आज तालिबानले नयाँ सरकार घोषणा गर्न सक्ने, राष्ट्रपति कार्यालयमा थालियो तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज तालिबानले नयाँ सरकार घोषणा गर्न सक्ने, राष्ट्रपति कार्यालयमा थालियो तयारी


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ।

द गार्डियनका अनुसार आज (शुक्रबार)को प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ।

अहिलेसम्म प्राप्त विवरणहरूका अनुसार तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुन सक्ने देखिएको छ। उनको मुनि राष्ट्रपति राखिने छ।

एक जना सर्वोच्च नेता हुने र अर्को राष्ट्रपति हुने व्यवस्था अफगानिस्तानको छिमेकी इरानमा लागु भइरहेको छ।

तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म चुनावबिना नै अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार कट्टर शासन चलाएका थिए।

अगस्ट १५ मा तालिबानहरूले सत्ता कब्जा गरेका थिए।

२० वर्षे युद्ध सकेर अमेरिकी सेना अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता भएको थियो। तालिबानहरू फेरि सत्तामा फर्किएपछि समावेशी सरकार बनाउन उनीहरूलाई आन्तरिक र बाह्य रूपमा दबाब छ।

झन्डै चार करोड जनसङ्ख्या भएको अफगानिस्तानमा झन्डै आधा मानिसहरूलाई खाद्यान्नको समस्या छ। उनीहरूलाई तत्काल राहत जरुरी छ।

अर्थतन्त्र तहसनहस भएको अफगानिस्तानमा सरकार चलाउन तालिबानहरूलाई अन्तर्राष्ट्रिय सहायताको खाँचो छ।

Tags :
प्रतिक्रिया दिनुहोस