अविरल वर्षाका कारण घर भत्किएर डडेलधुरा र डोटीमा १–१ जनाको मृत्यु, २ घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अविरल वर्षाका कारण घर भत्किएर डडेलधुरा र डोटीमा १–१ जनाको मृत्यु, २ घाइते


२ कार्तिक २०७८, मंगलबार


धनगढी । तीन दिनदेखिको अविरल वर्षाका कारण घर भत्किएर सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार अविरल वर्षाका कारण सोमबार राति घर भत्किएर डडेलधुराको गन्यापधुरा गाउँपालिका –१ भत्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो । डोटी जिल्लाको आदर्श गाउँपालिकामा पनि एक जनाको घर भत्किएर मृत्यु भएको छ । सञ्चार सम्पर्क प्रभावित भएका कारण डोटीमा मृत्यु हुनेको नाम ठेगाना खुल्न नसकेको एसएसपी चन्दले बताए ।

घर भत्किएर डडेलधुराको अमरगढी नगरपालिकामा पनि आमाछोरा घाइते भएको तथा उनीहरुको अवस्था समान्य रहेको चन्दले बताए । प्रदेश प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार कञ्चनपुरमा महाकाली र कैलालीको टीकापुर क्षेत्रमा कर्णालीको बहाव तीव्र रुपमा बढ्दै गएका कारण तटीय क्षेत्रमा बाढी पस्ने जोखिम बढ्दै गएको छ ।

सुदूरका पहाडी जिल्लामा सञ्चारसेवा समेत ठप्प भएका कारण जनधनको क्षतिको विवरण प्राप्त हुनमा समस्या भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस