अफगानिस्तानको एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोग आवश्यकता: संयुक्त राष्ट्रसंघ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानको एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोग आवश्यकता: संयुक्त राष्ट्रसंघ


२९ श्रावण २०७८, शुक्रबार


संयुक्त राष्ट्रसंघ । अफगानिस्तानका राहत कर्मीहरुले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।

देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसंघका मानवीय सहयोगमामिला अधिकारीले बिहीबार बताएका हुन् ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ, ‘द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला शहरहरूमा आइपुगेका छन् ।’

ओसिएचएले भनेको छ, ‘विस्थापित, द्वन्द्व, बाढी, लिङ्गसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रित गर्दै मानवीय आवश्यकता र तत्काल आवश्यक प्रतिक्रियाबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसंघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संगठनहरूबीच आन्तिरिक मूल्याङ्कन भइरहेको पनि छ ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका मुख्य प्रवक्ता स्टेफन डुजारिकले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे भने,’संयुक्त राष्ट्र संघ र गैरसरकारी संस्था दुवैको मानवीय सहयोग समूह अफगानिस्तानमा रहन र उद्धार गर्न समर्पित रहेको छ तर सुरक्षा वातावरण अत्यन्त जटिल र चुनौतीपूर्ण छ ।’

डुजारिकले भने, ‘संयुक्त राष्ट्र संघमा अफगानिस्तानका झण्डै तीन हजार ४०० राष्ट्रिय कर्मचारी र करिब ३०० अन्तर्राष्ट्रिय कर्मचारी रहेका भएपनि अहिले उनीहरूमध्ये अधिकांश कोभिड–१९ को महामारीका कारण अफगानिस्तान बाहिर रहनुपरेको छ । हामी द्वन्द्वरत सबै पक्षहरूसँग सम्पर्कमा छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस