प्रधानन्यायाधीशले सत्तामा भाग खोज्नुमा देउवा र ओलीको पनि उत्तिकै दोष छ : डा. कोइराला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीशले सत्तामा भाग खोज्नुमा देउवा र ओलीको पनि उत्तिकै दोष छ : डा. कोइराला


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सरकारमा भाग खोज्नुमा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उत्तिकै दोष रहेको नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्।

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला राजनीतिक दलहरू यो विषयमा मौन छन्। यसबारे उनले काँग्रेस चुप भए पनि आफूले भने कुरा राखिरहेको बताए।

‘नेपाली काँग्रेस चुप छ तर मैले न्यायालयको विवादमा आफ्नो धारणा राखेको छु। प्रधानन्यायाधीश आफैँ न्यायालय प्रमुख भएकाले न्यायपालिकालाई सही बाटोमा राख्ने जिम्मेवारी उहाँको हो। न्यायपालिकाले निष्पक्ष र स्वतन्त्र काम गर्ने हिसाबले उहाँले सोच्नुपर्‍यो। न्यायाधीश र वकिलहरूले नै न्यायालयभित्र प्रधानन्यायाधीशको विरोध गरिरहेका देखिन्छन्,’ उनले भने।

प्रधानन्यायाधीशले निकासबारे सोच्नुपर्ने पनि कोइरालाले बताए। ‘त्यहाँबाट कुनै निकास निस्केन भने संसद् आएपछि महाअभियोगको कुरा पनि आउला। अहिले सबैले न्यायपालिका कसरी बचाउने भनेर सोच्नुपर्छ,’ उनले भने।

प्रधानन्यायाधीशले मन्त्रिमण्डल र संवैधानिक अंगहरूमा भाग खोज्नु गम्भीर कुरा भएको उनले बताए।

‘यो प्रकरणमा प्रधानन्यायाधीशको त गल्ती छ नै तर यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको पनि उत्तिकै दोष छ। उहाँहरूको मिलेमतो भएको कुरा पूर्व न्यायाधीशहरू, न्यायाधीशहरू र नेपालबारले भन्नुपर्‍यो। प्रधानन्यायाधीशसँग मिलेमतो गर्ने यिनीहरूलाई पनि खबरदारी गर्नुपर्‍यो,’ उनले भने।

लोकतन्त्रमा नैतिकता ठुलो कुरा हुने र राजनीतिक दलका नेता, राज्यका विभिन्न अङ्गका प्रमुखहरूमा नैतिकता भएन भने राजनीति विकृत हुने र लोकतन्त्र बचाउन मुस्किल पर्नेसमेत कोइराला बताउँछन्।

Tags :
प्रतिक्रिया दिनुहोस