करिब डेढ वर्षदेखि सात लाख आवेदक लाइसेन्सको पर्खाइमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

करिब डेढ वर्षदेखि सात लाख आवेदक लाइसेन्सको पर्खाइमा


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ। यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन ।

सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कुरिरहेका छन् तर विभागले भने छपाई कार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ ।

छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ । यो महिनाभित्रै कार्ड आइसकेपछि बाँकी छपाइको काम सुरु गरिने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।

फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइँदै छ, जसमध्ये छपाइ गर्न बाँकी सात लाख लाइसेन्सको छपाइ गरिने बताउँदै उनले भने, ‘कार्ड आउनासाथ बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर छपाइ कार्य गरिनेछ ।’

२०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि प्रिन्ट गर्ने काम बाँकी रहँदै आएको हो । ग्लोबल टेन्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस