नौ करोड बढी राजस्व छली गरेको आरोपमा शिवशक्ति खाद्य उद्योगका संचालकसहित तीन जना विरुद्ध मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नौ करोड बढी राजस्व छली गरेको आरोपमा शिवशक्ति खाद्य उद्योगका संचालकसहित तीन जना विरुद्ध मुद्दा


२३ असार २०७८, बुधबार


काठमाडौँ । चितवन रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा रु नौ करोड बढीको राजस्व छली भएको खुलेको छ ।

अनुसन्धानमा करोडौँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले आज उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार कैफियत गरेर रु नौ करोड २७ लाख ३७ हजार बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो ।

विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाइटर रामप्रसाद थपलियाले वास्तविक खरीद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत राजस्व चुहावट गरेको जानकारी दिएको छ । उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन २०७६) को दफा ३ ले निषेधित गरेको तथा सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको विभागको दाबी छ ।

उनीहरुमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन–२०७६) को दफा २ (छ १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु छ करोड ८६ लाख सात हजार र आयकरतर्फ रु दुई करोड ४१ लाख ३० हजार राजस्व छली गरेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस