प्रदेश प्रमुख अधिकारीसमक्ष अख्तियार दुरुपयोग प्रतिवेदन हस्तान्तरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश प्रमुख अधिकारीसमक्ष अख्तियार दुरुपयोग प्रतिवेदन हस्तान्तरण


११ माघ २०७७, आइतबार


मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ । प्रदेश प्रमुख अधिकारीसमक्ष नेपालको संविधानको धारा २९४ को उपधारा(३) बमोजिम आयोगको आव २०७६/७७ को वार्षिक प्रतिवेदन आयोगका इटहरी प्रदेश कार्यालयका प्रमुख प्रकाश पौडेलले हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले मुलुकलाई अनुशासित कायम गर्न आयोगको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै यथार्थताभित्र रही विधिमार्फत अनुसन्धानलाई गति दिनुपर्नेमा जोड दिए । उनले आयोग बढी मिहिनेत, खोज, अनुसन्धान, होसियारी एवं गम्भीररुपमा कार्य गर्ने गरेकाले यसको कार्य नेतादेखि कर्मचारी, व्यक्तिलगायत जनसुधारको सरोकारवाला संस्था भएको बताए ।

उनले आयोग मुलुकको भ्रष्टाचार नियन्त्रणमा निगरानी गर्ने संस्था भएकाले यसले आफ्नो कार्यमार्फत दूधको दूध र पानी छुट्याउ सफलता प्राप्त गर्न सक्षम रहेको धारणा राखे । आयोगका इटहरी प्रमुख प्रकाश पौडेलले स्थानीय विकास निर्माणमा अख्तियार दुरुपयोगको उजुरी अधिकांश आउने गरेको जानकारी दिँदै बैंकिङ प्रणाली नभएको स्थानमा सरकारी रकमको दुरुपयोग हुने गरेको बताए ।

आयोगमा आव २०७६/७७ मा दर्ता भएका एक हजार १७ उजूरीमध्ये सबैभन्दा बढी सुनसरी जिल्लाको २३६ रहेको छ भने समग्ररुपमा उजूरी फछ्र्यौट ४४ दशमलव तीन प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी क्षेत्रगत निकायअन्तर्गत सबैभन्दा बढी सङ्घीय मामिला(स्थानीय तह समेत) मा ३० दशमलव सात प्रतिशत उजूरी दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस