाधीशहरू दुई दिनदेखि इजलासमा बसेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस