साधुनाथ बा पनि काठमाडौँ पुगे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साधुनाथ बा पनि काठमाडौँ पुगे


६ कार्तिक २०७७, बिहिबार


आज साधुनाथ बा धेरै खुसी छन् I नयाँ सिलाएको सेतो सुरुवाल, सेतो कमिज र सेतै टोपी I तीन महिनाभन्दा बढी समयपछि दारी जुँगा काटेको हुँदा बाको अनुहार चिल्लो र गोरो देखिएको छ I नयाँ कालो छालाको जुत्ता अलि कसिलो भएछ I थोरै हिड्न गाह्रो छ बालाई I

बा तम्घास बसस्टेसन पुगे  I छाड्न आएका सहयोगीले भने – अलि होस राख्नु है साधु दाइ ! बर्ता बाठो नहुनू I ऐलेको जमाना खराब छ I ज्यान र धन जोगाउन मुस्किल जमाना हो यो I पुगेपछि खबर गर्नू नि ! फेरि उतैको स्वादमा लागेर घर बिर्सौला I

साधुनाथ बा – ल हुन्च बाउ ! ज्यान धन सप्पै जोगाएर आउचु I बरु भैंसीको राम्रोसँग सुसार गरेस् I सबै दूध तिमीहरुले नै खानू I घिउ सङ्लो भनी पनि  तिमीहरु नै खानू I अमिलाका गेडा प्याँलिन थाल्याछन् I केटाहरुलाई हान्न झार्न नदिनू I खानी भए बरु मागओ , ढुंगाले नहानओ भन्नू I डाँडाओ सहसेकहाँ पाल्न देको पाडी बेउनी बच्चो आइसको I ब्याएपछि एक मैना तैंले नै दूध खा गरे भन्दिनू I

बा बसको सिटमा बसे I स्टार्ट गरेर राखिछाडेको बस घ्यारघ्यार आवाज गर्दै हल्लिरहेको थियो I बा आँखा चिम्लेर अतीतमा पुगे I आफ्नो जवानीको समयमा वर्षभरि जम्मा गरेको घिउ लिएर बुटवल जान्थे उनी I घिउ बेचेको पैसाले नून र जडाउरी किनेर  तीन दिन उकाली ओराली गर्दै गाउँ पुग्थे I दु:ख थियो, तर त्यो दु:खमा खुसीको मिश्रण थियो I

बुटवलमा मोटर देखेर फर्केका नून बोक्ने युवकहरु भारी बिसाएर गीत गाउँथे -“के आउला गुल्मीमा मटर, के लेउला नेपाले सरकार !” तर हेर्दाहेर्दै मोटर आयो I बुटवलबाट आउँदा एक माना मट्टीतेल लिएर आउंथे , दशैं , तिहार र तीजको लागि भनेर I अहिले त बिजुली पनि आयो , घर ‘उजेला’  भए I तर मन्छेका मन उजेला भएनन् I

बाको छेउमा कोही आएर ‘अलि पर जानुस् त’ भनेपछि आँखा खोलेर हेरे I एकजना पण्डितजी रहेछन् I बाले सोधे “बलेटक्सार आइयो बाबु ?”  पण्डितले भनेका थिए , “बस हिंडेकै छैन , हल्लेको मात्र हो I यति बूढो मान्छे काँ जान लाको नि ! थपक्क रामनाम जपेर घरमा नबसेर ?”

बा – तपाईं कता नि रामनाम नजपेर ?

पण्डित – यस्ता अज्ञानीसँग के कुरा गर्नु !

बा- तपाईंको ज्ञान के हो ? मेरो अज्ञान के हो ?

पण्डित – म भागवत भन्छु I

बा – म पनि भन्चु ल सुन्नुस ! ‘भागवत !’ सुन्नो ?

पण्डित – मूर्ख ! भागवत कथा भन्छु भागवत कथा !

बा –  ‘कंगालीले खित्रो खाओ सात गाउँले चाल पाओ I’  अहङ्कार पण्डितको सत्तुर हो भन्ने ज्ञान छ कि नाई ?  भागवत कथा जान्दा रैचौ हैन ? एउटो कुरो सोद्चु  भन है त !

पण्डित – दशओटा सोध I

बा – किस्नले केन प्याँलो लुवा लाए , बलरामले केन नीलो लुवा जो लाए ?

बसभित्रका सबै यात्रु हाँस्न थाले I पण्डित सिट छाडेर पछाडि गएर बसे I अगाडिको सिट खाली भएको देखेर एकजना युवती बाको कोखामा आएर बसिन् I बाले यसो हेरे – कालो चस्मा , मेहदीले सुन्दर पारेको कलकलाउँदो कपाल , ओठमा लाली , गोरो अनुहार ! युवतीले भनिन् “कस्तो रक्सी गनाको !”

बा – नानीले खानी गर्नुभाओच कि नाई ? अचाल त बाबु नानी सबैले खान्चन भन्चन !

नानी – म त् खान्न ! भविष्यमा के गरिन्छ के ठेगान I तपाईं खानुहुन्छ ?

बा – मेरी आँब्बै नि नानी ! तर खाका मन्छे रमाइला हुन्चन I अरु बखतमा भन्न नमिल्नी कुरा भन्चन I

नानी – कता जान लाको नि ?

बा – काठमाडौँ I ‘डढ़ेआ नाकाँ झुम्के बुलाकी’  जस्तो भाओच नानी मलाई त ! तो काठमाडौँ रिडीभन्दा ठूले छ गरे I एकफेर देख्न पाएपार मन सन्तोक हुन्तो भनेर जान लाकुम I नत्र त बेभार च्यात्तै छाडेर को जान्तो ? ‘काँक्रालाई झेक्रो लाओ झेक्रै धनी’  भन्चन I एउटालाई जिम्मा लाओचु के के गर्नेओ I नानी एउटो कुरो सोधम ?

नानी – सोध्नुहोस् बुवा ! रमाइलो मान्छे हुनुहुँदो रहेछ I खुसी हुन जान्ने मान्छे !

बा – नानीको ब्या भओ कि नाई ?

नानी – किन ? तपाईंका छोरा छन् ?

बा – छ, तर ब्या गरिसको I

नानी – नाति ?

बा –  छ, तेले अम्रिकामा उतैकी गोरी ब्या गरो भन्ते I

नानी – अनि किन सोधेको त ?

बा – सोधेको नि नानी ! भाछैन कि भनेर I सोद्न मन लाग्च नि नानी I

सबै हाँसे I खलासी भाइले भने “लास्टै हँसायो बाजेले I”

नानी – धेरै फरासिलो हुनुहुँदो रहेछ I ईर्ष्यालाग्दो आनन्दी सोच रहेछ बुवाको I अनि बुवा ! कहिलेकाहीँ रुन मन लाग्छ कि लाग्दैन ?

बा गम्भीर भए I उनले दौडिरहेको बसको झ्यालबाट बाहिर हेरे I सारा डाँडाहरु समेत दौडिरहेका I मनमनै सोचे – यसरी नै दौडेर यहाँसम्म आइपुग्यो यो जिन्दगी I भित्रको रोदनलाई भित्रै गुम्स्याएर दुनियाँलाई हँसाउँदै मनोरन्जन गराउनुमै बित्यो जिन्दगी I

बा – अरुलाई दु:ख  देखाएर के फाइदा छ र नानी ! मेरो दु:ख सुनेर को कठै भन्च र सुनाम ? ‘बिरालो ब्याए के स्वाद तोए के स्वाद’ जस्तो हुन्च सुन्नेलाई  I मेरो बा भन्नुन्तो “मन्छेका दुइटा मन हुन्चन् I एउटो हाँस्नी मन आर्को रुनी मन I हाँस्नी मन घाँटीमा हुन्च , मुखको नजिकै I रुनी मन भित्र हिर्दयमा हुन्च  I हाँस्दा सबैले देख्नी गरी हाँस्नु पर्च I अरुलाई हँसाउनु धर्म हो I रुँदा एक्लै रुनुपर्च I”  मेरो रुनी मन पनि भित्र कतै लुकेर बस्च I देखाएर के गरम ? मैले त रुनी मनमा रामलाई राखेओ छु I ल राम !  रुने मन   तिम्रा जिम्मा , हाँस्ने मन मेरा जिम्मा ! आफ्ना दु:ख आफैसित छन् नानी I ‘भैतिस् मुक्खे पाइतिस चोट’ भने जस्तै भाओचु I

ड्राइभर – घरमा को को छन् त बा ?

बा – घराँ को हुनु नि ! गोठ छ , भैंसी छ , पाडो छ I भित्र ठेको छ , पकाउनी खानी भाँडा छन् , सुत्ने ओछेन छ , भित्ता छन् , छानो छ I केही नबोलेर बस्ने देओता छन् I घराँ मन्छे भए अपुंगीओ जिम्मा लाउनु  पर्तो र ? तल्लो छेउ परेर मद्दत माग्न पर्तो र ? भाको सप्पै जेथा जिम्मा लाएर आछु I  रेखदेख गर्नीले जस पनि लिने भओ , उता ‘तारेओ सम्पत्ति तिल्केओ अड्कल’  पनि हुने भओ I

खलासी – बज्यै हुनुहुन्न बा ?

बा – नाई ! सात वर्ष भओ I म पैल्यै गएँ भनी तपैंले दु:ख पाउनुन्च  तपैं पैल्यै जानो भनी मैले दु:ख पाउँचु भन्ती I साह्रै गतिली थी केरे छोडर गई I एक मनले ठीकै पनि भओ जस्तो लाग्च I ऊ रोगी थी I रोगी बाँचेर निरोगी जानु परेको भए कति दु:ख पाउँदिओ भनेर चित्त बुझाउँचु I एकै दिन मोर्न नपाइने केरे के गरम I

नानी –  एक्लै डर लाग्दैन बुवा ?

बा – रुखओ हाँगाओ चरो एक्लै भैयो बाबै भनेर डराउन थालो भनी के हुन्च ? बाघ एक्लै बस्च कि भारेभुरे जम्मा गरेर बस्च ? जोसँग साथी छ तेलाई हो डर लाग्नी I कोइ एक्लै आओ भनी त पाहा फाले झैं फाल्न सक्चु भन्नी हिम्मत छ I गठ मिलेर आए भनी त म के गरम्ला र ! जे गर्नी हो तिनैले गर्नन् I कसैलाई राखम कि भनेर पनि सोचेओथें तर पछि यसो विचार गर्दा तो पनि ठीक लाएन I ‘आए बाउको गए साउको’  भन्चन I ‘आफै कसला काटे आफै मसला पाइन्च’ भनेर दु:ख गरेर बसेओछु I

ड्राइभर – ए सेते ! बाजेलाई डेढसय भाडा घटाइदे है ! आज बाजेको भातखर्च मेरो I

बा – बाटाँ भात खान पाइन्च  र ? म त होटेलाँ खान्न I

नानी – किन नि बुवा ?

बा – जात जान्च भन्चन् नि I ऐले त ‘अचेला बाउन रातभरि डाउन’ भओ  केरे I उइले कति मुस्किल थ्यो मलाई I बाउनले हलो समाउन नहुनी , मसित जेला दिनी पैसो नहुनी I दुई  दिन मल्खातो सोर्देपछि बल्ल एक दिन जोत्न मान्ते जोत्न हुने जातका मन्छे I ऐले यसो विचार गर्चु , यो जात जानी कुरो बेकार हो I यो सब बाउनहरु बाठा पल्टेर ल्याको चलन हो I मन्छे मन्छे सप्पै एकै हो I ‘बाठा बाउनको भाउँतोले लाटा बाउनलाई भानाउरी’ मात्रै भओ जातपात I तैपनि आजसम्म खाइएन, गन्नैमा पोलिने ट्याममा केन खाम भनेर मत्रै हो नानी I

ड्राइभर – काठमाडौँ किन जान लाको त बा ?

बा – बा भेट्न I

सबै हाँसे I एकजना युवकले वालेटबाट पाँच सयको नोट निकाल्यो I बाले वालेट हेर्दै सोधे “यो के हो बाबु ?”

युवक – यो सानो झोला हो बाजे I यो  पैसा र श्रीमतीका फोटा राख्न काम लाग्छ I

बा – यो इत्रुको झोलामा पैसो राख्दा खतडा हुन्न ? हामी त पैसो भन्ने कुरो कम्मराँ बानेर राख्छम I ऐले पनि सत्र हजार छन् I परदेशमा के पर्ला कसो पर्ला I‘ अनिकालमा बिउ जोगाउनु हुलहालमा जिउ जोगाउनु I’ एउटो कुरो नि बाबु ! श्रीमतीको मत्र फोटो छ कि अरुको पनि छ झोलाँ ?

युवक – साह्रै रमाइलो गराउनुभयो बा ! यो पाँच सय राख्नुस् फलफूल खानुहोला I

बा – म लिन्न बाबु I तपैंलाई रमाइलो भओ भनी राम्रै भओ I रमाइलो गराको जेला लिन म फिलिमको हिरो हुम  र ?

युवक – ल ठीक छ बा I स्वाभिमानी हुनुहुँदो रहेछ I मैले पनि हेपेर दिन खोजेको हैन है  ! बाले फिल्म पनि हेर्नुभएको छ ?

बा – छैन I सुनेको मत्र हो I अठार सालाँ रिडीमा ठूलो बाढी आउने वर्षको कुरो हो I एउटो बंगालीले बाइस्कोप भन्ने बाकसाँ देखाको फिलिम हेरेको थें I त्यसमा कलकत्ता शहर देखो , काठमाडौँ शहर देखो , गंगा मैयाँ देखो , हावडेका पुल देखो भनेर देखाथ्यो I त्यही हेरेको हो यो जिन्दगीमा I बाले देको दश पैसा त्यसैलाई बुझाएर फर्कें I बंगालीहरु जाद्रै बाठा ! उस बखत पनि छाइँछाइँ के के बजाउंदै गाउँ गाउँ डुल्ते  I तीजको गीतै बनाथे केटीहरुले “आयो परदेशी बंगला छाइँ छाइँ I”

युवक – काठमाडौँ किन जान लागेको त बाजे ?

बा – बा भेट्न I

ड्राइभर – जाद्रै हँसाउनुभो  ! अनि ब्या गर्न मन छ बा ?

बा – तिमीलाई मन छ कि नाई ? ‘पानीयाँ पादे जस्तो’ कुरा नगर न I

ड्राइभर – मेरो त श्रीमती छ घरमा I

बा – श्रीमती हुनेलाई ब्या गर्न मन लाग्दैन ?

ड्राइभर – यी बाजेसँग नसकिने रैछ गाँठे ! एउटी श्रीमती घरमा हुँदा हुँदै अर्को ब्या गर्न पाइन्छ ?

बा – कुरो यही हो डराइबर साब I ‘मकै पाके बकेर्ना थाके I’ अब नयाँ चलन आओ I अब ब्या गर्न मन लाओ भन्दैमा गर्न काँ पाइन्च ? समयकाल जस्तो चल्च आफू पनि त्यस्तै हुनुपर्च I ब्या गर्न पनि मन छ ? भनेर सोद्ने कुरा हो ? स्वस्थानी पड बाबु स्वस्थानी !

युवक –  तपाईं कति वर्षको हुनुभयो ? तपाईंको बा काठमाडौँमा कहाँ बस्नुहुन्छ , के गर्नुहुन्छ ?

बा – म एकासी I मेरो बा काठमाडौँ बसेको त धेरै वर्ष भओ I मेरो बा भोलेनाथ पशुपति हुन् I एकफेर भेटेर केही माग्छु भन्नी दाउ हो I छोरो उतै जागिरे छ I रिडीमा एसेल्सी देर हिंडेको हो I चार वर्ष खर्च भरें I पछि आफै कमाउन थालो र हलुङ्गो भओ I ऐले सचिब कि के छ भन्चन् I मैले के भैस सोदेको ‘तपैंले बुज्नुन्न’ भनो I मैले सोचें – नबुजे  बुजाएर भने पनि हुन्तो केरे I केन ठूलो भाओ  होला ? ‘अरुले अरुलाई हेप्च , मूर्खले बाउलाई हेप्च’  भन्ने आहान सम्जेर चुप लागें I मैले मनमनै प्रतिज्ञ गरें , अबदेखि यो नेपालको राजै भए पनि केही सोद्दिन I ‘बारी बिग्रे कुनाकानी बानी बिग्रे जानीजानी I’

पाँच वर्षअघि दसैंमा टीको लाउन परो बा भन्दै आथ्यो I टीको लाएर हिँडो I ‘पहाडका बापती मदेसका सभापति’ भने जस्तो भएच तो I उतैकी ब्या गरेको रैच केरे I हाम्रा चलन केई नजान्नी I यसो विचार गरें , कसैको केई दोष छैन , समयको फेर हो I अब आउँदा बालाई काठमाडौँ लाने हो भन्तो I मैले भनें , ल बाबै लइस भनी पशुपतिको दर्शन गरम्ला I अनि त माघमा यी यसमा ( मोबाइल देखाउँदै ) बोलो बैशाख भन्न थालो , बैशाखमा बोलो दसैं भन्न थालो I ऐले अब त भएन भनेर आफ्नै सुरले जान लाचु I कसो फेला नपर्ला I तो फेला नपरे मेरो बाउ भेटेर फर्कन्चु  I

युवक – अम्रिकाने नाति के भन्छन् नि ?

बा – तो बरा ! अम्रिका भसाकिनेले के भनुस् ? एकदिन बोलो उतैबाट I यता तह मिलेपछि बालाई अम्रिका देखाउने हो भन्तो I मैले भनें , तेरो बाउलाई  काठमाडौँ देखाउन तह परेओ  छैन अब अम्रिकाको गफ ! ‘ढाँटओ निम्तो खाई पत्याउँदो I’

मेरो छोरो खराब हैन बाबु I उसको ‘डिप्टी’  कडा हो I ‘किमलालाई मुतओ पैरो’ भाओच तेलाई I ‘घराँ जाद्री परी परका झन् जाद्रा’  तेसै भन्ते र अगिका बूडा ?  जे भा पनि मेरै जो  बिउ हो केरे I अब आफै बूडो हुन  लाओ I माय लाग्च I भगवानले बनाको उँधो माय त हो बाबु ! मेरो छोरालाई अम्रिका बस्ने छोराको पीर छ I कहिल्यै कपाल नदुखुस् , तेत्ति भए भओ I

युवक – छोराको नाम भन्न मिल्छ बा ?

बा – ‘आन्द्राभुँडी देखाई थुतुनो लुकाई I’ के भन्न बाँकी छ र मैले छोराको नाम लुकाम ? मेरो छोराको नाम अनङ्गनाथ हो I

युवकले बाको नजिकै आएर मोबाइल देखाउँदै भन्यो “यो को हो बा ?”

बा – यो त म र मेरी बूडीको फोटो हो I कहाँबाट पायौ ? दश वर्षअगि तेइ अनङ्गेले खिचेको I यो फोटो त मेरो झोलामा थ्यो , कसरी झिक्यौ ?

युवक – यो फोटो अनङ्ग सरले बाबुको मुख हेर्ने दिन राखेको हो , फेसबुकमा I उहाँ वर्षेनी यही फोटो राख्नुहुन्छ I यसमा बाह्र सय लाइक र चार सय कमेन्ट आएको छ I

बा – बाको मुख हेर्ने दिन भनेको के हो ?

युवक – कुशे औंसीको दिन I बाबुको मुख हेर्ने दिन  I

बा – मैले त बाउको मुख हेर्नी हैन बाउको मुख दुनियाँलाई देखाउनी  दिन जस्तो पो मानें I ‘हेर्नको मतलव छैन देखाउनको चटारो I’ मेरो छोरालाई चिन्नुन्च बाबु ? कस्तो भओछ ऐले ?

युवक – मेरो हाकिम साब हो बा I

बा – तपैं जस्ताको हाकिम भओ अनङ्गे ? ठूलो मन्छे भएच  त ! अनि मलाई गनेन  भनेर पीर मान्नी मै मूर्ख हैन त ? छोरो तेस्तो भइसकेच , म भनी  ‘माटैका चुला आटैका भान्सा’ भन्दै बस्दै I ए बाबु एउटो कुरो भन त ! त्याँ दिसा बस्न जाद्रै जो सकस हुन्च भन्नी सुनेओछु I कुर्सीमा बसेर दिसा गर्नुपर्च गरे I मैले तेसरी दिसा गर्न नसकेपार खोल्साखाल्सी त हुनन् नि ?

सबै हाँसे I

बा – ए बाबु  जाद्रै जो माय लाओ मलाई त I घर काँ हो नि ?

युवक – पाल्पा हो बा I

बा – ‘पाल्पाली ठसक रिनले भसक I’ अगि पाल्पालीओ चमक ठूलो थ्यो I जाद्रै जो ठस्सा देखाउन  पर्नी I ‘पाल्पाली नानीओ मुखै चहकिलो’ भनेर आहान हाल्थे I तान्छिन मटर पुगेपछि त झन सुखारी र सुकीला भए पाल्पाली I ऐले त गुल्मीले जितो भन्ने सुनेओछु I

युवक – बाको स्वास्थ्य कस्तो छ ?

बा – खास्सा छ I अर्को उपाय पनि त छैन I ‘दु:खीका दैव सहारा I’ पैले बटौलीबाट नून बोक्ने बखतमा त म जति बैल्लो कोइ थेन I एउटो चोक्टो अचारसित तीनमानाओ भात निलिन्तो I चकल्दीखोला र लगुवाका  थकाल्नी नानीहरुले खूब आँखा लाउँते I यस्तो राम्रो बाजेले नून बोकेओ नसुवाउनी भन्ते I ‘भाग्यमा लेखो नूनको भारी मयाँ लाउनी सुन्दरी नारी I’  स्वास्थ्य त ऐले पनि राम्रो छ बाबु I भात पाए पन्ध्रमुठी र आटो बाह्रमुठी त ऐले पनि निलिन्च I भोलेनाथको किर्पाले आजसम्म यो साधुनाथको टाउको पनि दुखेओ  छैन I नत्र त बाबु ‘सिमलको लाथ्रो हलो न बलो’ भएर बाँच्नु पर्तो I

नानी – भोलेबाबासँग के माग्ने विचार छ त बुवा ?

बा – एउटो कुरो उजुरी जो हाल्चु I अर्को माग्चु I देशाँ  “यत्रो बिथिति हुँदा पनि के हेरेर बसेको ? तिमी पनि केई गर्न नसक्नी बबुरो भयौ ?”  भनेर हकल्याउनु छ मैले I अर्को हो , म जबसम्म जिउँदो हुन्चु यस्तै बलियो र निरोगी हुन पाम  I मलाई धन , मान ,इजेत र माया चाइएन I करुणा राख्नु र टिठ मान्नु पर्दैन I म पाखुरा बजारेर खान्चु I तर मोर्ने बेलाँ एक घडी पनि बिरामी हुनु नपरुस् I सप्पै नेपालीको मति सप्रुस् I कसैले दुख पाउन नपरुस् I

नारायणघटसम्म बाले रमाइलो गरिरहे I नारायणघाटबाट उत्तर लागेपछि नानीको काँधमा टाउको अड्याएर फुसुक्कै निदाए बा I

काठमाडौँ बसस्टपमा पुगेपछि सबै यात्रुहरु ओर्ले I तर बा उठेनन् I युवकले आफ्नो सबै सरसामान मिलाएपछि बालाई सम्झे  I पहिलोपल्ट काठमाडौँ आएका बा कसरी ठाउँमा पुग्लान ? उनलाई बाको माया लागेर आयो I उनी गएर बालाई हेरे I बा सुतिरहेकै भेटिए I युवकले बालाई बोलाए , घचघच्याए, तर बा शान्त नै रहिरहे I युवकले नियालेर हेरे I बाको मुखबाट फिँज निस्केको थियो I कम्मरको पटुका भुइँसम्म लत्रिरहेको I पुलिस आयो I बालाई कसैले बिख खुवाएछ I बाको कम्मरमा पैसा थिएन I

बाको नाममा धेरै समवेदना निस्के I ‘असल’ पुत्रका असल पिताको रुपमा साधुनाथ बाको मुरी मुरी प्रशंसा भयो I मार्नेको उद्देश्य जे जस्तो भए तापनि बाको हकमा केही फरक परेन I बा बितेर गए I एक घडी बिरामी नभई गुमनाम मरे साधुनाथ बा ! कसैको हातको पानीसम्म नखाई शान्त, सौम्य र दिव्य तरिकाले I

Tags :
प्रतिक्रिया दिनुहोस