सिंहदरवारमा सुरक्षा परिषद्को बैठक बस्दै, लगत्तै मन्त्रिपरिषद् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिंहदरवारमा सुरक्षा परिषद्को बैठक बस्दै, लगत्तै मन्त्रिपरिषद्


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । आज(मंगलबार) बैठक सिंहदरवारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे बैठक डाकिएको छ ।

परिषद् सचिवालयले यसलाई नियमित बैठक भने पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबिच सोमबार दिउँसो एक बजे सर्वोच्च अदालतमा भएको भेटले तरंग्याएको राजनीतिक वृत्तमा बोलाइएको बैठकले थप कौतुहलता जगाएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा अहिले फैसला दिने तयारी गरिरहेको छ । उच्च स्रोतका अनुसार वर्तमान सुरक्षा अवस्थाबारे बैठक केन्द्रित रहने छ ।

खास अवस्थामा बस्ने राष्ट्रिय सुरक्षा परिषद्को बैठकको अध्यक्षता परिषद् प्रमुख तथा प्रधानमन्त्रीले गर्ने गर्छन् । विशेष गरी राष्ट्रिय विपत् तथा सुरक्षामा खतरा पैदा भएको अवस्थामा सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ भने देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।

प्रधानमन्त्री प्रमुख रहने सुरक्षा परिषद्को सदस्यमा रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ भने सदस्यसचिव रक्षा सचिव रहन्छन् ।

यसअघि ५ कात्तिक ०७७ मा प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक बसेको थियो । सोही दिनको राति भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्त गोयलले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।

सुरक्षा परिषद् बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । परिषद्को नियमित बैठक हिजो सोमबार बस्ने भनिए पनि प्रधानमन्त्री ओली उपत्यका बाहिर जानु परेका कारण स्थगित भएको थियो । बैठक आज साढे १० बजेलाई बोलाइएको छ ।

आज बस्ने दुबै बैठकलाई विशेष चाँसोका साथ हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस