रु ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैङ्क « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रु ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैङ्क


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैङ्क तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैङ्कले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

बैङ्किङ प्रणालीमा तरलताका समस्या देखिएमा बैङ्कले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

यसअघि नेराबैङ्कले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४ गते १४ दिनको रु ३० अर्ब र भदौ ३१ गते रु २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो ।

तरलता अभावमा बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । तरलता अभावमा बैङ्क तथा वित्तीय संस्थाले अन्तर बैङ्क सापटी पाउन छाडेको देखिन्छ । बैङ्क तथा वित्तीय संस्थाले नियमितरुपमा एसएलएफ सुविधा लिने गरेका छन् ।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार बैङ्क तथा वित्तीय संस्थाले चालु आवमा बुधबारसम्म रु चार खर्ब नौ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन् । बैङ्क वित्तीय संस्थाले बुधबार मात्र १२ पटकमा रु २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्याङ्क राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस