मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने


१० कार्तिक २०७८, बुधबार


हेटौँडा। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेकी छन् ।

मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेकी हुन् ।

मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेकी थिइन् ।

प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बुधबारको बैठकमा विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

बुधबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा प्रदेश सभाका सदस्यहरूले बोल्न चाहेमा समय दिइने भएको छ ।

प्रदेश सभामा सरकार गठनका लागि स्पष्ट बहुमत रहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा गत भदौ २ गते सर्वसम्मतिमा चयन भएसँगै शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको छ ।

हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना सदस्य आवश्यक हुन्छ । मुख्यमन्त्री शाक्यलाई प्रदेश सभामा रहेका साना दलहरूले समर्थन गरे पनि विश्वास मतको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिँदैन ।

गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीविरुद्ध ५९ जनाको हस्ताक्षर सङ्कलन भइसकेको बताएका छन् ।

प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई जना तथा जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेश सभाका सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस