ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


२८ माघ २०७७, बुधबार


काठमाडौँ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो ।

अनुसन्धान सुरु भएपछि फरार भएका ढकाल म्याद जारी भएको करिब एक वर्षपछि विशेष अदालतमा बुधवार हाजिर भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख र उनकी श्रीमती उमासँग ९१ लाख २० हजार बिगो माग दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमै मुछिएकी ढकाल पत्नी उमाकुमारीलाई विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् ।

पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिले ढकालको नामै किटेर कारबाही गर्नुपर्ने सुझाव दिएको छ ।

‘ललिता निवास क्याम्पा भित्रको जग्गाका सम्बन्धमा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूलाई विभिन्न किसिमको प्रभावमा पारी सरकारी, सार्वजनिक तथा गुठी समेतका जग्गाहरू व्यक्ति९आफू र आफ्नो परिवारका सदस्य लगायतका नाउँमा समेत० को नाममा दाखिल खारेज गर्न सहयोग गर्ने  शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदी समेतको संलग्नता देखिएको’ त्रिताल समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसअघि सोही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेषले गरेको थियो।

अदालत उपस्थित भएका मुख्य प्रतिवादी अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातपछि ढकाल हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस