काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यतर्फका कर्मचारी समायोजन मिलानका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समायोजन मिलान सिफारिस समिति गठन गरेको छ ।
स्वास्थ्य सेवा कर्मचारी समायोजन मिलान व्यवस्थाअनुसार काम गर्नका लागि सो समिति बनाइएको हो । २९ माघमा मन्त्रीस्तरीय निर्णय समायोजन नभएका, भएका र मिलान गर्न चाहने कर्मचारीसँग निवेदन माग गरेको थियो ।
सम्बन्धित समाचार : समायोजन मिलान गर्न चाहने स्वास्थ्यका कर्मचारीसँग निवेदन माग, मापदण्डसहित
समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंह, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा। वासुदेव उपाध्याय, औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सह-सचिव दामोदर रेग्मी, कानुन शाखाका उपसचिव मानबहादुर क्षेत्री र कर्मचारी प्रशासन महाशाखाका उपसचिव सदस्य रहेका छन् ।
समितिलाई समायोजन मिलानका लागि प्रक्रिया पुगेर आएका निवेदनलाई स्वीकृत गर्ने, माग भएअनुसार कागजपत्र नभएकालाई पुनः कागजात मागी निर्णय गर्ने, विशेष अवस्था(फाजिलमा रहेका, दरबन्दी बढी भएका ठाउँमा रहेर समस्या भएका, पहिले पत्र नबुझेका, स्थान फरक परेका आदि) रहेकाहरूको निर्णय गर्ने अधिकार रहेको छ ।
त्यसैगरी प्रक्रिया नपुगेकाको समायोजन मिलान रद्द गर्ने, पुरानो दरबन्दीमा रहेको तर नयाँमा जाने अवस्था नभएकोलाई रद्द गर्ने अधिकारसमेत समितिलाई रहेको छ ।







