राजा युधिष्ठिरको नेपाल यात्रा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राजा युधिष्ठिरको नेपाल यात्रा


४ भाद्र २०७७, बिहिबार


जुधिष्ठिरलाई सुहाउनी पटेसरे फूल
पालुबाङका राजा भेट्न आयो ठूलो हुल
पिपलुको रुखमुनि जुधिष्ठिरे राजा
गण्डकीका तिरैतिर नाचे दुई राजा

(बचपनमा सुनेको हो I अचेल सुनिंदैन I सत्ता फेरिए, संस्कृति फेरिए, चलन फेरिए I समाजमा चलिरहेका लोकगाथा र कथाहरु पनि नयाँ सत्ता र शक्तिका बारे गाइन र भनिन थाले I नयाँ चल्दै गए, पुराना विस्मृत हुँदै गए I तर्क र प्रामाणबाट यस्ता कुरालाई स्थापित  गर्नु सम्भव छैन I तर यस्ता गाथाहरु थिए र छन्, जसको बिम्बात्मक महत्व छ  I प्लेटोले आदर्श राज्य र दार्शनिक राजाको कल्पना गरेका छन् I भानिन्छ  – पूर्ण रिक्ततामा कल्पना पनि उत्पन्न हुँदैन I कतै प्लेटोले प्राचीन व्यापारिक मार्ग भएर यात्रा गर्ने मानिसहरुबाट सुनेका यस्तै लोककथामा आधारित भएर दार्शनिक राजा र आदर्श राज्यको कल्पना गरेका त होइनन्  ? यो सानो लोककहानीले यसको उत्तर दिन त नसक्ला तर सन्देश र बिम्ब अवश्य प्रकट गर्नेछ I यति अनुमान गर्दा प्लेटोमाथि अन्याय पनि नहोला )

राजा युधिष्ठिरको नेपाल यात्रा
एक दिनको कुरा हो I पाँच पाण्डव सँगै बसेर साँझको खाना खाइरहेका थिए I शरद ऋतुको आगमनसँगै हस्तिनापुरको सायंकाल  शीतल र सुरम्य बनेको  थियो I नजिकै बगिरहेको यमुना नदीको मन्दमन्द सुसाइको शान्त वातावरणमा भीम समेतका चारै भाइ फक्रेको कमल जस्तै प्रफुल्ल र आनन्दित थिए I किन्तु सम्राट युधिष्ठिरमा कुनै प्रसन्नता थिएन I ओइलाएको कमल जस्तो  भएका थिए उनी I सम्राट कुनै विचारमा तल्लीन एकतमासले यमुनातर्फ नियालिरहेका थिए I उनी खाना सकेर यताउता टहल्न थाले I राजाको गाम्भीर्यलाई देखेर भीमले भनेका थिए – दाजै ! हजुर अजातशत्रु  हुनुहुन्छ I हजुरको कसैसँग वैरभाव छैन I राज्यव्यवस्था पनि अविचल रुपमा सुचारु छ I सारा प्रजा खुसी छन् I तथापि हजुरको अनुहारमा एउटा अकिन्चन दु:खजीवीको जस्तो भाव प्रष्ट देखिन्छ  I हामी भाइहरुबाट कुनै कुवाच्य  प्रकट भयो कि ? कुनै आदेशको उल्लङ्घन भयो कि ? अथवा राजसभामा कुनै सभासदबाट शालीनता , अनुशासन र  मर्यादाको अवज्ञा भयो ?

युधिष्ठिरले भने  -‘हो I म भौतिक रुपमा अजातशत्रु छु, सुरक्षित छु I म शारीरिक रुपमा पनि पूर्ण रुपमा स्वस्थ छु I परन्तु हे मेरा भाइहरु ! म मानसिक रुपमा अशान्त, अस्वस्थ र अभिशप्त छु I मेरो मनभित्र असङ्ख्य शत्रुहरु अदम्य रुपमा आधिपत्य जमाएर बसेका छन् I म केही समयका लागी एकान्तवासमा जान चाहन्छु I यसमा कसैले पनि नाई भन्ने काम नगर I मेरो अनुपस्थितिमा तिमीहरुले अझै असल तरिकाले सुशासन सन्चालान गर्नेछौ  भन्ने कुरामा मलाई कुनै शङ्का छैन I’

यत्तिकैमा एकजना द्वारपाल युधिष्ठिरको हातमा एउटा सानो थैली टक्र्याएर फर्क्यो I युधिष्ठिरले थैली खोले I थैलीभित्रको चिट्ठी झिकेर पढ्न थाले उनी I राजा जति पढ्दै गए, उनको मुहार उत्तिकै प्रदीप्त र उज्ज्वल हुँदै गयो I राजाले चिट्ठी थैलीभित्र राख्दै भने – ‘मेरो मित्र राजा तान्सिहाङको सन्देश रहेछ I’ राजा सबै भाइलाई सँगै लिएर अतिथि कक्षमा गए I पालुबाङको दूतलाई बोलाएर ससम्मान आसन ग्रहण गर्न अनुरोध गरेपछि दूत उपस्थित भए I बस्नुभन्दा पहिले दूतले भने – ‘पालुबाङ राज्यको दूत नामखानको तर्फबाट सबैलाई  हार्दिक अभिवादन !’ दूतलाई खाना खुवाएर आराम गर्न पठाइयो I

युधिष्ठिर – ‘भाइहरु ! भारत युद्ध सकिएको बीस वर्ष पूरा भयो I जति समय बित्दै छ, उति नै मेरो मन विचलित, चन्चल र अस्थिर हुँदै छ I मलाई मेरो विगतले लखेटिरहेको छ I म अचेल आफैलाई सोध्ने गर्दछु, के हार्ने निश्चित हुँदा हुँदै जुवा खेल्नु ठीक थियो ? के यो राज्यका लागि त्यत्रो नरसंहार गर्नु उचित थियो ? के अश्वत्थामाको मृत्युबारे झूटो बोल्नु ठीक तियो ? जसले राज्य चलाइरहेका थिए ती पनि आफ्नै थिए I जो मरेर गए ती पनि आफ्नै  I

प्रजा त दुर्योधनको शासनमा जस्ता थिए, अहिले पनि उस्तै छन् I दुर्योधनको पनि ठूलो मान थियो राज्यभित्र र बाहिर पनि I वासुदेवले हामीलाई जुन सहायता गरे त्यो त हामीप्रति गरेको प्रीति मात्र थियो I वासुदेवले एउटा पक्षलाई समर्थन गर्नु थियो, स्नेहवस हामीलाई गरे I हुनत युद्ध अनिवार्य र अवश्यम्भावी नै थियो, किन्तु मलाई त्यसको जिम्मेवार व्यक्ति म नै हुँ जस्तो प्रतीति भइरहन्छ I यो असमन्जसको अवस्थामा मलाई कतै एकान्तमा गएर  आफैलाई खोज्ने उत्कट इच्छा थियो I आज त्यो इच्छा मित्र तान्सिहाङले पूरा गरिदिएका छन् I म तीन महिनाका लागि पालुबाङ जान्छु I त्यो  मेरो अधीनताभन्दा बाहिरको राज्य भएको हुँदा  आफ्नो चाहना अनुसार विचरण, चिन्तन र एकान्तवास गर्दा कतैबाट व्यवधान हुने सम्भावना पनि  छैन I’

राजा तान्सिहाङ युधिष्ठिरलाई स्वागत गर्न आधुनिक समयको बुटवलभन्दा अलि तलसम्म गए I युधिष्ठिरको लावालस्कर ठूलो थियो I राजा तान्सिहाङले युधिष्ठिरको  न्यानो र आत्मीय स्वागत गरे I तन्सिहाङसँग कुनै लावालस्कर र तामझाम थिएन I उनी छ सात जना सहकर्मीलाई लिएर घोडाको सवारी गरी त्यहाँसम्म पुगेका थिए I युधिष्ठिरले भाइहरुलाई संवोधन गर्दै भने -’तिमीहरु यहींबाट हस्तिनापुर फर्केर जाओ I म मेरो मित्रसँग जान्छु I मेरो कुनै चिन्ता नगर्नु I वैशाख संक्रान्तीका दिन यसै स्थानमा उपस्थित हुनू , अनि सँगै फर्कौंला I

भीम – दाजै ! एक्लै जानुभयो भने तपाईंको सुरक्षा कसले गर्छ ?  गाथको रक्षाका लागि म पनि सँगै जान्छु I दुई चारजना सभासद र कूटनीतिक चातुर्य भएका विद्वान राष्ट्रसेवकलाई पनि लैजानु पर्छ I एक्लै जाँदा उताका प्रजाको अगाडि के प्रतिष्ठा रहला ? प्रजाहरु के सोच्लान ?’

युधिष्ठिर – ‘मेरो प्रिय भाइ ! राजकीय सुखको बानी परेको हुँदा तिमीले वनवासका दुर्दिन बिर्सेछौ I हिंजोका ती कहालीलाग्दा दिनहरु सम्झ त ! के थियो हामीसँग ? आङमा लाएको एकसरो पोशाक , भोजन पकाउने एउटा मात्र भाँडो I  बस्ने घर थिएन , बिहान खायो साँझको छाकको ठेगान थिएन , खुट्टामा जुत्ता थिएन I सत्ता  र शक्तिको मदमा  कति छिटो आफूले टेकेको भूमि र औकात बिर्सन्छौं हामी !

मलाई मेरो मित्रप्रति पूर्ण भरोसा छ I जब उनी मेरो विश्वासमा  कुनै शक्ति नलिई हाम्रो राजधानीसम्म आए भने म किन नजाने ? पालुबाङ राज्यका जनतालाई मेरा सभासद यस्ता छन् भनेर देखाउनुको कुनै प्रयोजन छैन I सीमाभन्दा बाहिर खुट्टा नटेक्ने , तर आफ्नो सिमानाभित्र कसैको टेढो नजर पनि सहन गर्न नसक्ने सिधा सपाट कूटनीति मात्र जान्ने देशमा यी मेरा धूर्त र छटेल कूटनीतिज्ञहरुलाई लिएर जानुको पनि कुनै अर्थ छैन I भाइ ! मलाई केही समयका लागि यी सभासद र गुप्तचरहरुको प्रलापबाट मुक्त रहन देऊ I चाकरी , प्रशंसा , गुणगान , होहल्ला , खलबली र रडाकोबाट टाढा रहन देऊ I मलाई रिसराग , ईर्ष्या , द्वेष र  दु:ख  जस्ता मनोविकारबाट टाढा शान्त स्थानमा बस्ने र जीवनबारे केही सिक्ने मौकाबाट वन्चित नगराऊ I’ चार भाइ पाण्डवहरु लावालस्करसहित हस्तिनापुर फर्के I

राजा तान्सिहाङ र युधिष्ठिर पहिलो दिनको बास समथर जमिनमै बसे, दोस्रो दिन नुवाकोटमा I स्थानीय वनमा उपलब्ध हुने सामानबाट तयार गरिएको सवारी शिविरको बसाइमा युधिष्ठिरलाई परम शान्ति मिल्यो I राति सबै सहयात्रीहरु सुतेपछि दुवै राजाका बीच भलाकुसारी हुन थाल्यो I राजा युधिष्ठिरले भने -’हे मित्र ! तपाईंले मलाई मोहनी नै लाउनुभयो I हस्तिनापुरमा तपाईंका कुरा सुनेपछि मलाई मेरो ज्ञान अधुरो , औपचारिक र आडम्बरपूर्ण रहेछ  भन्ने ज्ञान भयो I तपाईंले यत्रो ज्ञान कसरी हासिल गर्नुभयो ? तपाईंका गुरु को हुन्  ? के म गुरुलाई भेट्न सक्छु ?

तन्सिहाङ -’मेरा गुरु प्रकृति र समाजमा विद्यमान छन् I पहाड, हिमाल, कुकुर, बिरालो, नदी, खहरे, भ्यागुतो, कमिला, मौरी, चरा, वन, वृक्ष, वर्षा, बाढी, जाडो, गर्मी, अन्न, फलफूल, भोक, श्रम, मेरा सहकर्मी, समाज, लोककथा र गाथा, इतिहास, गीत, मेरा अग्रजहरु, बालक, बिरामी र  वृद्धहरु  मेरा गुरु हुन् I युद्धकला , इतिहास , भूगोल र राज्यप्रणालीबारे सिकाउने गुरुको मृत्यु भएको सत्तरी वर्ष भयो I निरन्तर आफ्नो कर्ममा सरिक हुनु  , सन्तोषपूर्ण परिश्रमी जीवन र व्यक्तिगत इच्छाबाट पर बसेपछि र कसैसँग केही अपेक्षा नगरेपछि यो जिन्दगी आनन्दमय हुन्छ I मैले जानेको यत्ति नै हो I तपाईंले त धेरै शिक्षादीक्षा पाउनु भएको छ , धेरै जान्नुहुन्छ , धेरै भोग्नुभएको पनि छ I’

युधिष्ठिर -’मेरा गुरुले सत्य सार्वभौम हुन्छ भनेर सिकाए I तथापि तपाईंले सिकेको सत्य र मलाई सिकाइएको सत्यमा भिन्नता छ I मेरो सत्यले दासलाई मानवीय व्यवहार गर्नु भन्छ , तपाईंको सत्यले दासत्वको कल्पना नै गर्दैन I मेरो सत्यले सबै जात जातिका मनुष्यलाई दया गर्नु भन्छ , तपाईंको सत्यले एउटै मानव जाति मात्र स्वीकार गर्छ I मेरो सत्यले राजा दानी हुनुपर्छ भन्छ , तपाईंको सत्यमा राजासँग दान  गर्ने वस्तु नै हुँदैन I मेरो सत्य राजामा भगवानको अंश हुन्छ भन्छ , तपाईंको सत्यले राजा प्रजा सबै बराबर भन्छ I मेरो सत्यले महिलालाई पूजा गर्ने तर भोग्य वस्तु मात्र मान्छ , किन्तु तपाईंको सत्यले नारी पुरुष समान मान्छ I मलाई पनि तपाईंको राज्यको जस्तै विधि स्थापित गर्ने मन छ I केही उपाय बताइदिनुहोस मित्र !’

तान्सिहाङ –  कठिन छ I सबैभन्दा पहिलो बाधा त तपाईंका भाइ र गुरुबाटै हुनेछ I तपाईंको देशमा धेरै राम्रा कुरा पनि छन् I देशले समृद्धि हासिल गरेको छ I कतिपय कुरा हामीले पनि त्यताबाट सिक्नु छ I तथापि तपाईंहरुले समृद्धि र सामाजिक न्यायको तालमेल मिलाउन सक्नु भएन I साँघुरो सोचको परिधिभित्र  बस्ने बानी परिसकेको छ तपाईंको राज्यमा I मुख्य कुरा त्यो साँघुरो सोचबाट बाहिर निस्कन धेरै गाह्रो छ I धेरै अघिदेखि बाटो बिराएको हुँदा तिनै विकृतिहरु अहिले समाजको संस्कृतिका अङ्ग बन्न पुगे I तपाईंको देशमा आफू मात्र सभ्य र सुशिक्षित भएको भ्रम छ I तपाईंको राष्ट्रले अरु पनि सभ्य र समृद्ध हुन सक्छन् भन्ने कुरा  विश्वास गर्दैन I अस्तित्वमै नभएको कुरा सुरु गर्न सजिलो छ , तर बिग्रेको कुरा सपार्न निकै मुस्किल हुन्छ मित्र I प्रयास गर्नुहोस , सबैले माने भने त असम्भव छैन I तपाईंले गलत ठाउँ र गलत संस्कृतिमा जन्म लिनुभयो I’

पालुबाङको राजधानीमा युधिष्ठिरको भव्य स्वागत भयो I स्वागतमा पटेसरको फूल , वनकेरा ,वनतरुल , खिलुवा, म्याल , कटुस , ओखर , वनैया  खुर्सानी , अमिलो , बिमिरो , दालचिनी , टिमुर , असुरो , रुदिलो , काउलो , ऊन  , गाँजाको धागो , कुखुराको अण्डा , कस्तुरी , गाईको सीङ्बाट बनेका कलात्मक सामान , मादल , खैंजडी , डम्फू , मुरली , डमरु , फापरको रोटी , भुटेको भटमास , कुराउनी , दही , मह , रक्सी , सिंगारिएको सोली , डालो , पेरुङ्गो , डोको , दूध दुहुने गबुवा , सुगा , मैना , डाँफे , बाज , परेवा र लुगा बुन्ने सामग्री आदि चिजहरु सजाएर राखिएको थियो I

तान्सिहाङले स्वागतभाषण गर्दै भने – ‘ठूलो देशको सत्यवादी राजालाई स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो I तपाईंको  हृदयमा न्यायको मन्दिर छ , तर त्यो मन्दिरलाई स्वीकार गर्ने समाज तपाईंसँग छैन I ज्यादा सत्यको पक्ष लिंदा आफै त्यसको शिकार हुन पुगेको सज्जन व्यक्ति हो तपाईं I हे सहृदयी मित्र !  यो भ्रमण अवधिमा तपाईंभित्र रहेको सत्य , दया , शालीनता र भद्रताबाट हामी सबै पालुबाङवासीको मन जित्न सफल हुनुहुनेछ भन्नेमा पूर्णतः विश्वस्त छु I तपाईंले हाम्रो राज्यमा प्रकृतिलाई नजिकबाट नियाल्न पाउनु हुनेछ I यहाँका प्रजाहरु प्रकृतिमै खेल्छन , प्रकृतिसँगै प्रेम गर्छनं , प्रकृतिमै काम गर्छन , प्रकृतिमै गाउँछन् , प्रक्रितिमै रमाउँछन् र प्रकृतिकै पूजा गर्छन् I’

युधिष्ठिर – ‘प्रिय मित्रहरु ! मैले मेरो जीवनमा धेरै राजा भेटेको छु I कतिपय राजाहरु मेरा नातेदार पनि छन् I आजसम्म मैले भेटेका सबै राजा मालिक छन् र प्रजा सेवक I तर तपाईंको राज्यमा प्रजा नै सर्वेसर्वा  भएको पाएँ I यहाँ कोही मालिक छैन न त नोकर  नै I यस्तो राज्यप्रणाली पनि अस्तित्वमा होला भन्ने मेरो कल्पनामै थिएन I मेरो राजधानीमा आउने जुनसुकै राजा पनि आफ्नो वैभव देखाउनै मग्न थिए I आकर्षक पोशाक र  गहना पहिरेर  हात्ती- घोडा , नोकर – चाकरको बगालका साथ  आउँथे सबै  I तर पालुवाङका राजा मेरा नयाँ अनन्य मित्र तान्सिहाङले अपूर्व सादापनमा मेरो देशको भ्रमण गर्नुभयो र अविस्मरणीय छाप छाडेर फर्कनु भयो I मलाई जसरी पनि यो देशको भ्रमणमा आउने इच्छा थियो I आज मेरो इच्छा पूरा भएको छ I मेरा मित्र राजा लगायत तपाईं सबैलाई हार्दिक धन्यवाद छ I’

युधिष्ठिर बिहान सबेरै उठेर बाहिर निस्के I पूर्व दिशाबाट भर्खरै उदाएको सूर्यको प्रकाशले सुरम्य बनाएको धौलागिरी र माछापुच्छ्रे हिमाल देखेर उनी मन्त्रमुग्ध भए I माघको बिहानीमा तल फाँट र  काली नदीको बेसीमा टम्म भरिएको कपासै कपासको संसार जस्तो अप्रतिम दृश्यले उनी पुलकित भए I उनी धेरै देश डुले तर प्रकृतिको यो छटा कतै देख्न पाएका थिएनन् I

दुवै राजाहरु वन , पहाड र बेसीमा घुम्न निस्कँदा कोही पनि पछि लागेन I  युधिष्ठिर आश्चर्यमा परे I राजाहरुले वनतरुल खने , हिउँमा खेले I बालकले जस्तो म्याल ,  खिलुवा र कटुस खाए I युधिष्ठिरले धागो काते , मह झिके , बाबियोको डोरी बाटे , मही पारे ,पटेसर ( लालीगुराँस ) को फूल चुसे I  बडो प्रेमले मादल , डम्फु , डमरु , खैंजडी र मुरली बजाउन सिके I

सामाजिक  मेलमिलाप , श्रमको सम्मान र जो सुकैले पनि सरकारको आलोचना र समीक्षा गर्न पाउने परम्परा देखेर उनी अचम्ममा परे I समानता र न्याय , रोजगारीको प्रत्याभूति , महिला र पुरुषबीच विभेदको अभाव , बिरामी र वृद्धवृद्धाहरुको स्याहार देख्दा उनी आफ्नो राज्यको न्याय सम्झेर दु:खी भए I उनको मुलुकमा जुन सामाजिक अनुशासनका लागि गुरु थापेर वर्षौं अध्ययन गर्नु पर्दथ्यो , ती सबै कुरा पालुबाङमा स्वतः स्थापित थिए I उनले पालुबाङमा सत्ताको चाकरी , चुक्ली , अति प्रशंसा र महिमामण्डनको कुनै अस्तित्व देखेनन् I उनको देशमा ठेलीका ठेलीमा लेखिएका महाकाव्यभन्दा तान्सिहाङको देशमा  श्रुतीपरम्पराका आधारमा सुनाइने लोककथा र गाथाहरु अवर्णनीय रुपमा चित्ताकर्षक , कारुणिक र रसमय थिए I

राजाहरु एक हप्ताको लागि रिडीतिर झरे I हिमालयबाट अविरल बग्दै धेरै पाहाड र फाँट छिचोल्दै आएको गण्डकी यहाँबाट पूर्व मोडिन्छ I  जब  एउटा नदीले  ससाना धारा , कुवा र छहराको पानी आफूमा लीन गर्दै जान्छ , ती छहरा , कुवा र धाराका नाम समेत त्यही नदीको नाममा लीन हुन्छन्  I नदीमा असंख्य अन्य नदीहरु विलीन हुँदै आफ्नो नाम गुमाउदै जान्छन I जब त्यो मूलधार धारण गरेर बगेको नदी अनन्त समुद्रमा गएर मिल्छ , उसले पनि आफ्नो नाम गुमाउँछ I अस्तित्वको नियम  यही हो I मानव जीवन पनि यही नै हो I तथापि अलग अलग देश र  सिमानाहरू खडा गर्छ मानव I प्रकृतिले बनाएको सीमाहीन भूगोललाई विभक्त गरेर मानवले सेनाको गठन गर्छ I मानवलाई मानवले जति अरु कुनै कुराले सीमित पारेको छैन I

सामाजिक , राजनीतिक र सांस्कृतिक औपचारिकताले गर्दा राजा र शासकहरु समाजबाट अलग हुन वाध्य हुन्छन I यही वाध्यताबीच कसै कसैमा आफू अरुभन्दा भिन्न र श्रेष्ठ रहेको अभिमानको उदय हुन्छ I विस्तारै उनीहरुमा आफै राज्य र अझै आफै यो सृष्टिको संचालक र ईश्वर समेत भएको भ्रम पैदा हुन्छ I केही छट्टू चाटुकारले उनीहरुको भ्रमलाई साँचोमा परिणत गराउनमा मद्दत गर्दछन I

फागुन  महिनाको ठण्डीको समयमा पनि दिउँसोको घामले गण्डकी किनारको बालुकालाई तातो पारिदिएको थियो  I दुई राजाहरु युगौं युगदेखि परिचित मित्रहरु जस्तो बालुवाले हानाहान गर्दै खेले I युधिष्ठिरले आजसम्म आफ्नो गृहदेशमा यस्तो अनौपचारिक हुने मौका पाएका थिएनन्  I तर आज औपचारिक भएर आवश्यक कुरा मात्र बोल्ने र आवश्यक  क्रियाकलाप मात्र गर्नुपर्ने विदेश भ्रमणको समयमा बालकले  जस्तै  क्रीडा गर्ने  सुविधा प्राप्त गरे I यो भ्रमण युधिष्ठिरको जीवनको स्वर्णकाल बन्यो I

थकित भएर तातो बालुकामाथि बसे युधिष्ठिर I उनको निधार , गाला र नाकबाट  निस्केको पसिनाले गण्डकीको बालुवालाई सिन्चन गरिरहेको दृश्यलाई तान्सिहाङले प्रेमले हेरिरहे I उनले भने -’मित्र ! तपाईंको पसिनाका थोपाहरुको स्पर्शले मेरो गण्डकी परिभ्रमण क्षेत्रलाई पनि सत्य र धर्ममा अडिग रहन प्रेरणा दिइरहने छ I’ दुवै राजा बालुवाकै तकिया बनाएर बालुवामय उष्ण बिछ्यौनामाथि आनन्दले सुते I जीवनभरि एकपछि अर्को  निद्राहरण गर्ने घटनाको भुमरीमा परेका राजा युधिष्ठिर आज गण्डकीको बालुवाको विस्तरामाथि मस्त निदाए I प्रकृतिको काखबाट बलात् वन्चित एउटा सज्जन मानवलाई यो भूखण्डमा आएर मीठो निद्रा र सुन्दर सपना देख्ने अवसर प्राप्त भयो I

साँझ  बगरमै ठड्याएको छाप्रोभित्र सुते दुवै राजा I राजा युधिष्ठिर दिउँसै  सुतेको हुँदा छिटै निद्रा लाग्ने कुरा भएन I आज उनको मुहारमा अपूर्व कान्ति र आभा छाएको छ I कहिल्यै सजिलो , सहज र सुगम अवस्थामा सुत्न नपाएको मानिस त्यस्तो अवसर प्राप्त गरेर सुतेपछिको जाग्रत  अवस्थामा जस्तो उज्ज्वल देखिन्छ , त्यस्तै देखिए  सत्यवादी राजा I तर विडम्बना ! उनको त्यो कान्ति उनका परिवारले नभई परदेशी मित्रले मात्र देख्न पाए I युधिष्ठिरले तान्सिहाङलाई सोधे – ‘समाजमा विभेद किन हुन्छ ? राजा या शासकहरु किन स्वेच्छाचारी र उन्मत्त हुन्छन् ? केले एउटा मानवलाई अर्को मानवभन्दा श्रेष्ठ भएको महसुस गर्न  प्रेरित गर्छ  ?

तान्सिहाङ – ‘हे प्यारो मित्र ! तपाईं आफै शाश्त्र पढेको विद्वान हुनुहुन्छ तापनि आज एउटा अज्ञानीले जस्तो प्रश्न गर्नुभयो I यसको उत्तर तपाईंलाई अझै राम्रोसङ्ग थाहा छ I यस प्रश्नमा  तपाईं र मेरो उत्तर भने अवश्य पनि फरक छ I आज म तपाईंलाई त्यही फरक उत्तर दिन्छु , सुन्नुहोस ! खानेकुरा मीठो र नमीठो हुँदैन I मानिसको  आआफ्नो  रुचि र भोकको अवस्था अनुसार खाना मीठो या नमीठो हुन्छ I खानेकुरा कसैलाई भुटेको मन पर्छ , कसैलाई पोलेको र कसैलाई उसिनेको I कुनै पनि अन्न ज्यादा र कम पोषिलो हुँदैन I

कुनै अन्नमा एउटा पोषकतत्व हुन्छ भने कुनैमा अर्को I पोशाक पनि राम्रो र नराम्रो हुँदैन I मानिसहरु आआफ्नो रुचि अनुसारको पोशाक पहिरेर हिंड्छन् I तर जब राजालाई यस्तो रङको पोशाक मन पर्छ , फलानो अन्न राजालाई मन पर्छ , फलानो परिकार राजालाई मन पर्छ जस्ता हल्ला चल्न थाल्छन् , राजाका नजिकका मानिसहरुमा पनि त्यही कुरा मन पराउने प्रवृत्ति हावी हुन थाल्छ I यो चराको मासु राजालाई मन पर्ने हुँदा अरुले नखानू , राजालाई यो जातको अन्न मन पर्ने हुँदा राजालाई चाहिनेभन्दा धेरै उत्पादन नगर्नू , राजाले यो यो किसिमको पोशाक लाउने हुँदा अरुले त्यस्तो पोशाक सिलाएर नलाउनू  भन्ने आदेश जारी भयो भने त्यहींबाट विभेद र शोषण सुरु हुन्छ I राजाले विपुल  सम्पत्ति र धेरै श्रीमती  राख्न थाल्यो भने उसको नजिकका मानिसहरुले पनि त्यसै गर्न थाल्छन I राजासँग व्यक्तिगत सम्पत्ति भयो भने बाँड्न मन लाग्छ I सबैलाई दिन  स्रोत अपुग हुने हुँदा राजाको वरिपरी लोभीहरुको भीड लाग्न थाल्छ I यसले गर्दा राजा र प्रजाको बीचमा एउटा पर्दा ठडिन पुग्छ I वास्तवमा राजा शासक होइन , ऊ  त फगत साक्षी मात्र हो I म यो राज्यका समग्र निर्णयहरुको साक्षी मात्र हुँ I समाजले एउटा दर्जा पुगेको साक्षी खोज्ने हुँदा मात्र राजा चाहिएको हो I

हे मित्र ! जसरी बगिरहने खोलालाई रोक्न सम्भव छैन , जसरी उडिरहने पवनलाई रोक्न सम्भव छैन , जसरी मानिस मानिसबीच हुने संचार र अफवाहलाई रोक्न सम्भव छैन , त्यसैगरी कालक्रममा मानव समाजको जुनसुकै भूखण्डमा चलेको विकृतिलाई अन्य समाजसम्म संक्रमण हुनबाट रोक्न कठिन छ I समाजमा चलेका असल कुरालाई ग्रहण गर्न गराउन धेरै प्रयत्न गर्नुपर्छ I किन्तु नराम्रा कुरा र विकृतिहरु स्वतः संक्रमित हुँदै जान्छन् I मलाई कताकता डर लागिरहन्छ मित्र !  कुनै दिन तपाईंको राज्यका विकृतिहरु मेरो राज्यमा सर्ने त होइनन् ? अचेल युद्ध बन्द भएकाले तपाईंको राज्यमा जनसङ्ख्या वृद्धि भइरहेको छ I जनसङ्ख्या धेरै  भएको ठाउँबाट कम भएको ठाउँतिर बसाइ सर्ने प्रवृत्ति हुन्छ I अझ उब्जाउ र अनुकूल हावापानी भएको ठाउँ त सधै खतरामा हुन्छ I

एक दिन तपाईंको  छिमेकी राज्यबाट दुईजना जोगीहरु आइपुगे I हिउँदको समय थियो I त्यस बखत म मेरो राज्यको दक्षिण भागको समथर ठाउँमा मुकाम बनाएर बसेको थिएँ I स्थानीय प्रजाले सूचना दिएपछि मैले पाहुनाहरुलाई ससम्मान उपस्थित गराउने निर्देशन दिएँ I बेलुकाको खानाको बीचमा एउटा जोगी के भन्छ भने ‘हे राजन ! राजा त भगवानको अवतार हुन्छ I तपाईं जस्तो प्रतापी राजा के यस्तो अकिन्चन प्रजा जस्तो भएर बसेको ?’ मैले प्रश्न गरें – तिमीमा भगवानको अंश छ कि छैन ? उसले भन्यो -छ I मैले सोधें – सबै मानव जातिमा भगवानको अंश छ कि छैन ? उसले उत्तर दियो – छ I मैले भनें – अनि सबै मानव भगवान भए कि भएनन् ? जोगी धेरै चतुरो रहेछ , भन्यो – राजामा अलि धेरै भगवान हुन्छ I’

मेरो पालो मेरो शान्त तलाउमा ढुंगा हान्न आउने जोगीलाई देशको सिमाना नकाट्दासम्मको लागि भुटेको भटमास र भुजा दिएर लघारेर पठाएँ I

युधिष्ठिर – ‘कस्तो मानिसलाई मूर्ख भनेर चिन्नू ?’

तान्सिहाङ – ‘जसले नबुझेको कुरा बुझेको बहाना गर्छ त्यो मूर्ख हो I जो बुझेर पनि सत्यलाई भिन्न  तरिकाले व्यक्त गर्छ त्यो मूर्ख हो I अल्छी मानिस मूर्ख हो I जो आफूलाई मन नपराउने मानिसको पछि लाग्छ त्यो मूर्ख हो I अफूभन्दा बलियोसँग जोरी खोज्ने व्यक्ति मूर्ख हो I जो क्षणिक जोसमा आफ्ना गोप्य कुरा प्रकट गर्छ त्यो मूर्ख हो I कसैले तिमी जस्तो ज्ञानी र दानी कोही छैन भनेर उक्साउँदा मक्ख परेर उर्लिने व्यक्ति मूर्ख हो I अर्कोलाई होच्यउदै उपहास गर्ने मानिस मूर्ख हो I  देश , काल र पात्रको  विचार नगरी प्याच्च बोल्ने र क्रोधी मानिस मूर्ख हो I आफ्नो योग्यताको बखान गर्ने मानिस मूर्ख हो I धेरैजनाको बीचमा आफ्नो पालो नपर्खेर बोल्ने मानिस मूर्ख हो I एउटा मूर्खभन्दा मूर्खहरुको जमात ज्यादा खतरनाक हुन्छ I’

युधिष्ठिर – ‘हे मित्र ! तपाईले आफ्ना सारा काम छाडेर मलाई यतिका दिनसम्म साथ दिनिभयो I तपाईंसँग व्यतित गरेको यो समय मेरो जीवनको सबैभन्दा मूल्यवान समय रह्यो I मैले होसमा आएदेखि कहिल्यै पनि यति आनन्द र सुखको अनुभूति गर्न पाएको थिइन I मेरो जीवनप्रतिको सोचाइको दायरालाई तपाईंले धेरै विस्तृत र फराकिलो पारिदिनुभयो I अब तपाईं आफ्नो कर्तव्यपालनमा सरिक हुनुहोस I म केही समय एकान्तवासमा मौन धारण गरेर बस्छु I’

तान्सिहाङ – ‘मलाई कृष्णसित भेट गर्ने इच्छा छ I सम्भव हुन्छ भने कृपया सन्देश पठाइदिनुहोला I’

डेढ महिनासम्म युधिष्ठिरलाई साथ  दिएपछि राजा तान्सिहाङ आफ्नो काममा लागे I युधिष्ठिरले एक महिना एउटा छाप्रोमा एकान्तवास गरी  मौनव्रत लिए I उनी  चैत्र महिनाको तीन दिन बाँकी हुँदा आँखा भिजाउँदै स्वदेशका लागि प्रस्थान गरे I त्यसपछि यी मित्रहरुको कहिल्यै भेट भएन I

Tags :
प्रतिक्रिया दिनुहोस