सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै ओलीको आपत्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै ओलीको आपत्ति


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताए ।

सरकारले बजेट प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्तकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्त भित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको छ । एमालेले सोही व्यवस्थामा आपत्ति जनाएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले सरकारले कालो धनलाई सेतो बनाउनका लागि यो व्यवस्था गरेको भन्दै आफ्नो पार्टीले कालो धनलाई सेतो बनाउन नदिने बताए । उनले भने, ‘कालो धनलाई ल्याउन नदिने पक्षमा छैनौं, कालो धनलाई सेतो बनाउन पाइँदैन । जस्तोसुकै भएपनि लगानी गर्न पाउने भन्नु डरलाग्दो कुरा हो । यसले नेपालमा बिपत्ति ल्याउँछ ।’

अध्यक्ष ओलीले अहिलेको संसद राम्रोसँग नचलेको भन्दै ताजा जनादेशमा जानुपर्ने बताएका छन् । उनले भने, ‘संसद चलिरहेको छैन, चुनाव आवश्यक छ । ताजा जनादेशमा जानुपर्छ ।

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि पनि प्रश्न उठाए । सापकोटा हालको सत्तारुढ गठबन्धनको पक्षमा देखिएको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस