कर्मचारीको काम र कर्तव्यको आधारमा जिम्मेवारी र मूल्याङ्कन : गृहमन्त्री खाँण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीको काम र कर्तव्यको आधारमा जिम्मेवारी र मूल्याङ्कन : गृहमन्त्री खाँण


२७ श्रावण २०७८, बुधबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताएका छन् । उनले जिम्मेवारी लिने क्रममा कसैको सिफारिस भयो भने उसको मूल्याङ्कनको नतिजामा माइनस हुँदै जाने पनि स्पष्ट पारेका छन् ।

सिंहदरबारमा आज आयोजित नया गृहसचिव टेकनारायण पाण्डेको स्वागत तथा यसअघिका गृहसचिव महेश्वर न्यौपानेको बिदाइ समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जनतालाई सेवा पुर्‍याउने गृह मन्त्रालयमा क्षमता भएका सरकारी अधिकारीले उचित जिम्मेवारी पाउनेमा आश्वस्त पारे । ‘जिम्मेवारी लिने क्रममा सिफारिस भयो भने माइनस नतिजा आउँछ’, मन्त्री खाँणले अगाडि भने, ‘कहिलेकाही नसोचेको जिम्मेवारी पनि थाहै नपाइ आउन सक्छ ।’

उनले सबै मिलेर नागरिकको सुरक्षा गर्नु नै प्रमुख दायित्व भएको बताए । राष्ट्रिय सुरक्षामा भने कुनै सम्झौना नहुने भन्दै मन्त्री खाँणले राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । क्यालेन्डर हेरेर कार्यकाल बिताउने पुरानो मान्यताले जिम्मेवारी थेग्न नसक्ने हुँदा नयाँ शैली, पद्धति, प्रक्रिया र जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीसँग आग्रह गरे ।

मन्त्री खाँणले कोभिड–१९को महामारी कायमै रहेको र तेस्रो लहर आउने सम्भावना जिवितै रहेकोतर्फ कर्मचारी तथा सुरक्षा अधिकारीको ध्यानाकर्षण गराए । उनले त्यो बेला अस्पतालको बेड होइन बरण्डा पनि नपाउने अवस्था आउन सक्छ भन्नेमा चिन्तित रहेको उल्लेख गरे । एक महिनाको अवधिमा मन्त्रालयका धेरै गतिविधिका बारेमा जानकारी प्राप्त भएको उनले स्मरण गरे ।

समारोहमा गृहसचिव टेकनारायण पाण्डेले संयुक्त सरकारले ल्याएको साझा कार्यक्रमका आधारमा कार्ययोजना बनाएर मन्त्रालयलाई अघि बढाउँदै नेपाल सरकारले चाहेको नतिजा दिने प्रतिबद्धता व्यक्त गरे । ‘कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्दछु’, सचिव पाण्डेले थपे, ‘गृहप्रशासन सार्वजनिक सेवाको अगुवाइ गर्ने संस्था हो, यसलाई रुपान्तरण गर्दै आधुनिकीकरण गर्नुपर्छ ।’ उनले गृह मन्त्रालयका हरेक काम कारवाहीमा सरकारको तस्बिर झल्किने गरी संवेदनशील हुनुपर्नेमा जोड दिए।

समारोहमा गृहसचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भएका महेश्वर न्यौपानेले १८ महिना छ दिनको गृह सचिवको अनुभव सुनाउँदै चुनौतीका बीच महत्वपूर्ण कार्य सम्पन्न गरेको जिकिर गरे । उनले मन्त्रालयमा परिस्थिति आँकलन गरेर निर्णय दिन नसकिए समस्या जटिल भएर जानेतर्फ सचेत गराए । उनले कोभिड–१९ नियन्त्रण, विपद् र आन्दोलनका समयमा प्रजिअले खेलेको भूमिकाको प्रशंसा पनि गरे ।

कोभिडको दोस्रो लहरमा हेलिकप्टरबाट अक्सिजन ल्याएर उपचार गरिएको तथा अस्पतालमा शैया नहुँदा होस् या क्वारेन्टिन र आइसोलेशन व्यवस्थापनका सन्दर्भमा गृह प्रशासन मातहतका निकायले खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।

उनले सीमा क्षेत्रमा प्रहरीको उपस्थिति र प्रजिअको मनोबल बढाउनुपर्ने, तल्लो तहका प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने विपद् व्यवस्थापन, सूचना सङ्कलनका साथै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै राहत र पुनःस्थापनमा दिइने राहत रकम वृद्धि गर्नुपर्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्वयत्त बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस