निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह


८ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् । नेकपा प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले प्रत्येक सभामा जनताको ठुलो उपस्थिति हुने गरेको बताए । उनले जनतामा भ्रम सिर्जना गर्ने र विकास विरोधीलाई आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पराजित गर्न अपिल गरे ।
उनले चुनावमा लोकतन्त्र, विकासवादी शक्ति र समृद्ध नेपाल निर्माणको अभियानलाई निरन्तरता दिने सोच भएको नेकपालाई  विजयी बनाउनुपर्नेमा जोड दिए । दुई तिहाइ नजिकको सरकारलाई काम गर्न नदिने र काम गर्दा पनि हरेक विषयमा अवरोध पु¥याउन खोजेकाले आफूले जनताबिच जाने निर्णय गरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले आफूले वि.सं २०४७ देखि नै अहिलेसम्म निर्वाचनमा सूर्य चिह्नबाट लडेको बताउँदै अर्को पक्षले सूर्य चिह्नमा कहिले पनि निर्वाचन नलडेको र अहिले निर्वाचन आयोगमा सूर्य चिह्न आफूmले पाउनुपर्छ भन्नु हठपना मात्र भएको तर्क गरे ।
नेपालबाट कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा गुटवादी गरिएको चर्चा गर्दै अध्यक्ष ओलीले प्रचण्ड फर्केर आए अझै नेकपामा स्थान रहेको बताउनुभयो । संसद् पुनः स्थापना भए देशमा अस्थिरता उत्पन्न भई सरकार बनाउने र ढाल्ने खेल चल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।  “कसैको पनि बहुमत नपुग्ने हुनाले सरकार बनाउने र ढाल्ने राजनीतिको फोहरी खेल चलिरहन्छ”, उनले भने, “त्यसैले मुलुकको अस्थिरतालाई बुझेर संसद् विघटन गरिएको हो ।”
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले जनसहभागिता र संविधानको मर्म बुझेर निर्णय गर्नेमा आफू आशावादी रहेको विश्वास व्यक्त गरे । उनले करकापमा परेर पार्टीबाट अलग भएकालाई पुनः पार्टीमा आउन आग्रह गर्दै जनताले विश्वास गरेर संसद् र प्रदेशसभाको निर्वाचनमा विजयी गराएर लगाएको धागो नटुटाउन अनुरोध गरे ।
नयाँ जनादेशमा देश अगाडि बढ्यो : गृहमन्त्री थापा
नेकपाका स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले देश नयाँ जनादेशको अभियानमा अगाडि बढेको बताए । नेकपा प्रदेश नं १ कमिटीद्वारा आयोजित जनसभामा उहाँले मुलुकभित्र तथा बाहिरबाट हुने अस्थिरता, षडयन्त्र, विकास विरोधी कार्यविरुद्ध एकजुट हुन र राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको रक्षाको लागि नयाँ निर्वाचनमा समावेश हुन आग्रह गरे ।
कोभिडका कारण देश विषम परिस्थितिमा रहेका बेला फुटवादी सोच आउनु असमान्य भएको उल्लेख गर्दै उनले मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएकाले सो विरुद्ध शुद्धीकरण अभियानअन्तर्गत जनसभाको आयोजना गरिएको बताए ।
प्रधानमन्त्री ओलीले विकास र समृद्धि, राजनीतिक स्थायित्वका लागि नयाँ निर्वाचनको लागि संसद् विघटन गर्नुभएको दाबी गर्दै गृहमन्त्री थापाले भने, “नयाँ जनादेशका लागि जनतासमक्ष जानु लोकतान्त्रिक र अग्रगामी कदम हो । कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न मेची महाकाली अभियान सुरु गरिएको हो ।”
विगत तीन वर्षमा सरकारले राष्ट्रिय एकता र अखण्डता सुदृढीकरण गरेको चर्चा गर्दै उहाँले राष्ट्रिय राजनीतिबाट बाहिर रहेका राजनीतिक दललाई मूलधारमा ल्याएको उल्लेख गर्नुभयो । उहाँले नेकपाको नेतृत्वलाई मुलुकको विकास र समृद्धिका लागि विजयी गराउन सबैलाई आग्रह गर्नुभयो ।
जनसभामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पार्टीभित्रको फोहरी खेलबाट मुलुकबाट जोगाउन प्रधानमन्त्री ओलीको नयाँ जनादेशको निर्णय सही भएको बताए । उनले राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन कायम गर्न र विभिन्न वाधा व्यवधान पन्छाउन निर्वाचन अपरिहार्य भएको दाबी गरे ।
नेकपा स्थायी कमिटीका सदस्य एवं संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङ्गले आगामी निर्वाचनलाई जनताले अनुमोदन गरेको बताए । उनले तराई, मधेस, पहाड हिमालका जनता र विविध संस्कृतिका जनता सडकमा उर्लेर यसलाई अनुमोदन गरेको तर्क गरे ।
‘जनताको उपस्थितिले प्रधानमन्त्रीको निर्णय सही हो भन्ने फैसला आएको छ’ भन्दै उनले यही फागुन १२ देखि १५ गतेभित्र सर्वोच्च अदालतको फैसला आउने बताए ।
भेलामा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियत, संविधान सभाका सदस्य बालकृष्ण ढुङ्गेल, नेकपाका केन्द्रीय सदस्य भगवती चौधरी, रामलाल साह, विनोद ढकाल र नेकपा प्रदेश प्रमुख देवराज घिमिरेले मुलुकमा दिगो शान्ति, विकास र समृद्धि कायम गर्न ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णय सही भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस