अनुभवी प्रमुख प्रशासकीय अधिकृतलाई अवधि तोकेर पठाउन मन्त्री ठगुन्नाको ध्यानाकर्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनुभवी प्रमुख प्रशासकीय अधिकृतलाई अवधि तोकेर पठाउन मन्त्री ठगुन्नाको ध्यानाकर्षण


२१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा अनुभवी र अवधि तोकेर पठाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको ध्यानाकर्षण गरेको छ ।

हालसम्म पनि ७० भन्दा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको जनाउँदै महासङ्घले गाउँपालिकाको जिम्मेवारी र दायित्वभारको आधारमा कार्यसम्पादनमा अनुभवी र कम्तीमा दुई वर्षका लागि प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न भनेको हो ।

महासङ्घले गाउँपालिकाहरूको विद्यमान प्रशासनिक संरचनामा प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकृतहरूको तह समान भएकोले र कतिपय गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत भन्दा अन्य अधिकृत वरिष्ठ हुँदा कार्यसम्पादनमा जटिलता देखिएको भन्दै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा अन्य अधिकृत भन्दा वरिष्ठतम अधिकृतको व्यवस्था गर्न भनेको छ ।

साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ बमोजिम प्रशासकीय सङ्गठन र कर्मचारी दरबन्दी यकिन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा उपयुक्त समस्या समाधान गर्ने गरी कार्यान्वयन गर्नसमेत गाउँपालिका महासङ्घको तर्फबाट आव्हान गरिएको छ ।

स्थानीय तहको क्षमता अभिबृद्धिको लागि मन्त्रालयबाट सञ्चालन भएको प्रदेश तथा स्थानीय तह क्षमता विकास कार्यक्रम(पीएलजीएसपी) कार्यक्रम अत्यन्तै ढिला भइरहेको भन्दै महासङ्घले आपत्ति जनाएको छ । स्थानीय तहका जनप्रतिनिधिको अवधि नै उत्तरार्धमा पुगिसकेको भन्दै यस कार्यक्रम अन्तर्गत तर्जुमा गरिएका कार्यक्रमहरुको सान्दर्भिकतासमेत नरहेकोले कार्यक्रमको प्रभावकारिता बढाउन र असान्दर्भिक कार्यक्रम परिमार्जन गर्न महासङ्घले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस