कृष्ण पनि आए « प्रशासन
prasaLogo
६ आश्विन २०७७, मंगलवार

कृष्ण पनि आए


प्रकाशित मिति : 22 September, 2020 9:16 am

कृष्णलाई मन पर्ने फापरुको रोटी
दु:ख परे जिन्दगीमा सम्झने पो हो कि !

लोपोन्मुख पाल्पाली लोककथाको तेस्रो किस्ता
लोक कथालाई प्रमाण होइन बिम्बको रुपमा हेरिन्छ

कृष्ण – यस्मिन्निदं प्रोतमशेषमोतं
पटो यथा तन्तुवितानसंस्थं
य एष संसारतरु: पुराण:
कर्मात्मक: पुश्पफले प्रसूते

द्वे अस्य बीजे सतमूलस्त्रिनाल:
पन्चस्कन्ध: पन्चरसःप्रसूति:
दशैकशाखो द्विसुपर्णनीड
खिबल्कलो द्विफलोर्क प्रविष्ट:

हे उद्धव ! जसरी वस्त्र धागोको सिलाइले ओतप्रोत हुन्छ, त्यसैगरी यो समस्त जगत ईश्वरले ओतप्रोत छ I धागोबिना वस्त्रको अस्तित्व रहँदैन तर वस्त्रबिना धागोको अस्तित्व यथावत रहन्छ I परमात्माबिना यो जगतको अस्तित्व रहने छैन, किन्तु यो जगत नभए पनि उनलाई कुनै फरक पर्दैन I

भोग र मोक्ष संसाररुपी वृक्षका फूल र फल हुन् I पाप र पुण्य यो वृक्षका बीज हुन् I असङ्ख्य वासनाहरु यसका तीन गुण (सत्व, रज र तम) हुन् I पन्चमहाभूत यसका मुख्य शाखा र शब्दादि पाँच विषयरस हुन् I एघार इन्द्रिय यसका हाँगा हुन् I ईश्वर र जीव यस वृक्षमा गुँड बनाएर निवास गर्दछन् I त्रिदोष यसका बोक्रा हुन् I यसमा सुख र दु:खरुपी फल लाग्दछन् I

कृष्णले भने “यहाँ अनेकौं अपसकुनहरु देखिन थालेका छन् उद्धव ! अब यहाँ ठूलो विनासलीला हुनेछ I तिमी बदरिकाश्रममा गएर एकान्तमा बस्नू I”

उद्धव रुँदै गए I

आज कृष्ण गम्भीर छन् I एक्लै बसेर सोच्दासोच्दै उनी सहसा अतीतमा पुगे I कारागारमा जन्म भयो I बाल्यावस्थामा धेरै दु:ख पाउनु पर्‍यो I केटाकेटीहरुलाई मामाघर जस्तो प्यारो केही हुँदैन, तर मामा नै परम शत्रु बनेर निस्के I वाध्य भएर मामाको काल बन्नु पर्‍यो I फुपूको छोरालाई मार्नुपर्ने अवस्था आयो I जति भेट भए सबै आफ्नो काम बनाउनेमै लागे I काम बनाउन नपाउनेहरुले शत्रु ठाने I संसारले हाँसेको देख्छ, मनको दर्द को बुझ्छ ? सारा स्ववंशीहरु मैले सृजना गरेको सम्पदामा उन्मत्त छन् I अरुलाई सम्झाउन सजिलो छ, किन्तु आफ्नै परिवालाई सम्झाउन कठिन हुँदो रहेछ I

त्यसै बखत एकजना पत्रवाहक आएर एउटा शन्देश दिएर गयो I युधिष्ठिरको चिट्ठी रहेछ I कृष्णले चिट्ठी खोलेर हेरे I युधिष्ठिरले आफ्नो कुशलक्षेमका साथै राजा तान्सिहाङको निमन्त्रणाबारे पनि लेखेका रहेछन् I युधिष्ठिरले लेखेका थिए “राजा तान्सिहाङसँग भेट्न पाउनु मेरो जीवनकै ठूलो उपलब्धि हो I उनको देशको राज्यपद्धति देख्दा मलाई हाम्रो प्रणालीका धेरै कमजोरी थाहा भयो I त्यस्तो राजा र त्यस्तो समाज पनि हुँदोरहेछ I हजुरले भारत युद्धअघि कर्म, ज्ञान र मुनिभावको जुन विशेषता बताउनुभएको थियो राजा दुरुस्त त्यस्तै छन् I हजुरले पनि एकबाजी भेट्नु उचितै होला I” कृष्ण मनमनै नेपाल यात्रा गर्ने दृढ निश्चय गरेर उठे I

कृष्णले दाजु बलदेवलाई भने “दाज्यै ! म कहिल्यै नगएको देशमा जाने भएको छु I म त्यस्तो ठाउँमा जान उद्विग्न छु जहाँ मबाट अपेक्षा गर्ने कोही नहोस् र द्वेष गर्ने पनि कोही नहोस् I म आजपर्यन्त जहाँजहाँ गएँ त्यहीँत्यहीँ घेरामा परें I मैले कहिल्यै एकान्त र शान्ति पाउन सकिन I मलाई पालुबाङ भन्ने देशका राजाले निमन्त्रणा पठाएका छन् I म उनलाई चिन्दिन, किन्तु उनको बारेमा जानकारी छ I भारत युद्धको समयमा एकजना अन्जान देशको मानिस आएर पाकशालामा पात्रशुद्धि गर्ने कार्य गरिरहेको सूचना पाएको थिएँ I अहिले मलाई थाहा भयो ती अज्ञात व्यक्ति नै राजा तान्सिहाङ रहेछन् I

राजा तान्सिहाङ चार पाँचजना सहकर्मीसाथ् कृष्णको स्वागतार्थ देशको सीमान्तसम्म गए I कृष्णको लावालस्कर पनि ठूलो थिएन I कृष्णमा पहिले जस्तो ओज र उल्लास थिएन I सधै हँसिला र रसिला कृष्ण गम्भीर शान्त र धीर देखिए I उनी आफ्नो लावालस्करलाई त्यहीँबाट बिदा गरेर तान्सिहाङको लस्करमा मिसिए I कृष्णले आज जीवनमा पहिलोपल्ट सामान्य मानिसले जस्तो यात्रा गरे I न कुनै अभिनन्दन, न कुनै प्रशंसा, न कुनै खुसामद, तैपनि कति आत्मीय !

माघको महिना I तराईको न्यानो घाममा एउटा खुला चउरमा खाजा खाने बन्दोबस्त भयो I पालुबाङ राज्यको समथर भूमिका प्रजाले सक्खर, भुजा, दही र खुवा लिएर आए I सबै प्रजाले राजा र कृष्णलाई दुवै हात कम्मरमा राखेर टाउको झुकाएर अभिवादन गरे I राजाले पनि त्यसैगरी अभिवादन फर्काए I कृष्णले सबै प्रजालाई सादर नमस्कार गरे I राजा र कृष्ण आएका छन् भन्ने हल्ला सुनेका वृद्धवृद्धाहरु पनि बयलगाडा चढेर आए I वृद्धवृद्धालाई राजाले ससम्मान अभिवादन गरे I कृष्णमा फेरि आभा र कान्ति प्रकट भयो I न तामझाम, न हर्षबढाइँ न प्रार्थना न कुनै द्वेष I कृष्णले यस्तो साधारण र आडम्बरहीन राजा कहिल्यै देखेका थिएनन् I

पालुबाङको राजधानी I एक बास बीचैमा बसेर साँझ अबेर आइपुगे उनीहरु I अर्को दिन बिहान पाहुनाको स्वागत गर्न करिब एक सय सरकारी अधिकारी र वरिष्ठ नागरिकहरु जम्मा भए I राजा बस्ने घरको आङनमा गुन्द्रा, काम्ला र काठका कुर्सीहरू सजाएर राखिएको थियो I कृष्ण र राजा एउटा खाटमाथि बसे I राजाभन्दा वृद्ध अवस्थाका मानिसहरुलाई छुट्टै आसनमा बसालियो I

वृद्धवृद्धाहरुलाई राजाले उठेर शिरको टोपी माथि दुवै हात राखेर टाउको झुकाएर अभिवादन गरे I उपस्थित सबैलाई फापरको तात्तातो रोटी, मह, केरा र जरीबुटी राखेर पकाएको तातो पानी खान दिइयो I कृष्णले बडो मीठो मानेर फापरको रोटी र मह खाए I उनले भारत युद्धअघि बिदुरकहाँ प्रेमपूर्वक खाएको खानाको सम्झना गरे I एकजना वृद्धले कृष्णतिर हेर्दै राजालाई भनेका थिए “यी पाहुना देख्दै माया लाग्दा रहेछन् I यस्ता उज्ज्वल छवि र कान्तिले पूर्ण मनुष्यलाई स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो I यी हल्ला र हुलले हैरान भएका थकित व्यक्ति प्रतीत हुन्छन् I यिनलाई हाम्रो राज्यमा अवश्य पनि शान्ति र शीतलता प्राप्त हुनेछ I”

दिउँसोको खानापछि राजाले कृष्णलाई छालाको काम गर्ने ठाउँमा लिएर गए I काम गरिरहेका मानिसहरुलाई राजाले शिर झुकाएर सम्मान गरे I फेरि उनीहरु फलामको काम गर्ने, भाँडा बनाउने, डोको नाम्लो बुन्ने, घोडा स्याहार गर्ने, अन्न थन्क्याउने आदि ठाउँमा गए I राजाले सबैलाई ससम्मान अभिवादन गर्दै उनीहरुको कुशलक्षेम सोधे I फेरि उनीहरु एउटा पाठशालामा गए I त्यहाँ छात्रछात्राहरुलाई व्यावहारिक शिक्षा दिने काम भइरहेको थियो I कोही माग्ने मानिस थिएन, कोही जोगी थिएन, कतै हल्ला थिएन र कोही पनि राजाको पछि लागेर दौडेको या डराएको देखिएन I

साँझको खानापछि I राजाले कृष्णलाई शयनकक्षमा लिएर गए I एक बित्ता अग्लो खाटमाथि सिमलको भुवाबाट बनेको पातलो खालको लम्पट I सिमलको भुवाबाटै बनेको बाक्लो सिरक I सतीसालको सानो पात्रमा पानी I कृष्णले राजातर्फ हेर्दै भने “हामी दुई भाइ एउटै कक्षमा सुते कसो होला I तपाईंको देशमा मेरा लागि रात पनि आफ्नो हुने ठानेको छु I तपाईंसँग धेरै कुरा गर्नु छ I धेरै सुन्नु छ र धेरै सुनाउनु पनि छ I हृदयमा जेलिएर रहेका धेरै गाँठा फुकाएर हलुका हुनु छ I” राजा आफै गएर आफ्नो लागि खाट र विछ्यौना लिएर आए I राजाले भने “मेरो मनमा पनि धेरै गाँठा छन् I मैले जानेको संसारमा मेरा गाँठा फुकाउन सक्ने तपाईं बाहेक कोही छैन I राजा युधिष्ठिरमा पनि ज्ञान त प्रचुर रहेछ, तर उनी आफ्नो आदर्शको भारीले किचिएका I पश्चाताप, कुण्ठा र गर्न चाहेर पनि गर्न नसकेका धेरै कुराको बोझले उनको मति भ्रमित रहेको पाएँ I”
राजा तान्सिहाङ – मलाई पनि अर्जुनलाई जस्तै उपदेश दिनुहोस् !

कृष्ण – अर्जुन मलिन थिए तपाईं उज्ज्वल, अर्जुन शोकाकुल तपाईं अशोक, अर्जुन भीरु तपाईं अभीरु, अर्जुन मोहग्रस्त तपईं निर्मोह निरुपम I अर्जुन मेरो अधीनमा थिए तपाईं स्वतन्त्र I अर्जुनलाई हरेक कुरामा मेरो भर थियो I तपाईंलाई कसैको भरको आवश्यकता छैन I अर्जुन मेरो सखा भए तापनि वृक्षमा बेरिएर चढेको तरु जस्तै हुन् I वृक्षको अस्तित्वमा आफ्नो अस्तित्व निर्भर गर्ने I तपाईं र म बराबरीमा छौं I बराबरीमा सल्लाह र प्रेरणा दिन सकिन्छ किन्तु अर्ति उपदेश दिन र अधीनमा राख्न सकिदैन, मिल्दैन I अर्जुन पण्डित होइनन्, केवल पण्डित जस्तो भान पर्दछन् I तपाईं पण्डित हुनुहुन्छ I शब्दजालरहित निर्दोष शिशु जस्तै निर्मल !

राजा – तपाईं आत्माको कुरा गर्नुहुन्छ I मलाई बडो दुष्कर र कठिन लाग्छ त्यो I म त पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र मन मात्र बुझ्दछु I यस बाहेक मैले बुझेको भनेको कुनै शक्ति छ जो यो जगतको निर्माण र विनास गर्दछ I मलाई त्यो अज्ञात र दुरुह अस्तित्वलाई खोजेर कहीँ पुगिन्छ भन्ने लाग्दैन I भगवान भनेको सत्य, अहिंसा, निर्लोभ, स्वार्थत्याग नै होइन र ? म त यति मात्र बुझ्दछु प्रत्येक जीव जहाँबाट आएको हो अन्तमा त्यहीँ गएर लीन हुन्छ I मलाई आत्मासम्बन्धी व्याख्या पढ्दा अत्यास लाग्छ I किन्तु त्यसलाई वर्णन गर्ने तपाईंको शैली र चातुर्य अद्भूत छ I

कृष्ण – मेरो वर्णनशैली कसरी थाहा पाउनुभयो I

राजा – आउँछन् नि दक्षिणतिरबाट जोगीजङ्गमहरु I एकजना आएका थिए अद्भुत जोगी I कालो वर्ण, लट्टा पालेका, उमेर ढल्के तापनि बलिष्ठ र तेजिला I महाभारत सकिएपछि आएका थिए I यत्रो नरसंहारको के प्रयोजन थियो ? भनेर सोध्दा ‘सब उसैको प्रपन्च हो’ भन्दै आकाशतिर हेरे I मैले नाम सोध्दा ‘मेरो नाम छैन म अनाम हुँ’ भने I दुई चारदिन बसेपछि मलाई उनकै हस्तलिखित चारओटा ठेली दिए I मलाई संस्कृत पनि सिकाए I अनि रिपडी वनको गुफामा छ महिना ध्यान गरेर फर्के I तिनै ठेलीमा छन् तपाईंका व्याख्यानहरु I

कृष्ण – उनी व्यास हुन् I

राजा – मैले भनेको कुरामा खोट भए सच्याइदिनुहोस् !

कृष्ण – तपाईंले बुझेको ठीक छ I हामी जुनसुकै कुराको विस्तृतीकरण गर्दछौं, तपाईं सोझो र सपाट तरिकाले भन्नुहुन्छ I तपाईंले भन्नुभयो नि ! प्रत्येक जीव जहाँबाट आएको हो अन्त्यमा त्यहीँ गएर मिल्दछ, त्यती बुझ्नु काफी छ I त्यही नै सनातन अविनाशी ब्रह्म हो I आत्मा, परमात्मा र जीवबीचको सम्बन्ध तपाईंले बुझेको सत्यको विस्तारित रुप मात्र हो I

राजा – तपाईंले भन्ने गरेको कर्मयोग के हो ?

कृष्ण – काम, क्रोध, लोभ, मोह, मद् र मात्सर्य जस्ता रिपूहरुलाई टाढै राखी आफ्नो विहित कर्ममा सरिक हुनु नै कर्मयोग हो I ममता, आसक्ति र पक्षपातले प्रेरित भएर गरेको कर्मले सत्कर्ममा जोडिन दिँदैन I त्यस्तो व्यक्तिले जति नै श्रम गरेर पसिना बगाए तापनि त्यो कर्मयोगी हुन सक्दैन, केवल कर्मी मात्र हुन्छ I कर्मयोग भनेको आफ्नो कर्म गर्दा ममत्वभावको परित्याग गरेर समत्वभावमा प्रवेश गर्नु हो I कर्मफलको अतिशय कामनाले फल प्राप्त भए तापनि सन्तुष्टि दिन सक्दैन I पुनः पुनः लोभ र ममत्वले गर्दा समय घर्केको पनि ज्ञान हुँदैन I

आफ्नो योग्यता, क्षेमता, दक्षता र पात्रताको आधारमा आफूले गर्नुपर्ने कर्ममा जोडिनु नै कर्मयोग हो I आफ्नो क्षेमता र पात्रताले नभ्याउने, बल बर्कतले नसकिने, असम्भव, निन्दनीय र समाजविरोधी कर्ममा जुट्नु कर्मयोग होइन I शालीनता, दर्पको अभाव, पारुष्य ( रुखो र कय्होर वचन) को अभाव र सदाचार नै कर्मयोगाका आभूषण हुन् I यसैलाई समत्वयोग, बुद्धियोग र तदर्थकर्म पनि भनिन्छ I

राजा – तपाईंले हर्ष शोकादि द्वन्द्वको कुरा गर्नु भएको छ I त्यो द्वन्द्व के हो ?

कृष्ण – तपाईं आफै निर्द्वन्द्व हुनुहुन्छ I तपाईंमा एकत्वभाव छ I जसमा एकत्वभाव छ त्यसलाई द्वन्द्वभाव यस्तो हो भनेर कसरी सम्झाऊँ ? बरु तपाईंलाई केही प्रश्न गर्दछु, उत्तर दिनुहोस् !

कृष्ण – तपाईंलाई कुनै कुराले हर्षित बनाउँछ ?

राजा – अप्रत्याशित सुखद उपलव्धि भयो भने मनुष्य हर्षित हुन्छ I अपेक्षित परिणाममा केको हर्ष ? तर अनपेक्षित नकारात्मक परिणामले दु:खी तुल्याउँछ I कुनै किसानको गोठमा भैंसी ब्याउँदा ऊ सन्तुष्ट हुन्छ तर हर्षित हुँदैन I किन्तु गर्भादान भएर पनि भैंसी ब्याएन भने किसान दु:खी हुन्छ I मानिस ‘म सन्चै छु’ भनेर सन्तुष्ट हुन्छ तर हर्षित हुँदैन I किन्तु बिरामी पर्दा दु:खी हुन्छ I मलाई व्यक्तिगत मामिलाको हर्ष र दु:ख कस्तो हुन्छ थाहा छैन I

कृष्ण – कसैले आफ्नो प्रशंसा गरिदिए हुँदोहो जस्तो लाग्छ ?

राजा – लाग्दैन I मेरो राज्यमा राजाको प्रशंसा गर्ने परम्परा छैन I राजाको कामको समीक्षा गर्ने प्रचलन भने छ I  जहाँसम्म निन्दाको कुरा छ, मसँग के छ र निन्दा गर्न लायक ! मेरो सम्पत्ति छैन, घर छैन, कसैलाई केही दिनु छैन न केही लिनु I न मबाट कसैले केही व्यक्तिगत फाइदाको आशा गर्छ न म I

कृष्ण – सम्मान, अभिनन्दन, मीठो खाना, राम्रो नाना केहीको इच्छा हुन्छ ?

राजा – हुँदैन I यी सबै कुरा तपाईंतिरका हुन् I के बापत सम्मान् गर्ने राजालाई ? आफ्नो विहित कर्तव्यपालन गरे बापत ? तर दिवङ्गत राजाहरुलाई सम्मान गर्ने परम्परा छ I खाना मीठो – नमीठो हुँदैन वासुदेव ! मीठो भनेको व्यक्तिगत रुची र भोकको अवस्था अनुरुप हुने हो I खाना भोक र भोजनबीचको सम्बन्ध मात्र हो I लुगा पनि अरुको भन्दा विशेष लगाउने परम्परा छैन I त्यस्तो रहर पनि लाग्दैन I

कृष्ण – सुख दु:ख, लाभ हानी, मानापमान, कीर्ति अकीर्ति, हर्ष शोक, अनुकूल प्रतिकूल, संयोग वियोग आदि घटनामा समत्व कायम हुन नसकी मन अशान्त र क्षुव्ध हुनु नै द्वन्द्व हो I तपाईंलाई योभन्दा धेरै भन्नुको प्रयोजन छैन I

कृष्ण बिहानै उठे I राजाले दुवै जनाका लागि नुहाउने बन्दोबस्त गरे I नित्यकर्म सकेपछि कोदाको रोटी, मह, दूध र फलफूल खाएर कृष्ण एक्लै घुम्न निस्के I ठाउँठाउँमा भारी बोकेर आउनेहरुका लागि भारी बिसाएर सुस्ताउने ठाउँ, ठूला ठूला माटोको भाँडामा पिउने पानीको व्यवस्था, बालबालिकालाई खेल्ने ठाउँ, वृद्धवृद्धाहरुका लागि घाम ताप्ने ठाउँ I खेलिरहेका बालबालिकाहरुले दुवै हात कम्मरमा राखेर टाउको झुकाउँदै कृष्णलाई अभिवादन गरे I एक ठाउँमा वृद्धवृद्धाहरुले घाम तापिरहेका थिए I एकजना वृद्धले कृष्णलाई हातले इशारा गरेर बोलाए I कृष्ण के देख्छन् भने कुनै पनि वृद्ध खाली बसेको छैन I आपसमा गफ गर्दै कोही धागो कात्दै, कोही पात गाँस्दै, कोही बिस्कुन सुकाउँदै I आँखा, हात र कान कमजोर भएका वृद्धवृद्धाहरु मात्र उंघेर बसिरहेका थिए I

वृद्ध – कति राम्रो माया लाग्दो पाहुना !

कृष्ण मुसुक्क हाँसे I

अर्की वृद्धा – अलि अघि एकजना युधिष्ठिर भन्ने राजा आएका थिए I कहाँका हौ ? भनेर सोधेको टाढाबाट आएको पाहुना हुँ भन्थे I साह्रै असल पाहुना थिए ती I तपाईं त युधिष्ठिरभन्दा पनि मायालाग्दा ! राम्रोसँग खानुहोला, राम्रोसँग सुत्नुहोला I मान्छेलाई जहिलेसम्म निद र भोक लाग्छ तहिलेसम्म सन्चै छ भनेर बुझ्नु भन्छन् I यहाँको पानी धेरै पोसिलो छ, धेरै पानी पिउनू I तल फाँट र नदीतिर झन् रमाइलो छ, घुम्न गए हुन्छ I

साँझ I
राजनिवासको प्राङ्गणमा सांस्कृतिक कार्यक्रमको आयोजना भयो I मीठामीठा लोकलयमा युवा- युवती र केटाकेटीहरु नाचे I कृष्णले राजालाई सोधे “यिनीहरु नाच्ने गाउने पेशा गर्छन् ? धेरै नै व्यावसायिक र दक्ष गायक – गायिका र नर्तकहरु रहेछन् तपाईंको राज्यमा I” राजाले भने “होइन I यीमध्ये कोही दिनभरि छालाको काम गरेका, कोही फलाम पिटेका र कोही शिक्षक- शिक्षिका हुन् I यहाँ सबै गायक छन्, सबै कलाकार I म पनि नाच्न गाउन सिपालु थिएँ I अहिले पो बूढो भैयो र !” कृष्ण र राजा पनि नाचे I कार्यक्रम एक घन्टामै सकियो I

शयनकक्षमा I
कृष्ण गम्भीर भएर खाटमा बसेका छन् I उनको अनुहार फुङ्ग उडेको छ I

राजा – के भयो ? मबाट कुनै कमजोरी भयो कि ? खाना राम्रो लागेन कि ? कसैले केही कुवाच्य बोल्यो कि के भयो ?

कृष्ण – देशको सम्झना आयो मित्र !

राजा – अहो ! तपाईंको त परिवार पनि ठूलो छ I

कृष्ण – धेरै उन्मत्त भयो मित्र मेरो कुटुम्ब I मैले धेरै सम्झाएँ बुझाएँ तर केही लागेन I धन, मान र सौन्दर्यले उन्मादी भए सबै I टाढाका शत्रु जति मैले दमन गरिदिएँ I मेरा बन्धुबान्धवहरुमा आपसमै शत्रु खोज्ने सिलसिला छ I हेर्नुहोस् त मित्र ! मैले सृजना गरेको वैभवमा पौडेर मैलाई नटेर्ने भए I जीवनभरि दुनियालाई सम्झाउँदै र बुझाउँदै यतिका समय बितेर गयो I किन्तु मेरा मन्दभागी उद्दाम र उद्धत बन्धुहरुको चाला देखेर साह्रै सन्तप्त भएको छु I बाल्यकालदेखि नै संघर्षपूर्ण जीवन बिताउनु परे तापनि म सधै हँसिलो र खुसिलो देखिएर बिताएँ I मेरो छवि पनि अशोक र असन्तप्त पुरुषकै बन्यो I मैले कसैको अगाडि पनि मलिन र शोकग्रस्त अनुहार देखाइन I तर म मेरो परिवारसँग हारें I मैले मेरो कुटुम्बलाई समयको जिम्मा लाउने बिचार गरेको छु I

कृष्णका आँखा आँसुले भरिए I कृष्णको आँखामा आँसु देखेर राजा तान्सिहाङ पनि रोए I

कृष्ण – म त मेरो दुर्भाग्यमा रोएँ, तपाईं किन रुनुभयो ?

राजा – जुन महापुरुषले जस्तै विपत्तिमा पनि हाँसेरै जीवन बितायो, जसलाई लोकले सर्वकालज्ञ भनेर सम्मान गर्छ, जसको आँखामा आँसु छ भनेर कसैले विश्वास गर्दैन त्यस्तो परिणामदर्शी व्यक्ति रोएको देख्दा को कठोर भएर बस्न सक्छ ? तपाईंलाई आफ्नो परिवारको अवस्था यस्तै हुन्छ भन्ने थाहा थियो सायद, तैपनि तपाईं रुनुभयो I

कृष्ण – हो मित्र I यो अवश्यम्भावी थियो तर निमित्त बनेर जुन कारणले काम गर्ने भयो त्यो दु:खदायी छ I यिनीहरु आपसमै लडेर सकिने भए I अभिशप्त हतभागीहरु !

राजा – मेरो परिवार छैन, कुटुम्ब छैन, बन्धुबान्धव छैनन् I मलाई पनि आफ्नो जीवन देखेर उदेक लाग्छ I आज तपाईं रोएको देख्दा मैले पनि मभित्र दबेर बसेका रुने कारणहरु भेट्टाएँ I किन्तु तपाईं र म जस्तो मनुष्यलाई रुने सुविधा पनि छैन I

आज यी दुई महापुरुष रोएको यी दुई बाहेक कसैले देखेन I यिनीहरु पनि रोए होलान् भनेर भविष्यले समेत विश्वास गर्ने छैन I

अर्को दिन बिहान I
नित्यकर्म सकेर दुबैजना खाने ठाउँमा गए I उसिनेको वनतरुल, पोलेको पिंडालु, घिउ र फलफूल खाएर कृष्ण तृप्त भए I

कृष्ण – मित्र ! आज मलाई अपूर्व सन्तोषको अनुभूति भयो I आफ्नो मनको पीडा र दर्द बुझ्ने र महसुस गर्ने व्यक्तिलाई सुनाउन पाउँदा मनै हलुङ्गो हुँदो रहेछ I दु:ख बाँड्न योग्य पात्र कहाँ कुन दूरदेशमा छ कसलाई के थाहा !

आज तपाईंसँग एउटा कुरा जान्न मन लाग्यो I तपाईंलाई व्यासले ठेली नै दिएका रहेछन् I संस्कृत पनि सिक्नु भएछ I तपाईंलाई असङ्गत लागेका र मनमा खट्केका कुरा के रहेछन् भन्ने थाहा पाउन मन लाग्यो मलाई I

तान्सिहाङ – तपाईं मेरो माननीय अथिति हुनुहुन्छ I अतिथिसँग उसकै संस्कृतिको आलोचना गर्नु मर्यादा विपरित हुन्छ भनेर कतै तपाईंले नै भन्नु भएको छ I फेरि मैले युधिष्ठिरसँग मलाई लागेका कुरा भनिसकेको छु I सायद थाहा पाउनुभयो होला I

कृष्ण – गलत भावना लिएर र हेपेको महसुस हुने गरी पो भन्न हुँदैन, सुझावको रुपमा त्यो पनि सल्लाह मागेपछि भन्नु कूटनीतिक मर्यादाभित्रै पर्दछ I सबैलाई आफ्नो रीति र परम्परा प्यारो हुन्छ I आफूभित्रको कमजोरी अरुले भनेर थाहा हुन्छ I

राजा – नराधिप कुले जात महिषी त्वं महीपते
उप्रत्वं राजधर्माणा कथं देवी न बुध्यते

“हे देवी तिमी राजकुलकी छोरी हौ र राजाकी महारानी पनि हौ I तथापि राजधर्मको उग्रता कस्तो हुन्छ भन्ने किन बुझ्न नसकेकी ?” यी मन्थराले कैकेयीलाई उक्साएका शब्दहरु हुन् I मन्थरा भन्छिन् – “तिम्रा पति राजा दशरथ बाहिर जति नम्र छन् भित्र त्यति नै क्रूर I” मन्थरा अगाडि भन्छिन्

यदा च राम: प्रिथिवीमवाप्यते
प्रभूतरत्नाकरशैलसंयुताम्
तथा गमीष्यस्य शुभं पराभवं
सहैव दीना भरतेन भाविनी

जब राम राजा हुनेछन्, पुत्र भरतको साथमा दीन र हीन जीवन बिताउन वाध्य हुनेछौ I यस्तै अनेकौं उक्साहट सुनेपछि कैकेयी जस्ती विदुषी पनि पुत्रमोहको वशमा परेर गलत कदम चाल्न तयार भईन् I

राजा दशरथ राजाकाज जस्तो मामिलामा सत्यवादको आडम्बर समातेर अन्यायको मार्गमा चल्न कसरी तयार भए होलान् ? पितामह देवव्रतले कामुक बाबुको इच्छा पूरा गर्न त्यस्तो भीष्म प्रतिज्ञा गर्नु आवश्यक थियो ? जब आफ्नो प्रतिज्ञाको बन्धनमा बस्न तयार भएपछि बारम्बार पश्चाताप गर्नु के आवश्यक थियो ? जुवामा अवश्य हार्छु भन्ने थाहा हुँदाहुँदै युधिष्ठिर जस्तो बुद्धिमान व्यक्ति किन जुवा खेलेको ? पति दृष्टिविहीन भयो भन्दैमा गान्धारीले किन पट्टी बाँधेको होला ? दशरथको राज्यमा सबै सुखी र सम्पन्न थिए पनि भन्ने र दान लिनका लागि तँछाड मछाड हुनु अचम्म होइन ?

राजा जनक त न्यायप्रेमी र प्रजावत्सल हुन् भनिन्छ तर उनले सीतालाई लाखौँ गाई र दाइजो कहाँबाट ल्याएर दिए होलान् I महँगा रेसमी कपडा र सुनचाँदी मात्र होइन जनकले सयौं युवतीहरु समेत दाइजोमा पठाएको पढ्दा आश्चर्य लाग्यो I न्याय भन्ने कुरा शासक र उनका आसेपासेको परिभाषा मात्र साबित भयो I सीतालाई बारम्बार परीक्षा दिनुपर्ने तर पुरुषहरु स्वतः उत्तीर्ण हुने ? गुरु द्रोणले एकलव्यको बूढीऔंला माग्नु के न्याय थियो ? ‘जनप्रेमी’ राजाहरुले असङ्ख्य दास र भित्रिनी राख्नुको मतलब के हो ?

विचार गर्दा दशरथ र युधिष्ठिर सत्यको आडम्बरले, पितामह भावुक प्रतिज्ञाले, धृतराष्ट्र भाग्यले, कर्ण अन्याय र अनुग्रहले, गुरुहरु नूनले, दुर्योधन अभिमानले, दु:शासन असीम भ्रातृभक्तिले, एकलव्य र बिदुर विभेदले, शल्य भावुक आतिथ्यले , अभिमन्यु अनुभवहीन किशोर वयको जोस र अन्यायले , कुन्ती गल्तीको लाजले र द्रौपदी कुवाच्यका कारण दुख पाएका, बिग्रेका, वन्चनामा परेका या बदनाम भएका पात्रहरु हुन् I यस्ता कुरालाई विधिको विधान मात्र भनेर टार्न मिल्छ र वासुदेव ? यसमा कथित सभ्यता, समाज, सामाजिक विभेद र झूटो कुलीन अहङ्कारको ठूलो हात छैन र ?

कृष्णले राजालाई हेरिरहे I कृष्णले भने “यसरी हाम्रो सभ्यताको अकाट्य रुपले पर्दाफास गर्ने हिम्मत तान्सिहाङ जस्तासँग मात्र हुन्छ I”

राजा – योग र क्षेम भनेको के हो ?

कृष्ण – योग भनेको अप्राप्त वस्तुको प्राप्ति र क्षेम भनेको त्यसको रक्षा हो I

राजा – हे मित्र ! तपाईंसँग भेट हुनु मेरा लागि ठूलो अवसर हो I स्थितप्रज्ञ के हो ?

कृष्ण – स्थितप्रज्ञ भनेको तपाईं जस्तै मनुष्य हो I मनुष्यलाई आफ्नो शरीर, मान – प्रतिष्ठा, धन, परिवार, आदि सबै कुरा सधै आफूले सोचे जस्तो रहे हुँदोहो जस्तो लाग्छ I तर जीवन सधै अनुकूल मात्र कहाँ हुन्छ ? अप्राप्ति या प्राप्तिको समाप्तिमा मनुष्य क्रोध, क्षोभ, ईर्ष्या आदिले ग्रस्त हुन्छ I प्राप्त भएका कुरा सबै नश्वर हुन् आज छन् भोलि छैनन् I यिनै नश्वर कुराहरुको प्राप्तिको तीव्र इच्छा नै वासना हो I अमुक कुराबिना त जीवन नै चल्न कठिन छ भन्ने भावना स्पृहा हो I आफूले पाएको कुराले नपुगेर अझै धेरै कुराको इच्छा गर्नु तृष्णा हो I यिनै सारा कुरामा गहिरो लगाव आसक्ति हो I यी सबै कुराको वासस्थान मन हो I मन नै समग्र विकारको केन्द्र हो I यस्ता वस्तु या सेवा प्राप्त हुँदा अहङ्कार नगर्नु र गुम्दा पनि समभावमा रहनु, मान अपमान, प्राप्ति अप्राप्ति, संयोग वियोग, अनुकूल प्रतिकूल आदि जुनसुकै अवस्थामा पनि समान भावमा रहनु नै स्थितप्रज्ञता हो I

राजा – मुनि के हो ? तपाईंले जसरी मुनिको परिभाषा दिनुभयो त्यसबाट अर्जुन सन्तुष्ट भए ?

कृष्ण – अर्जुन आफ्नो सुविधा अनुसार सन्तुष्ट भए I मैले अर्जुनलाई भनेको मुनिको धेरै लक्षण तपाईंमा छन् I

या निशा सर्वाभूतानां तस्यां जार्गति संयमी
यस्यां जाग्रती भूतानी सा निशा पश्यतो मुने:
संयमी भनेकै स्थितप्रज्ञ हो I ज्ञानीका लागि के दिन के रात I जब सारा संसारको लागि रात हुन्छ मुनिको लागि त्यही दिन हुन्छ I सारा जगतका लागि जुन दिन हुन्छ मुनिका लागि त्यो रात समान हुन्छ I मुनि शान्त र स्थिर हुन्छ I मुनिका लागि सुख र दु:खको अस्तित्व छैन I मुनिको न कोही मित्र न शत्रु I मुनि व्यक्तिगत हितभन्दा माथि हुन्छ I मुनि कसैको नजिक या टाढा हुँदैन I मुनिले मिथ्याचार गर्दैन I मुनिले स्वागत सम्मान र अभिनन्दनको अपेक्षा गर्दैन I मुनि काम, क्रोध, लोभ, मोह, मद्, मात्सर्य, राग र द्वेषबाट टाढा हुन्छ I

साधारण मनुष्यले थालमा पस्केको भातलाई एक छाक भातको रुपमा हेर्दछ I मुनिले त्यही भातमा बीजको महत्व र किसानको पसिना देख्छ I उसले खाद्य सुरक्षा र भोकको महत्व बुझ्दछ I साधारण मनुष्यले महलाई एउटा गुलियो द्रवको रुपमा हेर्दछ भने मुनिले माहुरी, वन र उपवनको महत्व बुझ्दछ I साधारण मनुष्यले समृद्धि र सुखलाई आजको दृष्टिकोणले हेर्दछ भने मुनिले भविष्यको सन्ततीका लागि सम्पदाको जगेर्नालाई र प्राकृतिक सन्तुलनलाई समेत जोड दिन्छ I

राजा – बडो जन्जाल छ मित्र तपाईंको विद्यामा ! म त के ठान्दछु भने तपाईंहरु ससाना कुरामा यति तर्कवितर्क र विसदीकरण गर्नुहुन्छ कि साधारण मनुष्य भ्रममा पर्दछ I सत्य बोल्नुपर्छ भन्नका लागि तपाईंहरु ठेली तयार गर्नुहुन्छ I तर जे होस् मलाई मुनिको लक्षण साह्रै राम्रो लाग्यो I

कृष्ण – तानि सर्वाणि संयम्य युक्त आसीत मत्पर
वशे ही यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता

जसका इन्द्रियहरु संयमित हुन्छन् उसैको बुद्धि पनि स्थिर हुन्छ I अर्जुनको मति ठेगानमा थिएन I चित्त स्थिर थिएन I कि युद्ध मैदानमै जानु हुन्नथ्यो, गइसकेपछि विचलित हुनु हुन्नथ्यो I पहिल्यै थाहा थियो कि युद्ध जित्नका लागि पितामह, गुरु, मामा, साला, मित्र र नजिकका बन्धु लगायत कुटुम्बलाई मार्नु पर्नेछ I उनी युद्ध भूमिमा पसेर विचलित भए I केही गर्दा पनि नबुझ्नेका लागि हो यो सबै जन्जाल I

तपाईं वस्तुवादी हुनुहुन्छ I सिधा कुरा मात्र गर्नुहुन्छ I हाम्रो उताको सभ्यता धेरै आत्मवादी छ I उता समाजका विचलित मनुष्यलाई कुरो बुझाउन धेरै ठेली तयार भए I विद्वानहरुले फेरि महसुस गरे होइन यो लम्बेतान जन्जालले जीवनलाई झनै जटिल बनाउँदो रहेछ I अचेल फेरि सरलता र सहजतालाई अपनाउनु आवश्यक रहेछ भन्ने महसुस हुन थालेको छ I शास्त्र धेरै हुँदा तिनैमा जेलिन थाले मानिसहरु I आफ्नो सुवीधा र स्वार्थ अनुसार अर्थ लगाउन थाले I मानिसको बुद्धि अस्थिर र भ्रमित हुनथाल्यो I उता पनि चाहेको त तपाईंको देशको जस्तै समाज हो तर धेरै विलम्ब भइसक्यो I

राजा – मलाई आश्चर्य लाग्छ I तपाईंहरुले सरल र सुखी मनुष्यलाई मृत्यु भयङ्कर हुन्छ भनेर डराउन दिनुभयो I जनताले सरोकारै नगरेको कुरा सीकाउनु भयो I तपाईंहरुको दर्शनले कहिल्यै नभेटिने मृत्युलाई बत्ती बालेर खोज्न थाल्यो I फेरि भन्न थाल्नुभयो, मृत्यु अवश्यम्भावी छ, तर यसलाई जित्नुपर्छ I यहीनेर मनुष्य भ्रमित र त्रसित भयो I पहिले मृत्युको डर देखाएर थराहरी पारे, केही सीप नलागेपछि नडराऊ केही होइन भन्न थाले I
मलाई त कस्तो लाग्यो भने जति धेरै जान्न खोज्यो त्यति नै अँध्यारो सुरुङ्भित्र पुग्यो I तथापि तपाईंको दर्शनले मानिसलाई जिज्ञासु बनाउँछ I त्यही जिज्ञासाले नयाँनयाँ खोज गर्न प्रेरित गर्दछ I हाम्रो जिज्ञासा प्राकृतिक मात्र छ I हामी सरल तरिकाले खोज्दछौं I त्यसैले होला हामी बुद्धिवादी नभएर वस्तुवादी भएको I

अब मलाई डर लाग्न थालेको छ मित्र ! संसार परिवर्तनशील छ I आजको समयमा विभिन्न देशमा नकारात्मक परिवर्तन हुँदै गएको पाउँछु म I कथित उन्नत सभ्यताहरू आफ्नो बोझ आफै धान्न असमर्थ हुँदै छन् I कुरुवंशको सर्वनास र तपाईंको वंशमा छाएको उन्माद त्यसैको प्रमाण हो I अब निकट भविष्यमा ती सारा सामाजिक रोग हाम्रो समाजमा पनि छिर्ने सम्भावना छ I

दुई तीन वर्षअघि हिमाल पारीको ठूलो देशको एकजना फिरन्ते आइपुग्यो I उसले मलाई भन्न थाल्यो “राजा पनि यसरी बस्ने हो ? यसैगरी बस्न राजा भएको हो तिमी ? यो देशको सबै सम्पत्ति तिम्रो हो, जनता तिम्रा रैती हुन् I” फेरि भन्यो “यस्तो सम्पन्न देश यति नजिकै रहेछ, हाम्रो सम्राटलाई भन्नुपर्छ I अब छिट्टै तिमीहरु हाम्रो सम्राटको अधीन हुनेछौ I” त्यसलाई केही गरौँ भने ठूलो राजाले देश खोज्न पठाएर आएको थियो I ठूला राजा र शासकहरु सबै अहङ्कारी छन् मित्र ! उत्तरका पनि दक्षिणका पनि I धन्न त्यो फिरन्ता हिमाल पार गर्नासाथ चितुवाको शिकार भयो I

दक्षिणबाट त झन् धेरै जोगीहरु आएर उकास्न थाल्छन् I राजा भगवानको अवतार हो भनेर भ्रमित पार्ने प्रयत्न गर्छन् I एकदिन एकजना आएर भन्यो ‘तपाईंका प्रजालाई प्रशिक्षणको आवश्यकता छ I’ के प्रशिक्षण दिनुहुन्छ भनेको त के भन्छ भने ‘सत्य, अहिंसा, चोरी नगर्नु, कसैको सम्पत्ति नाखोस्नु, वृद्धवृद्धालाई सम्मान गर्नु , आपसमा मिलेर बस्नु आदि कुरा सिकाउने’ भन्यो I मैले भने ‘मेरा प्रजाले यी सबै कुरा जन्मजात सिकेका छन् I चोरी के हो भन्ने नै नजानेकोलाई चोरी नगर्नु भनेर सिकाउनु भनेको चोरी गर्न सिकाए जस्तै हो I जन्मसिद्ध कसैको सम्पत्तिमा आँखा नलाउनेलाई त्यो सिकाउनु भनेको आँखा लाउनु पर्छ भनेर सिकाए जस्तै हो I सहजभावले वृद्धवृद्धाको सम्मान गर्नेलाई सम्मान गर्नुपर्छ भनेर सिकाउनु भनेको सम्मान नगरे पनि केही फरक पर्दैन भनेर सिकाए जस्तै हो I’

तपाईंको तिर सिकाउने गरेको नकारात्मक नैतिक शिक्षा देखेर मलाई आश्चर्य लाग्छ I

छ महिनाअघि उत्तरबाट एउटा भगोडा आयो I लगातार छ महिना दौडेर आएको उसको हालत साह्रै खराब थियो I त्यहाँ सम्राटको मृत्यु भएको रहेछ I सम्राटको शवयात्रामा पर्ने बाटोमा जो भेटिन्छ त्यसलाई समातेर सती पत्थाउने चलन रहेछ त्यहाँ I ऊ त्यही बाटोमा फेला पर्यो I त्यस्ता समातेर मार्न ल्याएका असंख्य थिए त्यहाँ I ऊ कसैगरी फुत्केर भागेको रहेछ I अहिले यहीं खानीमा काम गरेर बसेको छ I मेरो देश दुबैतिरबाट खतरामा छ मित्र ! आजसम्म जेनतेन चोखो छ तर लक्षण राम्रो छैन I यसबारेमा मैले युधिष्ठिरसँग पनि कुरा गरेको थिएँ I

कृष्ण – मलाई एउटा कुरामा तीव्र जिज्ञासा भयो मित्र ! के यहाँको समाजमा झगडा नै हुँदैन ?

राजा – हुन्छ I भयानक झगडा हुन्छ, विशेष गरेर विवाह र यौनको मामिलामा घमासान पर्छ I कुनै सालमा ऋतु अनुसारको वर्षा भएन भने खाद्यान्नका लागि झगडा पर्छ I हामीले ठूलाठूला गोदाम बनाएर सहकालको वर्षको अन्न थन्क्याउने परम्परा कायम गरेर समस्या निराकरण गरेका छौं I तर मेरो देशमा एउटा कुरा सजिलो छ I राजासँग आफ्नो भन्ने केही र कोही नहुने हुँदा राजकाजमा सहजता छ I

कृष्ण जम्मा दश दिन मात्र बसे I तान्सिहाङले भनेका थिए “ मलाई अद्वैत दर्शन, ज्ञानयोग, सगुण र निर्गुण आदि विषयमा सुन्ने इच्छा थियो I तर समयले साथ दिएन I” कृष्णले भने “मेरो प्यारो मित्र ! मसँग समय थोरै छ I अब तपईं र म दुबैको समय सकिनै लग्यो I तपाईं शान्तसँग जानुहुनेछ तर मेरो गमन बडो अशान्त र बीभत्स हुनेछ I तपाईंको चरित्रको गाथा भविष्यमा कसैले गाउने छ, कसैले लेख्नेछ I”
बिदाइको बेलामा फेरि दुबैका आँखा रसाए I

प्रतिक्रिया दिनुहोस