मौसम खराब भएपछि प्रधानमन्त्री देउवाको हेलिकप्टर कञ्चनपुर फर्कियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मौसम खराब भएपछि प्रधानमन्त्री देउवाको हेलिकप्टर कञ्चनपुर फर्कियो


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार रहेको हेलिकप्टर मौसम खराब भएका कारण फेरि कञ्चनपुरतर्फ गएको छ ।

धनगढी विमानस्थल स्रोतका अनुसार,शुक्रबार प्रधानमन्त्री देउवासहितको टोली कैलालीको पश्चिम–पूर्वी भेगमा रहेका भजनी, टिकापुर र बर्दियाको राजापुर निरीक्षण गरेर नेपालगन्जमा खाना खाई काठमाडौँ आउने तालिका थियो ।

तर, मौसम खराब भएपछि हेलिकोप्टर प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित अन्य नेताहरू लिई १०:२१ मा कञ्चनपुरको भुजेला क्षेत्रतर्फ उडेको छ ।

शुक्रबार बिहान धनगढीको सैनिक ब्यारेकमा राखिएको भिभिआइपी हेलिकप्टर चढेर प्रधानमन्त्री देउवासहितको टोली कैलालीको श्रीलङ्का टापु पुगेको थियो ।

त्यसपछि भजनी, टीकापुर हुँदै बर्दियाको राजापुर क्षेत्र निरीक्षणको कार्यक्रम थियो । तर ती क्षेत्रको मौसम खराब भएका कारण हेलिकप्टर श्रीलङ्का टापुबाट धनगढी विमानस्थल फर्केको थियो । त्यहाँबाट कञ्चनपुरको भुजेलातर्फ लागेको हो ।

प्रधानमन्त्री देउवाले बिहीबार सुर्खेतबाट दिपायल, बझाङ, डडेल्धुरा हुँदै कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रको बाढीप्रभावित क्षेत्र अवलोकन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस