गुनासो समयमै सम्बोधन गर्न सचिवहरुलाई मुख्यसचिवको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गुनासो समयमै सम्बोधन गर्न सचिवहरुलाई मुख्यसचिवको निर्देशन


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । मुख्यसचिव शंकरदास बैरागीले प्राप्त गुनासाहरूको समयमै सम्बोधन गर्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित सचिव बैठकमा बोल्दै मुख्यसचिव वैरागीले मन्त्रालयमा प्राप्त हुने गुनासाहरूको तत्काल सम्बोधन गर्न भनेका हुन् ।

विगतका बैठकहरूमा भएका निर्णयहरूको कार्यान्वयन स्थितिको समीक्षाबाट सुरु गरिएको बैठकमा सरकारी तथ्याङ्क तथा डाटाबेसको सुरक्षा, विद्युतीय माध्यमबाट प्रवाह हुने सरकारी सेवाका लागि प्रयोग हुने सफटवेयरहरुमा एकरुपतालगायत विषयमा छलफल तथा निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सहसचिव एवं प्रवक्ता कृष्ण बहादुर राउतले प्रशासनलाई जानकारी दिए ।

प्रवक्ता राउतका अनुसार नेपालको संविधानको धारा ५३ अनुसारको वार्षिक प्रगति प्रतिवेदन तयारीको अवस्था तथा नेपाल सरकारका निर्णयहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा पनि व्यापक छलफल गरिएको छ ।

मुख्यसचिव वैरागीले मन्त्रिपरिषद्का निर्णयहरू तदारुकताका साथ कार्यान्वयन गर्न, सबै मन्त्रालय तथा निकायहरूले प्रक्रिया सरलीकरण गरी सेवा प्रवाहमा चुस्तता ल्याउन, विभिन्न सुधारका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउन तथा बेरुजु फर्छ्यौटमा विशेष पहल गर्न सबै सचिवहरूलाई निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस