राजा तान्सिहाङले राजीनामा दिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजा तान्सिहाङले राजीनामा दिए


२६ कार्तिक २०७७, बुधबार


वैशाख महिनाको सुरम्य बिहानी I राजा तान्सिहाङ मही पारिरहेका थिए I दुईजना सहकर्मी खानेकुराको बन्दोबस्त मिलाउँदै I एकजना सहकर्मीले भने , “कुनैकुनै प्रान्तका प्रशासकले अनुशासन र स्थापित मर्यादा विरुद्ध कम गर्ने गरेको सुनिन्छ I राजालाई यसबारे जानकारी छ कि छैन ?”

राजा ( मही पार्न बिसाएर ) – सुनेको छु I

राजाले त्यसै दिन साँझ राजधानीमा रहेका सहकर्मीहरुको सभा बोलाए I सभामा दुई तीनजना प्रशासकहरुको आचरण संकास्पद रहेको निचोड निस्क्यो I बैठक चलिरहेकै समयमा एकजना महिला रुँदै आइन् I उनी एकजना प्रशासककी पत्नी थिइन् I

राजा – के भयो ?

महिला झन रुन थालिन् I

राजा – श्रीमतीलाई अन्यत्रै पठाएर एक्लै प्रशासकीय केन्द्रमा बस्न मनाही छ I पत्नी पनि एक्लै बाहिर जान मिल्दैन I कतै जानु परे दुवैजना सँगै जानुपर्छ I तपाईं किन एक्लै आउनुभयो ? लांघातिरको हालखबर के छ ?

महिला – भन्नै अप्ठेरो लाग्ने कुरा छ I नभनेरै बस्न पनि सक्दिन I हाम्रो लांघामा तमासा हुन थालेको छ राजा ! मेरा पतिले प्रशासकीय भवनभित्र चारजना केटी ल्याएर राख्नुभएको छ I

राजा – कति दिन भयो ?

महिला – लगातार राख्न थालेको चार महिना भयो I ल्याउने र एक दुई रात राखेर पठाउने गर्न थालेको छ महिना भयो I जीवन यस्तो दु:खमा बिताउनु पर्ला भनेर सोचेकी थिइन मैले I

राजा – पहिल्यै किन नभनेको ?

राजाले सभासदहरुसँग सरसल्लाह गरे I लांघाका प्रशासक सेन सेनलाई राजधानी झिकाउने निर्णय भयो Iलांघा राजधानीबाट तीन दिनको बाटो उत्तरमा पर्दथ्यो I

राति राजालाई निद्रा परेन I “जीवन यस्तो दु:खमा बिताउनु पर्ला भनेर सोचेकी थिइन मैले I” पालुबाङ राज्यमा यस्तो वाक्य भन्ने पहिलो व्यक्ति थिइन् ती महिला I राजा आश्चर्यमा छन् आज I के यो एउटा प्रतिनिधि वाक्य हो ?

“जीवनमा दु:ख छ” भनेर दु:खको कारण र निवारणको उपाय समेत बताउने राजकुमार सिद्धार्थ जन्मनुभन्दा केही वर्षअघि नै एउटा महिलाबाट यो वाक्य अभिव्यक्त भएको थियो I आफ्नै राज्यमा बेथितिले उग्र रुप धारण गर्दै जाला र भविश्यमा यही राज्यको दक्षिणी भागमा स्थापना हुने अर्को राज्यको राजकुमारले त्यस्तो वाक्य प्रयोग गर्ला भन्ने कुरा राजा तान्सिहाङले अनुमान गर्ने कुरा पनि भएन I
छ दिनपछि लांघा प्रान्तका प्रशासक सेन सेन आइपुगे I उनले अगाडि चार जना र पछाडि चारजना धनुष भिरेका सिपाही पनि लिएर आएका थिए I

राजा – सेन सेन ! तपाईंको जीवनमाथि खतरा छ ? किन सिपाही लिएर हिड्ने अवस्था आयो ?

सेन सेन – हो राजा ! मेरो जीवनमा खतरा छ I

राजा – किन खतरा भयो ? तपाईंसँग सम्पत्ति छ ?

सेन सेन – छैन राजा I

राजा – कसैलाई दु:ख दिनुभएको छ ?

सेन सेन – छैन I

राजा – कसैले तपाईंलाई राज्यले प्रादान गरेको राजकीय पदको रिस गरेको छ ?

सेन सेन – थाहा छैन I

राजा – कसैको राज्यको नियम अनुरुप उपभोग गर्न पाउने सम्पत्ति हरण गर्नुभएको छ ?

सेन सेन चुप लागिरहे I

राजा – हाम्रो राज्यको परम्परामा नरहेको कुनै महिलालाई उसको चाहना र स्वीकृतिबिना या लोभलालच देखाएर या आफ्नो भोगविलासका लागि अपहरण गरी ल्याएर राख्नुभएको छ I

सेन सेन – चुप I

राजा – हो सेन सेन ! तपाईंको जीवनमाथि खतरा छ I परन्तु खतरा निम्त्याउने काम तपाईं आफैले गर्नुभयो I

सभासदहरु ! हाम्रो राज्यमा व्यभिचारको प्रारम्भ गर्ने राजकीय शक्तिमा रहेको पहिलो व्यक्तिको रुपमा सेन सेनको नाम इतिहासमा कुख्यात हुनेभयो I सर्वसाधारण मानिसले यदाकदा यस्तो कृत्य गर्ने गरेको पाइए तापनि त्यो त्यति गम्भीर कुरा थिएन I तर राज्यको उच्च जिम्मेवारी लिएर बसेको अधिकारी नै भ्रस्ट हुन पुगेको यो पहिलो घटना हो I

सभासदहरु ! यो हाम्रो राज्यका लागि नराम्रो घटना र भविष्यको सम्भावित संकटको सङ्केत हो I तपाईंहरुलाई अवगत भएकै कुरा हो , जुन राज्यको राजा या उच्चपदस्थ अधिकारीले सामाजिक मर्यादा, शालीनता, विनयशीलता र अनुशासन गुमाउँछ, त्यस राज्य र समाजको पतन अवश्यम्भावी छ I

अस्ति भरखरै हाम्रा मित्र कृष्ण र केही समयअघि राजा युधिष्ठिर हाम्रो देशको भ्रमणमा आउनुभएको थियो I हाम्रो राज्यको सामाजिक मर्यादा, समानता, शालीनता, वृद्धवृद्धा, महिला र बालबालिकाहरुको अवस्था देखेर उहाँहरु अचम्म पर्नुभएको थियो I उहाँहरु भन्नुहुन्थ्यो, ‘हामीले खोजेको समाज तपाईंकहाँ आएर देखियो I’ तर आज आफैले लज्जास्पद स्थितिको सामना गर्न वाध्य हुने दिन आयो I

यो घटना हाम्रा लागि ठूलो धक्का हो I नारीलाई भोग गर्ने वस्तु जस्तो ठानेर आफ्नो निवासमा थुनेर राखी बलात् भोग गर्ने अधिकारीलाई के सजाय दिने हो ? त्यसरी ल्याएर राखेका युवतीहरुलाई खान लाउन दिनका लागि तोकिएको दरबन्दीको खान्की र सुविधाले नपुग्ने हुँदा उहाँले प्रजाबाट जबर्जस्ती उठ्ती पुठ्ती गर्नुभयो भन्ने प्रष्ट छ I सजायका बारेमा छलफल गरौँ I

उच्च अधिकारीले पनि भ्रष्टाचार गर्न सक्छन् भन्ने कल्पना नै नगरिएको हुँदा पालुबाङ राज्यमा त्यससम्बन्धी कानून नै थिएन I सभाले ती प्रशासकबाट राज्यलाई प्राप्त भएको लामो सेवालाई विचार गरेर कुनै ठूलो सजाय नगरी अरु साधारण नागरिक सरह खेतीपातीको काम गरेर परिवारसँग घरमै बस्न आदेश दियो I उनले राखेका युवतीहरुलाई आआफ्नो घर पठाइदिने निर्णय गर्यो I राजाले अन्य प्रान्तको गतिविधि बुझ्न गुप्तचर खटाए I

चिन्तित राजा एक्लै नाम्लो बुनेर समय काटिरहेका थिए I एकजना सहकर्मी एउटा चिट्ठी लिएर आए I राजाले चिट्ठी खोलेर हेरे I कृष्णको चिट्ठी रहेछ I

प्रिय मित्र तान्सिहाङ !
तपाईंबाट प्राप्त मीठो साख्यभाव र थोरै दिनको सहवास अविस्मरणीय थियो I तपाईंको सान्निध्यमा बगाएका आँसु र तपाईं को शान्त , सौम्य र गरिमामय व्यक्तित्व मेरा लागि दु:खद परिस्थितिमा धैर्यधारण गर्न प्रेरक बनेका छन् I

त्यहाँबाट फर्केको केही समयपछि द्वारकामा अनेकौं अपसकुन देखिन थाले I अहिले हामी सबै यदुवंशीहरु प्यारो द्वारकालाई छाडेर प्रभासक्षेत्रमा आएर बसेका छौं I मेरा स्ववंशीहरुमा अझै चेत पलाएको छैन I स्वार्थ , भोगलिप्सा , ईर्ष्या र अहङ्कारले गर्दा सबैको मति विचलित भएको छ I वैभवको सुख र भोगको अपार आकांक्षाले गर्दा सबैमा उन्माद छाएको छ I

प्यारो मित्र !
यस जगतमा त्यस्तो अवस्था कहिल्यै रहन सक्दैन जब शुभ नै शुभ या अशुभ नै अशुभ होस I हरेक शुभहरुमा अशुभको र अशुभमा शुभको बीज लुकेर बसेको हुन्छ I अनुकूल परिस्थिति प्राप्त हुनासाथ त्यस्तो बीजले आफूलाई प्रकट गर्दछ I

समय परिवर्तनशील छ मित्र ! समयसँगै समाज पनि परिवर्तन हुनु अवश्यम्भावी छ I समाजमा पनि शुभ र अशुभको चक्र चलिरहन्छ I मित्रलाई अवगत भएकै कुरा हो , मनुष्य स्वभावैले स्वार्थी प्राणी हो I तथापि तपाईंको राज्यमा धेरै किसिमका स्वभाविक स्वार्थी प्रवृत्ति प्रकट हुन पाएका थिएनन् I त्यसको मूल कारण तपाईंको राज्यले कायम गरेको समानता , न्याय र रोजगारीको समुचित व्यवस्था नै हो I खास गरेर शासन र शक्तिमा आसीन व्यक्तिहरु सदाचारी हुनु ठूलो कुरा हो I

भनिन्छ, महाजनो येन गत: स पन्था I राज्यको उच्च पदको जिम्मेवारी लिएर बसेका व्यक्ति र समाजका अगुवाहरुले जस्तो मार्गको अनुसरण गर्दछन्, अन्य साधारण मानिसहरु पनि त्यही उचित मानेर सोही मार्गलाई आत्मसात गर्दछन् I

तपाईंसँग बिदा भएर फर्कने सिलसिलामा मैले तपाईंको राज्य अन्तर्गत पर्ने खेरेप भन्ने प्रान्तमा पुग्दा एउटा अद्भुत घटना देखें I तपाईंको राज्यमा असम्भव ठानिएको अभूतपूर्व दृश्य थियो त्यो I म एउटा चौपारीमा सुस्ताइरहेको थिएँ I त्यहाँ चारजना धनुषधारीले दुईजना सुन्दरीलाई लिएर आए I किशोरीहरु रोइरहेका थिए I किशोरीका बाबुहरू पनि सँगै थिए I उनीहरु सबै चौपारीमा बसे I

मैले सोधेको थिएँ – यी नानीहरु को हुन् ? किन रोइरहेका छन् ?

आतंकित र मलिन बाबुले भने, “यी हामी दुईजनाका छोरीहरु हुन् I यी धनुषधारीहरु खेरेप प्रान्तका प्रशासक कानुङका सिपाही हुन् I यिनीहरु हाम्रा छोरीहरुलाई प्रशासक कानुङको भवनमा काम गर्न भनेर लिएर जाँदै छन् I” मैले भनें, “राजाकहाँ निवेदन किन नगरेको ?” उनीहरुले जवाफ दिएका थिए, “राजाकहाँ निवेदन दिन गयौ र हल्ला गर्न थाल्यौ भने ठूलो गोता खानुपर्नेछ भन्ने धम्की आयो I राजा पनि धेरै वृद्ध भइसके के पो गर्न सक्लान र I”

यो तपाईंको राज्यमा भोगको अन्यायपूर्ण लिप्सा र मालिक हुने प्रवृत्तिको आरम्भ हो I अब फेरि तपाईंको राज्यमा आजको जस्तो समाज स्थापना हुन धेरै लामो समय कुर्नुपर्नेछ I परन्तु त्यो परिवर्तित समाज पनि हुबहु त्यस्तै हुने छैन जुन हिजोसम्म थियो I प्रत्येक आगामी समाज भिन्न रुप लिएर आउँछ I मानवीय मूल्य र सोचहरु परिवर्तन हुन्छन् I

वेदान्तले जोड दिएर भन्दछ – एक दिन यस्तो समय आउनेछ, जब मानव आफैमा पूर्ण हुनेछ I पूर्णता प्राप्त गर्न सर्वप्रथम आफूमा रहेका अपूर्णताहरुलाई परित्याग गर्नुपर्दछ I तपाईंको व्यक्तिगत जीवन त्यही अपूर्णतालाई परित्याग गरेको पूर्णता हो I तपाईंले जस्तै प्रकृत जीवनशैली अपनाउने मनुष्य नै साधु हो, पूर्ण हो I ‘मेरो’ को भावनाभन्दा माथि उठ्न सक्नु नै पूर्ण हुनु हो I त्यही नै मुक्ति हो, वर्णनातीत अद्वैतको अवस्था I

तपाईं भन्नुहुन्थ्यो “मैले शास्त्र पढेको छैन I म त जे जान्दछु, यही प्रकृतिमा दृश्यमान जगत जान्दछु I” मेरो यताको संसारमा गुरु थापेर जान्नुपर्ने कुरा तपाईं आफ्नै शुद्ध अन्तःकरणबाट स्वतः जान्नुहुन्छ I जो अप्रकाशित, अदृश्य, अचिन्त्य र वर्णनातीत छ I तपाईंले जान्नु र अवधूत दत्तात्रेयले जान्नुमा अद्भुत साम्य छ I तपाईंले बुझेको प्रकृति नै सत्य हो I हामी त्यसलाई व्याख्या गर्न थाल्दछौं, तपाईं चुपचाप आत्मसात गर्नुहुन्छ I तपाईं जस्तो स्वयंप्रकाशलाई अर्को प्रकाशको कुनै प्रयोजन छैन I हे मित्र ! तपाईंले स्वयंसिद्ध रुपमा जुन जीवन बिताइरहनु भएको छ नि ! हो त्यही नै अद्वैत हो I

वेद भन्दछ – यदि म खराब छु भने मैले देख्ने सारा जगत खराब हुन्छ I जबसम्म व्यक्ति आफै पवित्र हुन सक्दैन उसले अरुलाई कसरी पवित्र देख्न सक्दछ ? यता हाम्रोमा शान्तिको खोजीमा कोही गुफामा, कोही कन्दरामा, कोही नदी किनारमा, कोही वनमा र कोही स्मसानमा गएर साधना गर्दछन् I तर दुर्भाग्य ! ती हतभागीहरु जहाँजहाँ जान्छन्, उनीहरुको सहयात्री चित्तवृत्ति पनि सँगै सहगमन गर्दछ I

मनुष्य दूषित मन र सुकिलो शरीर लिएर मन्दिर मन्दिर धाउँछ I ईश्वरसँग उसको माग हुन्छ “प्रभु मलाई धनधान्य, वैभव र भोग्य सामग्री देऊ I मलाई शान्ति र धैर्यले समेत विभूषित गरिदेऊ मेरो प्रभु !” ल हेर्नुहोस त मित्र ! धनधान्य र भोग पनि देऊ, सन्तुष्टि, धैर्य र शान्ति पनि देऊ ! भला यो पनि ईश्वरसँग माग्ने कुरा हो ? जे माग्ने हो एउटा मात्र माग भनेर मनुष्यको चित्त बुझाउन गाह्रो छ I तर तपाईं यी सारा चक्करबाट मुक्त हुनुहुन्छ I तपाईंको जीवन देखेर वेदव्यास र युधिष्ठिरको समेत सातो गएको थियो भने अरुको के कुरा ! तपाईंको यही जीवन अद्वैत हो I

प्रिय मित्र !
अद्वैत अपूर्व रुपमा सुन्दर छ I किन्तु यो अत्यन्तै उत्कृष्ट भएको हुँदा दुरुह र दूर्बोध्य छ I अद्वैतलाई जनसमाजमा रतिन कठिन छ I अद्वैत भन्छ तिमी नै ईश्वर हौ, तिमी नै हौ शुद्ध चैतन्य, तिमी नै आत्मा, तिमी नै परमात्मा र सनातन अविनाशी ब्रह्म ! मनुष्यलाई सहाराको लागि अर्को कुनै मालिक चाहिँदो रहेछ मित्र ! आफै मालिक भएपछि कोसँग माग्नु ? आफ्ना गल्तीहरुको जिम्मेवार कसलाई मान्नु ? पृथक अस्तित्वलाई स्वामी मान्न सजिलो छ, स्वयंलाई अहं ब्रह्मास्मी भन्न धेरै कठिन I मनुष्यको दशा त्यस्ता लताको जस्तो छ, जो अरुको सहाराबिना माथि चढ्ने हिम्मत गर्दैनन् I किम भद्रम किमभद्रम वा द्वैत्स्यावस्तुन:कियत् वाचोदितम तदनृतम मनसा ध्यातमेव च छाया प्रत्याह्रयाभासा म्ह्यसन्तोप्यर्थकारिण:एवम देहादयो भावा यच्छन्त्यामृतुतो भयम

अद्वैत मान्दछ – ईश्वर आफै स्रष्टा हो र सृष्टि पनि आफै I यसले भन्दछ सारा दृश्य अदृश्य जगत ईश्वरमय छ I ईश्वर सृष्टिको निमित्त र उपादान कारण दुवै हो I ब्रह्म या सत्ता त केवल एउटै छ, जो नित्य, सनातन, अव्यक्त, अज्ञेय र अविनाशी छ I त्यो सत्ता साश्वत भएको हुँदा न जन्मन्छ, न मर्दछ, न पोलेर पोलिन्छ, न भिजाएर भिज्दछ, न सुकाएर सुक्दछ, न शोषेर शोषिन्छ I नित्य सत्ता निर्गुण छ, गुणातीत I त्यही नै शिव हो, त्यसै कारण म नै शिव हुँ I शिवोहं शिवोहं !

यहाँ मेरा अहंकारी स्ववंशीहरु आपसमा लड्न तयार भएर बसेका छन् I मैले पनि सोचें – यी दम्भले भरिएका घैलाहरु आपसमै टकराएर फुट्नुमै श्रेय छ I जसले आफ्नो दम्भ, आडम्बर, ठस्सा, परनिन्दा र परहिंसालाई परित्याग गर्न सक्दैन, उसको सर्वनाश सुनिश्चित छ I
ल त प्यारो मित्र ! जब कुनै पनि अस्त्रले काम गर्दैन, त्यस अवस्थामा एउटै अस्त्र बाँकी रहन्छ, त्यो हो प्रतीक्षास्त्र ! अब हामी दुवै समयको निर्णयलाई प्रतीक्षा गरेर बसौं I
— — — — —
पन्ध्र दिनपछि बाह्रै प्रान्तमा खटिएका गुप्तचरहरु आआफ्ना प्रतिवेदन लिएर हाजिर भए I केही गुप्तचरहरुमा पहिले जस्तो ओज र तेज थिएन I केही भने अलि सन्तुष्ट र तेजिला थिए I उनीहरु सबै एक एक गरेर उपस्थित भए I एउटा गुप्तचरलाई अर्कोले के कस्तो प्रतिवेदन लिएर आयो भन्ने थाहा थिएन I सबै उत्सुक र उद्वेलित देखिन्थे I

राजा तान्सिहाङले सभासदहरुलाई बोलाए I उनको राज्यमा राजा एक्लै बसेर गुप्तचरको प्रतिवेदन लिने र एक्लै स्वेच्छाचारी निर्देशन दिने चलन थिएन I राजाको दृढ विश्वास थियो, राज्यका सबै उच्च अधिकारीले राज्यभित्रका सबै गतिविधि थाहा पाउनु आवश्यक छ I जति लुकाए तापनि जान्न इच्छा गर्ने अधिकारीले अनेक उपाय गरेर जानिहाल्छ I त्यसकारण कुनै पनि कुरालाई रहस्यमय बनाउनु आवश्यक छैन I सामरिक महत्व राख्ने वैदशिक सम्बन्धका कुरा बाहेक सबै कुराको ज्ञान शासक मात्र होइन प्रजालाई समेत हुनु जरुरी छ I

प्रतिवेदनअनुसार बाह्र प्रान्तमध्ये चेकआलाक, खेरेप, लांघा र ढेमाङ गरी चारओटा प्रान्तका प्रशासकहरु नराम्ररी पथभ्रष्ट भएको पाइयो I बाँकी आठओटा – ढाबाहा, ढुंडी, होलाक, डिबु, लामडुट, हुलमा, होलाङ र छोसानको अवस्था सन्तोषजनक रहेको पाइयो I

खेरेपतर्फको प्रतिवेदन लिएर आउने गुप्तचरको भनाइ अनुसार त्यहाँको प्रशासकीय भवनमा दक्षिणतर्फको विदेशबाट आएका मानिसहरुको सल्लाह अनुसार प्रशासकले काम गर्ने गरेका रहेछन् I विदेशबाट आउने मानिसहरु प्रशासकलाई आफूले चर्चेको प्रान्तको राजा आफै हुन र राजसी जीवन अपनाउन परामर्श दिँदा रहेछन् I त्यस्ता मानिसहरुलाई प्रशस्त सुविधा प्रदान गर्नुपर्ने र भोगविलासका साधन जुटाउनु पर्ने हुँदा प्रजालाई प्रचलित दरबन्दीभन्दा बढी कर लगाउन सुरु गरिएको रहेछ I प्रशासक र दक्षिणीहरुको भोगविलासका लागि किशोरीहरु ल्याएर राख्ने प्रचलन सुरु भएको चार पाँच महिना पुगेछ I

लांघाका प्रशासक सेन सेन खेरेप प्रान्तको प्रशासकको उक्साहटमा परेको देखिन आयो I चेकआलाक र ढेमाङ प्रान्त राज्यको सुदूर उत्तरमा दुर्गम स्थानमा पर्ने हुँदा उत्तरतिरबाट आएका मानिसहरुले प्रशासकहरुलाई उक्साएका रहेछन् I त्यहाँ प्रजाले पालेका चौंरी, भेंडा र च्यांग्राहरु जबर्जस्ती खेदेर ल्याउन थालिएको रहेछ I त्यहाँ पनि युवतीहरु अपहरण गरेर ल्याउने र उत्तरबाट आउनेहरु र प्रशासकको सेवामा लगाउने प्रचलन सुरु भएको केही महिना पुगेछ I

राजा तान्सिहाङलाई यस्तो घटनाको पूर्वाभास त केही समय अगिबाटै हुन थालेको थियो I परन्तु यो रुपमा र यति संगठित तरिकाले होला भन्ने अनुमान थिएन I राजाले मनमनै सोचे – विकृति कसरी दावानल जस्तै फैलिँदो रहेछ ! कृष्णले लेखेको “महाजनो येन गतः स पन्था “ भन्ने उक्ति चरिरार्थ हुने लक्षण देखियो I उनले मनमनै विचार गरे – जब कुनै प्रशासकले चारओटा भेडा खेदेर ल्याउने आदेश दिनेछ, सिपाहीले अवश्यमेव आठओटा खेद्नेछन् I जब दुईजना किशोरी अपहरण गर्ने आदेश हुनेछ, चारजना किशोरीहरु अपहृत हुनेछन् I जब उच्च पदस्थ राजकीय अधिकारीहरु नै भ्रष्टाचार र व्यभिचारको दलदलमा फस्नेछन्, प्रजालाई भ्रष्ट हुन कसैले रोक्न सक्ने छैन I

आज आफ्नै शान्त र समृद्ध तलाउमाथि तलाउकै रखवारी गर्ने अधिकारीबाट बलात्कार भयो I ईर्ष्या, दम्भ, आलस्य, अशालीनता र कदाचारबाट मुक्त समाजमा आज अभद्र र नग्न नृत्य सुरु गरे पालुबाङ आमाका कुलङ्गार सन्तानहरुले I आज वृद्ध राजा पहिलोपल्ट शोकमग्न भए I शोकमग्न अवस्थामा ज्यान गुमाएका भीष्मको याद आयो राजा तान्सिहाङलाई I फेरि उनले कृष्णको चिट्ठी सम्झे जहाँ प्रजाले “बूढा राजाले के पो गर्न सक्लान र” भन्ने व्यहोरा उल्लेख थियो I

राजाले वृहत सभा बोलाए I सभाबाट नयाँ कानून पारित गरेर भ्रष्ट अधिकारीहरुलाई कडा सजाय गर्ने प्रावधान कायम गरियो I राजालाई थाहा थियो, सजाय अपराध घटाउने सम्यक र सार्थक उपाय होइन I तर अर्को उपाय पनि त थिएन I चारैजना प्रशासकहरुले सश्रम कारावासको सजाय पाए I पालुबाङ राज्यको राजधानीमा नयाँ कारागार बन्यो I जुन छिमेकी राज्यहरुका मानिसले आफ्ना अधिकारीहरुलाई बिगार्ने काम गरे, विडम्बना ! कुनै समयमा ‘कारागार यस्तो हुन्छ’ भनी तिनै देशका मानिसले भनेको वर्णन अनुरुप कारागार निर्माण गर्न विवश भयो पालुबाङ राज्य I

राजा गम्भीर थिए I उनले सबै सभासदका सामु आफूले राजा पदबाट राजीनामा दिएको घोषणा गरे I सभा स्तव्ध भयो I सभाका सभामुखले भने “हामीलाई राजीनामा स्वीकार्य छैन I तपाईंको कारण बेथिति आएको होइन राजा ! तपाईं हाम्रो आदर्श पुरुष हो I यो सभामा तपाईंको अनुपस्थिति हामीलाई सह्य हुने छैन I तपाईं जे खानुहुन्छ आफ्नो पसिना बगाएर खानुहुन्छ I तपाईंको शरीर ढाक्ने लुगा तपाईं आफै बुन्नुहुन्छ I तपाईं यो राज्यको सबैभन्दा थोरै खानेले भन्दा थोरै खानुहुन्छ I तपाईंको जीवनशैली यो राज्यको सबैभन्दा सादगीमा बस्ने व्यक्तिको भन्दा साधारण छ I परन्तु तपाईंको गरिमा हामी समस्त एघार लाख प्रजाको भन्दा उच्च छ I तपाईं एक्लो राजा एकातिर र हामी एघार लाख अर्कोतिर राखेर तुलोमा तौलने हो भने पनि तपाईंको गुरुत्व ज्यादा हुनेछ I”

राजा – यो मेरो अन्तिम निर्णय हो I मेरो उमेर पन्चानब्बे पुग्यो I सत्तरी वर्ष राजा भएर बिताएँ I अब सोझो मेलोको कुरा गर्ने हो भने मेरो जाने बेला पनि भयो I “राजा बूढा भए I बूढा राजाको कति नै आस गर्नु” भन्ने नितान्त स्वाभाविक आवाज उठ्न थालेको जानकारी पनि छ मलाई I वृद्ध राजाका बारेमा त्यस्तो आवाज उठाउने प्रजाप्रति मेरो अद्वितीय सम्मान छ I मलाई मेरो वार्द्धक्यबारे स्मरण गराउने प्रजा मेरा सच्चा शुभचिन्तक हुन् I राज्यको अभिभाराको बोझले आफ्नो उमेर बितेको बिर्सने राजालाई सत्य कुरा थाहा दिलाउने प्रतिनिधि पात्र अत्यन्त प्रशंसाका भागी हुन् I उनीप्रति मेरो हार्दिक नमन छ I

यसलाई मेरो पलायन नसम्झनु होला I एउटा वृद्ध या रोगी मानिसले राजकीय अभिभाराबाट अवकाश लिनु पलायन होइन I यसलाई मेरो त्याग पनि नसम्झनुहोला I यो मेरो परम कर्तव्य हो I खास कुरा के हो भने नयाँ परिस्थितिलाई सम्वोधन गर्न युवा नेतृत्वको आवश्यकता छ I अब तपाईंहरु नै सुयोग्य राजा छान्ने प्रकृया सुरु गर्नुहोस्, जसले राज्यमा उत्पन्न नयाँ परिस्थितिलाई सँभालेर निकास दिन सकोस् I

यो शृंखलाका पूर्वप्रकाशित कथाहरु नपढेकालाई कस्तो कस्तो लाग्न सक्छ I प्राचीन पाल्पाली मगर राजा तान्सिहाङबारे यो चौथो किस्ता हो I

 

साधुनाथ बा पनि काठमाडौँ पुगे

कृष्ण पनि आए

राजा युधिष्ठिरको नेपाल यात्रा

राजा तान्सिहाङको हस्तिनापुर यात्रा

Tags :
प्रतिक्रिया दिनुहोस