राजा तान्सिहाङको हस्तिनापुर यात्रा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राजा तान्सिहाङको हस्तिनापुर यात्रा


२० श्रावण २०७७, मंगलबार


युधिष्ठिरलाई सिच्छे दिने तान्सिहाङ राजा
हस्तिनापुर दरबारमा बजे धेरै बाजा
एउटा भनाइ छ – लोक कथामा सत्यता र प्रमाण होइन, सन्देश र बिम्ब खोज्नुपर्छ I
श्रुतिपरम्पराबाट पुस्तान्तर हुँदै हिँजोसम्मको यात्रा पूरा गरेर हाल लोप हुनै लागेको राष्ट्रिय स्वाभिमानको जाज्वल्यमान लोककथालाई लिपिबद्ध गरी जीवन्त राख्ने प्रयास हो यो I

महाभारतको सङ्ग्राम समाप्त भएपछि चारै दिशामा राजा युधिष्ठिरको अकण्टक साम्राज्य स्थापना भयो । सत्ता र शक्तिको राप र तापले गर्दा सत्यवादी सम्राट चिन्तित थिए । उनलाई आफूमा सत् र असत् छुट्ट्याउने विवेक समाप्त भई निरङ्कुश र अहङ्कारी बनिन्छ कि भन्ने ठूलो चिन्ता थियो । राजसभामा उपस्थित हुने सबैबाट अविरल प्रशंसा सुन्दा सुन्दा उनी दिक्क थिए । राजदरबारको फाटक बाहिर घुम्ने फिरन्ता, जोगी, माग्ने र रोगीहरु समेत समवेत स्वरमा उनकै गुणगान र अभिनन्दनमा सुन्दर गीत गाउँदै नाच्थे ।

गुप्तचर र सभासदहरुको “रिपोर्टिङ” सम्बन्धमा युधिष्ठिरलाई कतै न कतै कैफियत छ जस्तो महसुस भइरहन्थ्यो । एक दिन उनले सबै भाइहरुलाई बोलाए । राजाले “हाम्रो राज्यप्रणाली कस्तो छ ? प्रजाको अभिमत के छ ? देशदेशावरमा हस्तिनापुर राज्यको शासनपद्धतिबारे के कस्तो प्रतिक्रिया छ ? भन्ने सम्बन्धमा चार भाइ चार दिशामा गएर बुझेर आओ” भनेर आदेश दिए ।

किन्तु भीमले भनेका थिए – हे प्रतापी सम्राट ! हाम्रो राज्यप्रणाली उत्कृष्ट छ । हाम्रा प्रजा परम आनन्दमा छन् । देशदेशावरमा राजा हुनु त सत्यवादी सम्राट युधिष्ठिर जस्तो भन्ने हल्ला छ । सबै कुराको विस्तार हाम्रा राष्ट्रभक्त निष्ठावान गुप्तचर र सभासदहरुबाट प्राप्त भइरहेको हुँदा हामी चार भाइ नै खटिएर जानुको प्रयोजन छैन ।

माहिलो भाइको कुरा सुनेर सम्राटले मनमनै सोचे – मेरो माहिलो भाइ साह्रै सोझो र मूर्ख छ । यसले आँखाले देखिने र कानले सुनिने सबै कुरामा विश्वास गर्छ । कसैले तिम्रो दाजुको शासनप्रणालीमा यो यो दोष छ भनिहाल्यो भने सहन सक्दैन, गदा उज्याइहाल्छ । यसलाई एक्लै पठाइयो भने झगडा फसाद गर्न पनि बेर लाउने छैन ।

राजाले भने – “पश्चिम दिशामा नकुल जानू, दक्षिण दिशामा सहदेव जानू । पूर्वोत्तर दिशामा भीम र अर्जुन जानू ।” सबै भाइ बडो सजधजका साथ यात्रामा निस्के ।

प्राचीन मगरराज्य पालुबाङ (आधुनिक समयको पाल्पा) को राजधानीमा अपरिचित र पालुबाङ राज्यमा बसोवास गर्ने मानिसहरूसङ्ग कदकाठी र अनुहार नमिल्ने दुई जना फिरन्ताहरु प्रवेश गरेको हल्ला चल्यो । सिपाहीहरु राजा तान्सिहाङकहाँ खबर लिएर गए ।

राजा तान्सिहाङ – आगन्तुकहरु कस्तो रुपका छन् ? कस्तो पहिरनमा छन् ? कुन भाषामा कुरा गर्छन ?

सिपाही – आगन्तुकहरु थोरै श्याम वर्णका र अग्लो कदका छन् । उनीहरू शुद्ध मगर भाषामा कुरा गर्छन् । पहेंलो वस्त्र पहिरेका छन् । “को हौ ?” भनेर सोधपुछ गर्दा ‘हामी परदेशी हौं, फिरन्ता जोगी हौं’ भन्छन् । हाम्रो देशमा त कोही पनि जोगी भएर हिड्ने चलन छैन । पक्कै पनि ती जोगीहरु कुनै दूरदेशका मानिस हुनुपर्छ ।

राजाले जोगीहरुलाई ससम्मान उपस्थित गराउने आदेश दिए । जोगीहरु राजासमक्ष हाजिर गराइए । जोगीहरु के देख्छन् भने एकजना नब्बे पन्चानब्बे वर्षका स्वस्थ मानिस एउटा साधारण खाटमा राडी बिछ्याएर बसेका छन् । गादो र कछाड भिरेका ती वृद्ध व्यक्तिमा अवर्णनीय आभा प्रकाशित भइरहेको छ । वृद्धले फनन्न फनन्न कतुवा नचाउँदै गाँजाको रेसाको धागो कातिरहेका छन् । एकक्षण जोगीहरुलाई राम्ररी निरीक्षण गरेपछि वृद्ध उठे । उनले भने – पालुबाङ राज्यको राजधानीमा म राजा तान्सिहाङको तर्फबाट यहाँहरुलाई हार्दिक स्वागत छ ।
जोगीहरु छेउमै राखेका मचियामा बसे ।

साँझ परिसकेको थियो । अतिथि जोगीहरुलाई खाना खाने ठाउँमा लगियो । पहिले खरानी र त्यसपछि सर्सिऊँ पेलेको खलीले हातगोडा धोएर जोगीहरु गुन्द्रीमा बसे । खरको छानोमुनि छन्द मिलाएर छापिएका सल्लाका फलियाहरु सल्लाकै दियालोको प्रकाशमा चम्किरहेका थिए । राजा तान्सिहाङ पाहुनाको सामुन्नेमा बिछ्याइएको अर्को गुन्द्रीमा बसे । अलि पर माटाको ठूलो भाँडामा खनियोको दाउराको अडिलो आगोको भुङ्ग्रो राखिएको थियो । आगोको अलि माथि जतनले लामो लामो लामो पारेर काटिएको भेडाको मासु झुण्ड्याइएको थियो । अलि पर साना ठूला भाँडामा जाँड र रक्सी राखिएको थियो । अर्को छेउमा एकजना सिपाही फापरको रोटी हाल्दै थियो भने अर्को एकजना कुखुराको मासु भुट्दै थियो ।

राजा तान्सिहाङले ठूलो ज्यानको जोगीतर्फ हेर्दै भने – कस्तो लिने ? बाक्लो कि पातलो ?

जोगी अकमक्क परे । उनले सानो जोगीलाई सोधे – महाराजले भनेको कुरा बुझ्यौ ?

सानो जोगी – खै ! बाक्लो रोटी मन पर्छ कि पातलो भनेको हो कि !

राजा – हाम्रो देशमा आउने पाहुनालाई जाँड रक्सी र मासु खुवाएर मात्र खाना खुवाउने परम्परा छ । जाँड बाक्लो हुन्छ, रक्सी पातलो ।

सानो जोगी – हामी मादक पदार्थ सेवन गर्दैनौं महाराज !

राजाले ठूलो जोगीतर्फ हेर्दै भने – माननीय अतिथिज्यू ! तपाईं लामो नाक हुनेहरु नखरा गर्न बडो सिपालु हुनुहुन्छ । खानु पनि पर्ने र नाक पनि खुम्च्याउनु पर्ने ।

सानो जोगी – मादक पदार्थ सेवन गरेपछि होस ठेगानमा हुँदैन । मानिसमा उचित के हो अनुचित के हो छुट्ट्याउने विवेक रहँदैन ।

राजा – खै ! हामीले त विवेक गुमाएका छैनौं । हाम्रो देशका उमेर पुगेका र अनुकूल स्वास्थ्य भएका सबैले खान्छन् ।

ठूलो जोगी (सानो जोगीतर्फ हेर्दै) – कस्तो अक्करमा परियो है ! नखानु राजाको आग्रह, खानु खै के हो कसो हो ।

राजा – हामी पनि कहिल्यै नखानेलाई जबर्जस्ती गर्दैनौं । किन्तु मौका पर्दा खाने गरेका अतिथिलाई कर गरेरै खुवाउछौं । तपाईंहरु पनि मौका पर्दा खाएकै मान्छे हो । म तपाईंहरुलाई चिन्छु । तपाईंहरू पाण्डुपुत्र भीम र अर्जुन हुनुहुन्छ । हेर्नुहोस भीम ! तपाईंले अरु बखतमा नखाए पनि हिडिम्बासङ्ग प्रेम गर्दा अवश्य खानुभयो । अर्जुनले पनि उलुपीसङ्ग प्रेम गर्दा खानुभयो होला । लौ भन्नुहोस ! के म मिथ्या बोल्दै छु ?

जोगीहरुले मुखामुख गर्दै विस्फारित नेत्रले एक अर्कालाई हेरिरहे । “अहो ! यो अनकण्टार पहाडका वृद्धले हामीलाई कसरी चिने ? यिनी आफूलाई राजा भन्छन । न कुनै हिरामोती र माणिक्य, न कुनै सुवर्ण, न शिरमा मुकुट, न राजगद्दी, न सभासदहरु, न सिपाहीको पहरा, न गुणगान गर्ने चारणहरु, न दास दासी, न कुनै चरणसेविका गणिकाहरु । गादो भिरेर धागो कात्दै खाटमा बस्छन्, तर कुरा गराइमा कति आत्मविश्वास झल्किन्छ । त्यतिले नपुगेर हामीलाई चिनेको मात्र भए त ठीकै थियो, किन्तु सारा नालीबेली थाहा रहेछ ।” जोगीहरु आफ्नो आसनबाट उठे र राजा तान्सिहाङलाई पुनः ससम्मान नमस्कार गरे ।

दुई बटुका रित्तो पारेपछि भीमले सोधे – महाराज ! महारानी कहाँ हुनुहुन्छ ? राजकुमार र राजकुमारीहरुको दर्शन गर्ने हाम्रो प्रवल इच्छा छ ।

राजा तान्सिहाङ – मेरा कुनै रानी, राजकुमार र राजकुमारी छैनन् । म अविवाहित हुँ । हाम्रो देशमा व्यक्तिगत सम्पत्ति र परिवार भएको व्यक्तिलाई राजा बनाउने परम्परा छैन । जनताले छानेको व्यक्ति राजा हुन्छ । राजाले कुनै गडबडी गर्यो भने ऊ आफै पाखा लाग्नु पर्छ । म राजा भएको सत्तरी वर्ष भयो । अब उमेर भयो छाड्छु भनिरहेको छु तर मान्दैनन । जब मलाई पारिवारिक झगडाले गर्दा कुरुवंशको विनाश भएको थाहा भयो, हाम्रै चलन ठीक रहेछ भन्नेमा झन् ढुक्क भएको छु ।

अर्जुन – महाराजको राज्यमा रैती कति छन् ? दासदासी कति छन् ? जनसंख्या कति छ ? कुन कुन् जातिका मानिस छन् ? राज्य कत्रो छ ?

राजा – हामी रैती भन्दैनौ । दासदासी राख्न पाइंदैन । सबै मानिस बराबर छन् । हामी जातपात मान्दैनौं । सबैले काम गरेर खानुपर्छ । राजाले पनि आफ्नो काम आफै गर्नुपर्छ । हामी जम्मा तीस लाख छौं । हाम्रो राज्यको सिमानाबारे परदेशीलाई भन्न मिल्दैन । तपाईंहरु सारा संसार आफ्नो नियन्त्रणमा छ भन्ने भ्रममा नपर्नुहोला । हाम्रो देश स्वाधीन छ र रहनेछ । हामी कसैलाई हस्तक्षेप गर्दैनौं र अरुको हस्तक्षेप पनि सहन्नौ । सामान्य अवस्थामा हामी किसान हौं, तर विपत्ति पर्दा सबै सैनिक । मेरो राज्यकालमा एउटा पनि युद्ध भएको छैन ।

भीम – राजधानी कत्रो छ ? महलहरु कस्ता छन ?

राजा – राजधानी यही हो र महल पनि यही हो । यो राजधानी अग्लो ठाउँमा छ । कसैले आँखा लाएर हेर्न सक्दैन । यो डाँडो सानो , तर महान छ । यसको चारैतर्फ पानीका मुहान छन् ।

दिनभर घाम लाग्ने पारिलो पाखोमा चिडी, आधादिन घाम लाग्ने मग्राण्डी, एक प्रहर मात्र घाम लाग्ने साह्रै मीठो पानी भएको रिपडी र सिमसारतर्फ बग्ने हर्डी । हाम्रो राजधानीबाट चार सुरुङ्ग चार दिशामा जान्छन् । एउटा सुरुङ्ग त सिधा चिक्चोडी नदीसम्म पुग्छ ।

अर्जुन – राजधानीको जनसंख्या कति होला ?

राजा – यहाँ काम गर्ने मानिसको संख्या एक हजार छ । तर यहाँ खाना खाने म र मेरा आठ दश जना सहकर्मीले मात्र हो । सबै तल अन्न पानीको मुहान भएको ठाउँमा खाना खाएर पालैपालो आएर काम गर्छन् । हामी राजधानीलाई मात्र ठूलो र सुविधासम्पन्न बनाउन चाहँदैनौं ।

राजधानीलाई मात्र विकास गर्ने हो भने सबै मानिसलाई यहीँ आउने इच्छा हुन्छ । राजधानीवासी मानिस सुकुमार हुन थाल्छन् । सुकुमार मानिस अल्छी र स्वार्थी हुन्छ ।

भीम – खानपानको व्यवस्ता कस्तो छ ?

राजा – धेरैले खेती र बाँकीले  उद्योग र खानीमा काम गर्छन् । अनाज बेच्न प्रतिबन्ध छ । पशुधन, दूध, फलफूल र आफ्नो शिल्पबाट उत्पादन गरेको सामान बिक्री गर्न पाइन्छ । जडीबुटी र स्वास्थ्य सम्बन्धी उत्पादनमा राज्यको नियन्त्रण छ । सबैले आफूलाई लागेका कुरा भन्न, राजाको आलोचना गर्न र सुझाव दिन पाइन्छ । थोरै अन्न उब्जा भएको वर्षमा जाँडरक्सी बनाउन र खान प्रतिबन्ध छ । जनताले यो नियमको पूर्ण पालना गरेका छन् । महिला र पुरुषबीच कुनै विभेद छैन । कसैले खान पाएन भने त्यसको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ । स्वस्थ र उमेर भएको प्रत्येक मानिसलाई श्रमको अधिकार र कर्तव्य हुन्छ । बालबालिका , वृद्धवृद्धा र रोगीलाई विशेष सुविधा प्राप्त छ । मागेर खान, श्रम नगरी उपदेश मात्र दिन र जोगी भएर हिंड्न मनाही छ ।

भीम – हाम्रो साम्राज्यबारे पनि केही कुरा थाहा पाउन चाहनुहुन्छ कि ?

राजा – मलाई तपाईंहरुबारे सबै थाहा छ ।

अर्जुन – तपाईंले कुरुवंश , महाभारत सङ्ग्राम , धर्म र संस्कृति सबै कुरा कसरी थाहा पाउनुभयो ?

राजा – मेरा गुप्तचरहरुले कुरुक्षेत्रमा जेठा र कान्छाका सन्तानबीच ठूलो युद्ध हुँदै छ I युद्धमा भाग लिन संसारभरिका राजाहरु जम्मा हुँदै छन् । कोही कौरव र कोही पाण्डव पक्षबाट लड्दैछन् भन्ने सूचना लिएर आए । मलाई पनि बडो कौतूहल भयो । दुई भाइका सन्तानबीच हुने युद्धमा ज्यान होम्न जाने हिम्मतवाल मूर्खहरुको युद्धपिपासा देखेर आश्चर्य पनि लाग्यो, जिज्ञासा पनि । अनि म मेरा अत्यन्त नजिकका दुईजना अधिकारीहरुलाई मात्र जानकारी गराएर गोप्य रुपमा एक्लै पन्ध्र दिनको यात्रा गरेर कुरुक्षेत्र पुगें ।

मलाई युद्धमा सरिक हुने रुचि थिएन, किन्तु युद्ध हेर्ने र थाहा पाउने उत्कट चाहना थियो । बडो चलाखीपूर्वक युद्धरत सिपाहीहरुलाई भोजन बनाउने पाकशालामा प्रवेश गरी भाँडा माझ्न थालें I मलाई कसैले शंका गरेन । घर, युद्धमैदान या राजाको दरबार नै किन नहोस, भान्सामा काम गर्ने र सवारी हाँक्ने मानिसलाई सबै गोप्य कुरा थाहा हुन्छ । त्यही सिलसिलामा मलाई तपाईंका पूर्वज, पितामह, पिता, गुरु, मावली, ससुराली, कुलबधुहरु, जुवा, वनवास, समाज, धर्म र संस्कृति आदि सबै कुरा थाहा भयो । युद्धमा दुबै पक्षबाट भएका बेइमानी, धोका र रुवाबासी पनि थाहा भयो । तपाईं भीमले दुर्योधनलाई मार्ने सिलसिलामा कस्तो खेल भयो, अभिमन्युलाई कसरी मारियो, तपाईं अर्जुनले पितामह, गुरु द्रोण र कर्णलाई मार्दा के के गर्नुभयो सबै थाहा छ । वनवासको क्रममा देशदेशावरमा भौंतारिदा तपाईंहरूले अन्य धेरै भाषाका साथसाथै मगर भाषा पनि सिकनुभयो भन्ने पनि मलाई राम्ररी थाहा छ । अन्यत्र गएर जति गफ गरे पनि हुन्छ, किन्तु मेरो अगाडि कुलको बखान नगर्नुहोस है बाबू हो ! तथापि तपाईंहरूबाट सिक्न सकिने धेरै कुरा छन र मैले सिकेको पनि छु ।

भीम र अर्जुन बिदा भएर गएपछि राजा तान्सिहाङले एउटा बैठक डाके । उनले भीम र अर्जुन जोगीको भेषमा आएको र आफू र उनीहरूबीच भएका सबै कुराको बेलिविस्तार गरे । अरुले त केही सोधेन, तर फापरको रोटी हाल्ने सिपाहीले भन्यो – अरु त सबै राम्रो कुरा गर्नुभयो, तर सुरुङ्ग र जनसंख्याको कुरा बुझ्न सकिएन ।

राजा – हो । मैले दुई कुरा झूट बोलेको हुँ । बलियो देशका मन्त्रीहरू जोगीको भेषमा डुल्नु हाम्रा लागि खतराको सङ्केत हो । यस्ता गुप्तचरलाई रहस्यमय कुरा गरेर झुक्याउन पनि जान्नु पर्दछ । हामी शक्तिशाली भएको महसुस गराउनका लागि मैले चिक्चोडी नदीसम्म सुरुङ्ग भएको र तीस लाख जनसंख्या भएको कुरा गरेको हुँ । हाम्रो वास्तविक जनसंख्या एघार लाख हो । सुरुङ्ग उत्तरतर्फ लघुवाको फाँटसम्म र दक्षिणतर्फ चकल्डीसम्म मात्र हो I

भीम र अर्जुन हस्तिनापुर पुगे । दक्षिण र पश्चिमतर्फ गएका नकुल र सहदेव पनि फर्के ।

राजसभाको ‘ब्रिफिङ्ग’ मा नकुल र सहदेवले जताततै हस्तिनापुरको झण्डा फहराएको, सबै राजाहरु नतमस्तक भएको र सारा प्रजा खुसी र सुखी रहेको वर्णन गरे ।

अर्जुनले राजा युधिष्ठिरलाई संवोधन गर्दै भने – हे राजन ! जब हामी पूर्वको समथर भाग छाडेर उत्तरी पहाडतर्फ उक्लन थाल्यौं, कतै पनि हाम्रो झण्डा फहराएको देखिएन । बुझ्दै जाँदा त्यो पालुबाङ नाम गरेको पहाडी राज्य रहेछ । त्यहाँको राज्यप्रणाली, राजा, रहनसहन, संस्कृति, सामाजिक समानता र राष्ट्रभक्ति देख्दा हामी आश्चर्यमा पर्यौं । त्यस राज्यपद्धतिमा हामीले सिक्नुपर्ने धेरै कुरा रहेछन I

राजा तान्सिहाङको बारेमा धेरै कुरा सुनेपछि युधिष्ठिरले उनीसँग भेट गर्न इच्छा गरे । युधिष्ठिरले हस्तिनापुर भ्रमणको निम्तो दिएर एकजना राजदूतलाई पालुबाङ पठाए । तर राजा तान्सिहाङले आफूलाई स्वतन्त्र र सार्वभौम देशको राजाको रुपमा समान हैसियत दिने भए मात्र भ्रमण गर्ने सन्देशसाथ दूतलाई फिर्ता पठाए । राजा युधिष्ठिरले पालुबाङ हस्तिनापुर राज्य सरहको सार्वभौम सत्तासम्पन्न राज्य भएको हुँदा समान हैसियतमा भेट गर्न चाहेको सन्देश पठाएपछि तान्सिहाङ हस्तिनापुर जान राजी भए ।

हस्तिनापुरमा पालुबाङी राजाको भव्य स्वागत भयो । राजा तान्सिहाङको प्रज्ञा, चातुर्य र प्रत्युत्पन्नमति देखेर हस्तिनापुरी राजसभा विस्मित भयो । कुलगुरु कृपाचार्य लगायत घाघडान विद्वानहरु उनको सामुन्ने नतमस्तक भए । छोटै बसाइमा दुबै राजाबीच प्रगाढ मित्रता कायम भयो । एकदिन बिहानै दुवै राजा प्रभातफेरी गर्दै यमुना किनारमा पुगे I यमुनाको मन्द मन्द प्रवाहको ध्वनिमा मिसिएको शीतल समीरले वातावरणलाई सुरम्य पारिरहेको थियो I दुवै राजा नरम दुबोमाथि बसेर निर्दोष शिशुले जस्तै एक अर्कोलाई हेरिरहे I युधिष्ठिरले भने – हे मित्र ! आज मलाई हराएको त्यस्तो मोती फेला परे जस्तो महसुस भइरहेको छ, जसको खोजीमा मेरो सारा जीवन बित्यो I तपाईंको सरलता, निर्दोषिता, निष्कपटता, दृढता र राष्ट्रिय स्वाभिमानले मलाई अत्यन्त तरङ्गित बनायो I हे राजन ! मेरो मनमा सदैव अनेकौं भावनाका ज्वारभाटाहरु उठिरहन्छन I मैले लाख प्रयत्न गर्दछु, किन्तु यो हृदय शान्त हुँदैन I मलाई हमेसा अतीतले लखेटिरहन्छ I विचारका अन्धबेगहरुले न त बाँच्न दिन्छन, न त मर्न नै I मैले आफ्नो दु:ख पोख्ने ठाउँ कतै देख्दिन I म के गरौँ ? मलाई शान्ति र स्थिरताको मार्ग देखाउनुहोस् I

चक्रवर्ती सम्राट हस्तिनापुर नरेशका आँखाबाट बलिन्द्रधारा बगिरहेका थिए I
राजा तन्सिहाङ्ग – हे मित्र ! तपाईंलाई तपाईंको इतिहास र समाजले खडा गरेको मिथ्या आदर्श, आडम्बर र प्रतिष्ठाको बोझले दबाइरहेको छ I तपाईंलाई पितामह भीष्म, गुरु द्रोण र काका बिदुरका उपदेशका भारीले थिचेर राखेका छन् I तपाईंको सत्य र धर्मको मूल्य नै तपाईंका लागि उठाइनसक्नु भारी भएको छ I अरुको आवाज सुन्दा सुन्दा तपाईंले आफ्नो अन्तारात्माको आवाजलाई बलात् दबाइराख्नुभयो I जीवनका वीभत्स नग्नताबारे ज्ञान हुँदा हुँदै पनि तिनको मुखमा बिर्को लगाउने काम गर्नुभयो I मानिसिक अशान्ति, अनिद्रा, र पश्चातापपूर्ण भावप्रवाह नै तपाईंका दमित बेगहरु हुन् I कृपया आफ्नो हृदयबाट उठेका आवाजलाई सुन्नुहोस I आफैभित्र आफूलाई खोज्नुहोस र भावनालाई बेलगाम बनेर तरङ्गित हुन दिनुहोस् I तपाईंले अरुको कुरामा त निकै ध्यान दिनुभयो, किन्तु आफ्नो स्वच्छन्द भावधारालाई आत्मसात गर्न झन्झट मान्नुभयो I तपाईंले प्रायः निष्काम कर्म नै गर्नुभयो, तथापि सम्भावित असफलताको डरले थिचिनुभयो I आफ्नो बारेमा अरुले के सोच्दाहुन् भन्ने भावनाले गर्दा तपाईं अरुको धारणाको बन्दी हुनुभयो I
युधिष्ठिरले अश्रुपूरित नेत्रले राजा तान्सिहाङलाई हेरिरहे I

बिदा हुनुअघि राजा तान्सिहाङलाई पुनः राजसभामा आमन्त्रण गरियो । त्यहाँ राजा युधिष्ठिरले पालुबाङी राजासँग केही प्रश्न गरे । उनले आफ्ना भाइहरु र सबै सभासदहरुलाई ध्यान दिएर सुन्न र मनन गर्न आदेश दिए ।

युधिष्ठिर – महाराज तान्सिहाङ ! तपाईंले मेरो राजधानीसम्म यात्रा गर्दा के के देख्नुभयो ?

तान्सिहाङ – तपाईंको राज्यमा धेरै राम्रा कुरा देखें । तर एक दुई कुरा मलाई साह्रै चित्त बुझेन । म गङ्गा तर्दै गर्दा दुईजना वृद्ध कुष्ठरोगी पानी पानी ! भन्दै चिच्याइरहेको देखें । किन्तु उनीहरुलाई कसैले पनि वास्ता गरेको देखिन । मैले यी को हुन ? यिनीहरूलाई किन हेरचाह नगरेको ? भनेर सोध्दा ‘यिनीहरू आफ्नो पूर्वजन्मको कर्मको फल भोग्दै छन्’ भन्ने उत्तर प्राप्त भयो । मोटाघाटा मानिसहरू दुब्ला, ख्याउटे र अकिन्चनहरूको काँधमा बोकिएर हिंड्ने गरेको कत्ति मन परें । घरबारविहीन, जोगी, रोगी र बन्जाराहरुले समेत ‘महाराज युधिष्ठिरको जय’ भन्नुमा के रहस्य छ ? मैले बुझ्न सकिन ।

युधिष्ठिर – हामीले ठूलो युद्ध गर्नुपर्यो । मलाई सधै त्यही युद्धको घाउ दुखिरहन्छ । त्यस युद्धको बारेमा महाराजको बिश्लेषण के छ ?

तान्सिहाङ – हुन त यहाँहरुको आफ्नै प्रकारको निचोड होला । इतिहासले जित्नेकै पक्ष लिन्छ । तर युद्धको बीजारोपण तपाईंका पूर्वजहरुबाटै भएको हो । त्यो बीजलाई हुर्काउने काम तपाईंका पितामह, जेठाबा र स्वयं तपाईंबाट भएको हो । हाम्रो मुलुकमा राजाको सन्तान नै नहुने हुँदा यस्तो समस्या नै पर्दैन । तपाईंको मुलुकमा राजाको जेठो छोरा राजा हुने परम्परा छ, त्यस परम्पराको मर्यादा राख्नुपर्छ । तपाईंका पितामह बडो पितृभक्त बनेर अनुचित प्रतिज्ञा गर्न पुगे ।

उनी आफू पनि त्यही प्रतिज्ञाको रापमा पिल्सिए र राज्यलाई समेत सङ्ग्राममा झोस्ने काम गरे । जुवा खेल्नु भनेको हारजितको ठेगान नहुने संयोगको खेल हो । तथापि तपाईं हार्छु भन्ने थाहा हुँदाहुँदै जुवा खेल्नुभयो । कस्तो मूर्खतापूर्ण बहादुरी ! तपाईंले पत्नीलाई जुवामा थाप्नुभयो । कस्तो सन्देश गयो साधारण जनतामा ? अनि तपाईंको परिवारको लडाइँमा सारा संसार बर्बाद भयो ।

युधिष्ठिर – शासकले सबैभन्दा ध्यान दिएर पढ्नुपर्ने कुरा के हो ?

तान्सिहाङ – शासकले सबैभन्दा ध्यान दिएर पढ्नु पर्ने कुरा जनता र समाज हो । जनताको भोक, रोग र शोक हो I

युधिष्ठिर – असल बटुवा कुन हो ?

तान्सिहाङ – असल बटुवा त्यो हो जो आफ्नो नियत मार्गमा अविरल हिँडिरहन्छ । असल बटुवालाई गन्तव्यमा पुगिंदैन कि भन्ने चिन्ता हुँदैन ।

युधिष्ठिर – कुन कुरालाई शब्दमा व्याख्या गर्नु असम्भव छ ?

तान्सिहाङ – परम सत्यलाई शब्दमा व्याख्या गर्नु असम्भव छ ।

युधिष्ठिर – कसलाई कहिल्यै हतार हुँदैन ?

तान्सिहाङ – प्रकृतिलाई ।

युधिष्ठिर – कसलाई चिन्न गाह्रो छ ?

तान्सिहाङ – आफैलाई चिन्न गाह्रो छ ।

युधिष्ठिर – फूललाई सबैभन्दा धेरै माया कसले गर्छ ?

तान्सिहाङ – काँढाले । काँढा नै फूलको रक्षक हो ।

युधिष्ठिर – कस्तो व्यक्तिलाई सत्ता र शक्तिले मदोन्मत्त पार्दछ ?

तान्सिहाङ – जसको सहयोगले आफू शक्तिमा पुगियो तिनैलाई बिर्सने शासक मदोन्मत्त हुन्छ ।आफ्नो औकात बिर्सने शासक मदोन्मत्त हुन्छ । आफ्ना पुराना र सुखदु:खका मित्रलाई भुसुनासरी देख्ने शासक मदोन्मत्त हुन्छ । आडम्बरी र अहङ्कारी शासक मदोनमत्त हुन्छ I

युधिष्ठिर – कस्तो राजालाई विदेशमा समेत असल राजा ( शासक ) भनेर चिनिन्छ ?

तान्सिहाङ – छिमेकी मित्रराष्ट्र र तिनको सिमानाको सम्मान गर्ने राजालाई विश्वभरि असल राजा भनेर चिनिन्छ ।

युधिष्ठिर – तपाईंले हाम्रो राज्यमा आएर आश्चर्य मानेका मुख्य दुई कुरा के हुन ?

तान्सिहाङ – सम्राटको शालीनता, भाइहरुबीच प्रेमभाव, साहित्य र सङ्गीतको विकासका साथै प्रकृतिभन्दा बाहिरको खोज गर्ने दार्शनिक चेतनाले मलाई आश्चर्यमा पारे ।

किन्तु वेश्यावृत्तिलाई घृणा गर्ने तर वेश्यालाई प्रेम गर्ने, न्यायको बखान गर्ने तर दास राख्ने, सबै मानिस भगवानका सन्तान हुन भन्ने तर जाति, भूगोल, रङ्ग र भाषाको आधारमा विभेद गर्ने, नारीलाई पूज्य मान्ने तर भोग्य वस्तु सरह व्यवहार गर्ने प्रचलनले झनै आश्चर्यमा पारे ।

राजा तान्सिहाङको बिदाइ गर्दा उपहारको लागि हात्ती, घोडा, हिरामोती, सुन र द्रव्य, आदि समेत उपहारको रुपमा स्वीकार गर्न सम्राट युधिष्ठिरले विनम्र अनुरोध गरे । तर स्वाभिमानी राजा तान्सिहाङले फलफूल र अनाजको बीज, केही पुस्तक, जडिबुटी, र चर्खा बाहेक कुनै पनि उपहार स्वीकार गरेनन् । उनी राजा युधिष्ठिरलाई पालुबाङ भ्रमणको निमन्त्रणा दिएर स्वदेश फर्के I

Tags :
प्रतिक्रिया दिनुहोस