समृद्धि आयोजनाले नेपाली युवामा जगाइदिएको आशा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

समृद्धि आयोजनाले नेपाली युवामा जगाइदिएको आशा


१४ मंसिर २०७७, आइतबार


काठमाडौँ । लाखौँ नेपाली युवा स्वदेशमै रहेर स्वरोजगार बन्न चाहन्छन् । पछिल्ला समयमा एकाध युवाबाहेक धेरैजसो युवा स-सानो लगानीमा कुनै उद्यम सुरुवात गरेर भए पनि आफ्नै देशमा रहेर सुखी जीवन जिउने सपना देखिरहेका भेटिन्छन् । यद्यपि घरको आर्थिक अवस्था निकै कमजोर हुँदा नेपाली युवाहरूका उद्यमी बनी स्वरोजगार हुने  सपनाहरू पनि पूरा हुन सकिरहेका हुँदैनन् ।

स-साना योजनाहरू पनि पूरा हुन नसकेपछि आफूलाई बाध्य बनाएर या त छिमेकी मुलुकमा डोर्‍याउँछन् या खाडी मुलुक तर्फ लाग्छन् । आफ्नो सपना पूरा गर्ने आशामा अनि परिवारको मुखमा माड लगाउने धोको पूरा गर्न खाडीमूलकमै जिन्दगीको आधा समय दुःखको भारी उठाउन बाध्य बन्छन् । यो अवस्थामा युवाहरूलाई हतोत्साहित गर्ने हैन सहयोग र साथको खाँचो छ हौसलाको खाँचो छ । सानो हौसला र साथले युवाले देशमा ठुलो परिवर्तन र विकासको ढोका खोल्न सक्छन् । पछिल्ला दिनमा नेपाली युवाको मुहारमा केही हदसम्म भए पनि चमक ल्याउनका लागि नेपालमा सञ्चालित ‘समृद्धि’ आयोजनाले  निकै महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

‘समृद्धि’ आयोजनाले स्थानीय युवालाई विभिन्न स्वरोजगार मूलक तालिमहरू दिन थालेपछि, अहिले स्वरोजगार बनेर केही गर्न चाहने युवाहरू  लाभान्वित भएका देखिन्छन् । स्वदेशमै बसेर उद्यमी कसरी बन्ने भन्नेबारेमा आवश्यक सरसल्लाह प्रदान गर्नुका साथै विदेशमा रहेर अप्ठ्यारोमा परेका नेपाली युवालाई समेत वकालत गरेर सहयोग गर्ने भएकाले युवाहरूमा पछिल्ला दिनमा केही उत्साह थपिएको बताउँछन् समृद्धि आयोजना प्रमुख शालिकराम दाहाल ।

कृषि तथा गैर कृषि क्षेत्रमा आय आर्जन सम्बन्धी क्रियाकलापहरू सञ्चालन गरी सम्भाव्य लघु, घरेलु तथा साना उद्यम प्रवर्द्धन गर्ने तथा ग्रामीण गरिब घर परिवार, आप्रवासी घर परिवार र आप्रवासनबाट फिर्ता भएकाहरूका लागि दिगो आर्जनको श्रोत प्रदान गर्ने बृहत्तर उद्देश्य समृद्धि आयोजनाले लिएको आयोजनाका प्रवक्ता अजय वर्तौलाले प्रष्टयाए ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष(आईफाड) बिच सन् २०१५ को डिसेम्बरमा सम्झौता भई ७ वर्षका लागि आयोजना कार्यान्वयनमा आएको यस आयोजनाले  प्रदेश १ का ८ जिल्लाहरू क्रमशः मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ र उदयपुर, प्रदेश २ अन्तर्गतका ७ जिल्लाहरू क्रमशः सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा प्रदेश ३ को एक मात्र जिल्ला सिन्धुली सहित गरी जम्मा १६ जिल्लाहरूमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत रहेको कृषि उद्यम केन्द्र र स्वीस विकास नियोगको हेल्भटास नेपाल आयोजनाका प्रमुख साझेदार निकायहरू छन् ।

आयोजनाको सहजिकरणमा गठन भएको किसान समूहले नियमितरुपमा बहुसरोकारवाला गोष्ठीमा व्यवसाय सम्बद्ध सरोकारवाला पक्षहरूसँग छलफल गरिरहेको छ । आयोजनाका सहजकर्ताहरूले किसानहरूलाई समन्वयात्मक सहयोग प्रदान गरिरहेको बारे आयोजनामा कार्यरत ज्ञान व्यवस्थापन विज्ञ सुजना धिताल भन्छिन् – ‘किसानहरूलाई उन्नत कृषि तथा पशुपालन पद्धतिको अनुसरण तथा ज्ञान आदान प्रदानका लागि अध्ययन अवलोकन भ्रमणको आयोजना गरी सफल उद्यमको बारे सिक्ने अवसर पनि आयोजनाले दिलाएको छ ।”

आयोजनाको आर्थिक सहयोग र सहकारीको प्राविधिक सहयोगमा सदस्यहरूमा सञ्चालित वित्तीय शिक्षा र व्यावसायिक ज्ञान सम्बन्धी तालिमले किसानहरूमा सकारात्मक धारणाको विकास हुनाको साथै किसानहरूको व्यवहारमा गुणात्मक परिवर्तन देखिएको आयोजनामा कार्यरत धिताल बताउँछिन् ।

दूधको बजार नपाएर दूध विक्रीको समस्या भोग्दै आएका चौदण्डिगढी नगरपालिका, वडा नं ९ र १० हँसियास्थित जनउत्थान पशु तथा कृषि सहकारी संस्थामा आबद्ध दुग्ध उत्पादक कृषकहरू ‘समृद्धि’ आयोजनाको सहजीकरण बाट निकै लाभान्वित भएका छन् ।

स्थानीय धरान डेरीबाट नियमित दूध खरिद गर्ने सहमति गरी ४० जना कृषकहरू आबद्ध गौरीगोसाईं दुग्ध उत्पादक कृषक समूह गठन गराइएको छ । चौदण्डिगढी नगरपालिका मार्फत आंशिक वित्तीय सहयोग तथा हडिया बजार व्यवस्थापन समितिको जग्गा सहयोगमा जनोत्थान सहकारीमा एक हजार लिटर क्षमताको चिलिङ भ्याट, मिल्क एनालाइजर सेट र दुग्ध सङ्कलन केन्द्र भवनको व्यवस्था भएको छ ।

आयोजनाको दुग्ध आपूर्ति शृङ्खला संयोजक मोती गिरी थप्दछन्- “सुरुमा धरान डेरीले समझदारी अनुसार सहकारीको सङ्कलन केन्द्रमा  हप्ताको दुई पटक सङ्कलित ६०० लिटर दूध खरिद गर्दथ्यो भने हाल आयोजनाकै सहजिकरणका कारण एक हजार दुई सय दूध खरिद हुन्छ । विगतमा ३४ देखि ४२ रुपैयाँप्रति लिटर मात्र पाइरहेका कृषकहरूले हाल ६० रुपैयाँसम्म दूधको मूल्य पाएका छन् ।”

बजार र दूधको बिक्री सुनिश्चित भएपछि लक्ष्मी बैंकसँगको सहकार्यमा ५० जना कृषकहरूले ८५ लाख कर्जा प्राप्त गर्न सफल भएका छन् । समूहका अध्यक्षको भनाई छ, “एक वर्ष अघि परम्परागत कृषि उत्पादनको रूपमा चिनिएको हँडिया अहिले जिल्लाको मुख्य दूध उत्पादन पकेट क्षेत्रको रूपमा परिचित भएको छ। यसबाट नगरपालिका र जिल्लामा रहेको दूध उत्पादक कृषक, वैदेशिक रोजगारबाट फर्केर आएका युवा तथा सहकारीहरूलाई पनि प्रेरणा मिलेको छ”।

यसरी आयोजना सञ्चालन हुने जिल्लाहरूका ग्रामीण स्तरमा रहेका लाभग्राहीहरूलाई सहज वित्तीय पहुँच पुर्‍याउन प्राथमिकतामा राखिएका पालिकाहरूमा रहेका सहकारी संस्थाहरूको क्षमता विकास गरी कर्जा प्रवाह गर्न र साना किसानहरूलाई समुदाय स्तरमा नै वैंङ्किङ सेवासँग जोड्न सहजिकरणका लागि समृद्धिले पहल गरिरहेको  आयोजनाका ग्रामीण वित्त संयोजक सन्तोष अधिकारी बताउँछन् ।

त्यसैगरी तरकारी उत्पादनका क्षेत्रमा बहुसरोकारवाला गोष्ठी र व्यवसायदेखि व्यवसाय सम्बन्ध(बीटुबी) विकास कार्यक्रममार्फत कृषक समूह, व्यापारी, सेवा प्रदायक र सरोकारवाला निकायहरूलाई  आयोजनाले जोडेको छ । जसका कारण कृषक समूहमा सामूहिक रूपमा बजारीकरण र व्यापारीले  माग गरे अनुसार एकै खाले तरकारी खेती गर्ने, बजारमुखी उत्पादन योजना बनाएर तरकारी उत्पादन गर्ने, सामूहिक रूपमा बजारको खोजी गर्ने लगायतको बानीको विकास भएको तरकारी आपूर्ति शृङ्खला संयोजक लोकेन्द्र रावलले बताएका छन् ।

एकातर्फ युवा तथा महिलाहरू कृषि तर्फ आकर्षित भएका छन् भने अर्को तर्फ स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना भएका छन्। यसले सानो भूमि स्वामित्व भएको किसानहरूको आर्थिक क्रियाकलाप र जीविकोपार्जनको स्तर माथि उठाएको छ,  क्रान्ति अर्धव्यावसायिक कृषक समूह, धनकुटाका अध्यक्ष वेद रोइला भन्छन्– “ प्लास्टिक घर भित्रको खेतीले गर्दा खुला खेत भन्दा डेढ गुना उत्पादकत्व बढाउन सफल भएका छौ”।

कतिपय नेपालीले विभिन्न कारणले विदेशमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छन् । घरपरिवार पाल्नका लागि आर्थिक जोहो गर्न बिदेसिएका  नेपालीले त्यहीँ ज्यान गुमाउनुपरेपछि उनको परिवारलाई निकै समस्या परेको देखिन्छ । यस्तो अवस्थामा समृद्धि आयोजनाले गरेको काम प्रशंसनीय छ । कमाउन भनी विदेश गएका बारा जिल्ला, सुवर्ण गाउँपालिका–६ का लालसा देवी वैठको श्रीमान् वैदेशिक रोजगारका क्रममा मृत्यु भएपछि लालसा र उनका २ बालबच्चाहरूका लागि समृद्धि आयोजना दुःखको साथी बन्यो । परिवारमा कमाउने व्यक्ति गुमाएको पिडा बिचमा आप्रवासी श्रोत केन्द्र, कलैयाको सहजीकरणमा लालसाले वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट २० लाख रुपैयाँ राहत रकम प्राप्त गरिन् । यो रकमबाट लालसा र उनका २ बालबच्चाको लालन पालनमा सहयोग सिद्ध भइरहेको छ । ऋण तिरेर बाँकी रहेको केही रकम उनले भैंसीपालन व्यवसाय गरी रहेकी छिन् । भैसीपालनले अहिले राम्रो आम्दानी दिई रहेकोमा लालसा देवी अहिले खुसी देखिन्छिन् ।

त्यसैगरी साउदी अरबमा रोजगारीका लागि गएका श्रीमान् रमेश घिसिङको मृत्युको खबरले अत्तालिँदै धनकुटा आप्रवासी श्रोत केन्द्रमा आइपुगेकी पाख्रिवास–९, धनकुटाकी सुखमाया घिसिङले श्रोत केन्द्रको सहायता पाउँदा निकै राहत महसुस गर्न सकिन । श्रोत केन्द्रको सहजीकरणले उनको श्रीमानको शव घरमा नै आई पुग्यो । साथै उनको श्रीमानले काम गरेको कम्पनीबाट ८ लाख ४१ हजार रकम समेत प्राप्त गरिन् । जसले हाल उनको घरबार चलाउन र बालबच्चाहरूलाई पढाउन सहज भएको छ ।

विश्वभर फैलिएको कोभिड-१९ महामारीबाट नेपाली कामदारहरू पनि अछुतो रहन सकेनन् । हजारौँ नेपाली कामदारहरूले प्रभावित हुने तथा रोजगार गुमाउने क्रम जारी रहेको छ । गन्तव्य मुलुकमा यस्ता समस्या भएका नेपाली कामदारहरूले घरफिर्तीका लागि समेत आप्रवासी श्रोत तथा सूचना कक्षहरूले सहयोग पुर्यारहेको जानकारी आयोजनाका आप्रवासन संयोजक जीवन श्रेष्ठले दिएका छन् ।

कोभिड-१९, महामारी कै बिच साउदी अरबमा वैदेशिक रोजगारीमा रहेका माने भञ्ज्याङ्-५, ओखलढुङ्गाका युवाको ज्यान गयो। शवलाई स्वदेशसम्म ल्याईपुर्‍याउन गाउँपालिका अध्यक्षको सहजीकरण प्रयास महिनौँ समय सम्म पनि सफल हुन सकेन। यसै बिच समृद्धि आयोजना र सिद्धिचरण नगरपालिकाको साझेदारीमा सञ्चालित आप्रवासी सूचना कक्षको सहजीकरण र स्वदेश तथा विदेशमा समस्यामा परेका नेपालीको सहयोगका लागि काम गर्दै आएको सेन्टर फर माइग्रेसन एन्ड ईन्टरन्याशनल रिलेस र वैदेशिक रोजगार बोर्डको सहयोगमा शव घरसम्म आइपुग्यो। “चार महिना सम्म कुर्दा पनि असफल भएको शव ल्याउने हाम्रो प्रयास आप्रवासी सूचना कक्षको सहयोगले सफल हुन पुग्यो” भनी मानेभञ्ज्याङ् गाउँ पालिका अध्यक्ष मोती राज राई बताउँछन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहमा नै रोजगार सेवा केन्द्रको स्थापना गर्ने र वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित बनाउन आप्रवासी श्रोत केन्द्रहरू सञ्चालन गर्ने व्यवस्था गरेको छ । स्थानीय स्तरमा हुने आप्रवासी श्रोत केन्द्रले स्वदेशमा उपलब्ध तालिम तथा रोजगारका अवसरहरूको बारेमा जानकारी दिई स्वदेशमा नै रोजगार हुन प्रोत्साहन गर्ने र वैदेशिक रोजगारमा जाने सोच बनाएका व्यक्तिहरूलाई नेपाल सरकारको विद्यमान प्रावधान, जाने प्रक्रिया, अपनाउनु पर्ने सावधानी, सम्भावित ठगीबाट जोगिने उपायहरू र समस्या परेमा सम्पर्क गर्नु पर्ने निकायहरूको विवरण उपलब्ध गराउने गरेका छन् । आयोजना प्रमुख शालिकराम दाहाल प्रष्टयाउँ छन् – ‘वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका, गन्तव्य मुलुकमा समस्यामा परेका, मृत्यु, अङ्गभङ्ग भएका व्यक्ति तथा उनका परिवारहरूलाई न्याय दिलाउन र राहत, क्षतिपूर्ति उपलब्ध गराउन समृद्धि आयोजनाको सहजीकरणले सहयोग गर्दै आएको  छ ।’

नेपाल सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई आत्मसात् गरेको छ । नेपाल सरकारका विभिन्न निकायसँगको सहकार्यमा अगाडी बढिरहेको यस समृद्धि आयोजनाले नेपाली युवामा सीप सिकेर, थोरै लगानीबाट केही उद्यम गरेर भए पनि स्वदेशमै बसेर सुखी जीवन जिउन सकिन्छ भन्ने आशा जगाइदिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस