खोप लगाउन नपाएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाद्वारा प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खोप लगाउन नपाएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाद्वारा प्रदर्शन


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ। कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले आज (मंगलबार) राजधानीमा प्रदर्शन गरेका छन् । मंगलबार बिहानै माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरेका छन् । भिसालगायतका प्रक्रिया पूरा गरेका युवाहरु घण्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुँदै सडकमा निस्किएका हुन ।

महाराजञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा हिजो राती ९ बजेदेखि लाइनमा बसेका उनीहरुलाई आज बिहान ५ बजे प्रहरीले खोप सकिएको भनेपछि उनीहरु सरकार विरुद्ध नारा लगाउँदै माइतीघर मण्डला पुगेका थिए । वैदेशिक रोजगारीमा जानेहरुलाई खोप उपलब्ध गराउन सरकारले चरम बेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन् ।

सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउने भने पनि खोपको मनपरी वितरणका कारण लक्षित वर्गमा खोप पुग्न नसकेको पाइएको छ । सोही खोप लगाउन हप्तौँदेखि कुरेको तर अन्तिममा खोप सकिएको भनेर आफूहरुलाई निराश बनाएको गुनासो पनि युवाहरुले गरेका छन् ।

उता, खोप कार्यक्रमका प्रमुख डा. झलक शर्माले हामीसँगको कुराकानीमा जोन्सन एण्ड जोन्सन खोपको मौज्दात सकिएको र थप खोप कहिले आउने भन्ने कुनै टुङ्गो नभएको जानकारी दिएका छन् । सरकारले खोपको व्यवस्थित वितरण गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने हजारौँ युवा अलपत्र पर्ने अवस्था आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस