तोकिएकै मितिमा निर्वाचन हुने प्रमुख आयुक्त थपलियाको भनाइ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तोकिएकै मितिमा निर्वाचन हुने प्रमुख आयुक्त थपलियाको भनाइ


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वानसमेत गरेका हुन् ।

पाँचौँ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुख आयुक्त थपलियाले सरोकारवालाहरूको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरुत्तर दायित्व पूरा गर्न दृढ संकल्पित रहेको उल्लेख गरेका छन् । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको समेत थपलियाले स्पष्ट पारेका छन् ।

‘चुनावलाई आम सहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहनेमा आयोग छ ’ थपलियाले भनेका छन् । थपलियाले निर्वाचनको लागि विभिन्न तयारीहरू जारी राखिएको समेत उल्लेख गरेका छन् ।

‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज पाँचौँ निर्वाचन दिवस मनाउँदै छ । २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै २०७३ देखि फागुन ७ गतेलाई निर्वाचन दिवस मनाउन थालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस