प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने -मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने -मुख्यमन्त्री पोखरेल


९ श्रावण २०७८, शनिबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।

प्रदेश मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि पोखरेलले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरकारले बजेट बनाएको बताए ।

कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिको उच्च मूल्याङ्कन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई सङ्घले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अहिले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि प्रदेश सरकारले अध्ययन थालेको भन्दै उनले थप सुविधा दिएर भए पनि विशेषज्ञ चिकित्सक उपलब्ध गराइने बताए । मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमुना बनाउने प्रतिबद्धता जनाइन् ।

गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको समर्पणका कारण यो सम्भव भएको हो, उपचारप्रति समर्पण भाव र स्वास्थ्यकर्मीहरूको असल व्यवहारका कारण रोग निको भएको हो ।’ उनले गण्डकी प्रदेशले कोभिड नियन्त्रण र रोकथामका लागि विशेष सतर्कता अपनाएको कुरा बताए ।

कोरोना महामारी विरुद्धका प्रयासहरूमा प्रभावकारिता ल्याउन र खोप कार्यलाई प्रभावकारी बनाउन गण्डकी प्रदेशमा प्रमुख सचिव डा. रेग्मीको संयोजकत्वमा सबै सचिवहरू र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित संयोजन समिति गठन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस