पुनर्निर्माणपछि रानीपोखरीले जीवन्तता पायो(भिडियो रिपोर्ट) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुनर्निर्माणपछि रानीपोखरीले जीवन्तता पायो(भिडियो रिपोर्ट)


२२ असार २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँस्थित रानीपोखरी ऐतिहासिक राष्ट्रिय सम्पदा हो । मल्लकालीन राजा प्रताप मल्लद्वारा रानीपोखरी आफ्नी रानीको इच्छा पूरा गर्नका लागि निर्माण गरिएको बताइन्छ ।

राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात् शोकाकुल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५मा रानीपोखरी निर्माण गरेका थिए ।

६२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको रानीपोखरी परिसरको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए ।


दुष्टआत्माहरुलाई हात्तीको खुट्टामा कुल्चिनका लागि राजा र आफ्ना छोराहरू त्यस हात्तीमा चढेको किंवदन्ती रहेको छ । हात्तीको खुट्टाले दुष्ट आत्माहरूलाई कुल्चिँदा मानिसलाई सताउन नसक्ने धार्मिक विश्वास रहेको छ ।

रानीपोखरीको बार भित्र ठुलो हात्ती र त्यसमाथि राजा प्रताप मल्ल, रानी र छोरा चढेको मूर्ति स्थापना गरिएको अहिले पनि रानीपोखरीमा देख्न सकिन्छ ।

रानीपोखरीको बिच भागमा रहेको यमलेश्वर (बालगोपालेश्वर)मन्दिर परम्परागत मान्यताअनुसार वर्षको एक दिन भाइटिकामा मात्रै खुल्ने गर्दछ । दिदीबहिनी नहुने दाजुभाइले भाइटिकाको दिनमा यस मन्दिरमा गई टिका लगाउने गर्दछन् । रानीपोखरीलाई वरिपरि फलामको बारले घेरिएको छ ।

रानीपोखरी नजिकै अन्य पुराना सम्पदा तथा भवनहरू पनि अवस्थित छन् । पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ वीर शमशेर राणाले बनाएको घण्टाघर र राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर राणाले बनाएको त्रिचन्द्र कलेज अवस्थित छ ।

पोखरीको पश्चिममा नेपालकै सबै भन्दा पुरानो विद्यालय दरबार हाईस्कूल रहेको छ भने दक्षिणमा रत्न पार्क छ ।

वि.सं. २०७२ सालमा नेपालमा गएको ७.६ रेक्टर स्केलको भूकम्पले रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर पनि भत्काएको थियो ।

भूकम्पले भत्काएको रानीपोखरीस्थित मन्दिर र सँगै रहेका अन्य संरचनाको अहिले नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा पुरातत्त्व विभागसँग समन्वय गरेर पुनर्निर्माण गरिसकेको छ ।

यसअघि काठमाडौँ महानगरपालिकाले आधुनिक शैली अनुसार पुनः निर्माण गर्ने योजना बनाएपछि समुदायबाट विरोध भएको थियो । विरोध भएपछि सन् २०२० मा रानीपोखरी परम्परागत शैलीमा पुनः निर्माण भयो ।

वि.सं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्ध शमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका थिए । वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा मन्दिरको गजुरसहित मन्दिर क्षति भएको थियो ।

भूकम्प गएको एक वर्ष पछि २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः निर्माण कार्यको शिलान्यास गरेकी थिइन् । अहिले पुनः निर्माण कार्य सकिएर २०७७ साल कार्तिकमा समुद्घाटन गरिएको छ ।

हिउँदमा हुने पानीको अभाव पूर्तिका लागि रानीपोखरीमा आकासे पानी सङ्कलन प्रणाली जडान गरिएको छ । जमिनमुनिको पानीको सतहमा आएको कमीका कारण सुक्दै गएको रानीपोखरी पुनःभरण तथा पोखरी संरक्षणका लागि उक्त सङ्कलित आकासे पानी प्रयोग गरिएको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभागले नेपालका धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ ।

पछिल्लो विनाशकारी भूकम्प र तत्पश्चात्का परकम्पका कारण क्षतिग्रस्त संरचनाको दिगो, दरिलो र योजनाबद्ध रूपमा यथाशीघ्र निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय हित प्रवर्द्धन तथा सामाजिक न्याय प्रदान गर्नु प्राधिकरणको प्रमुख उद्देश्य रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले प्रशासनलाई जानकारी दिए ।

देशभरका गरी भूकम्पबाट क्षति पुगेका ९ सय २० सांस्कृतिक सम्पदा पुनर्निर्माणको लक्ष्य दिइएकोमा हालसम्म ४ सय ९३(५३.६%) पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २ सय ८८ (३१.३%) पुनर्निर्माण हुँदै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ ।

ऐतिहासिक रानीपोखरीले पुनर्निर्माणपछि जीवन्तता पाएजस्तै हाम्रा अन्य ऐतिहासिक, सांस्कृतिक भौतिक सम्पदाहरूले पनि समयमै जीवन्तता पाउनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस