सरकारी राजश्व दुरुपयोग गरेको अभियोगमा मुद्दा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारी राजश्व दुरुपयोग गरेको अभियोगमा मुद्दा


प्रशासन संवाददाता

२७ आश्विन २०७७, मंगलबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा कार्यालयमा उठेको राजश्व सरकारी खातामा जम्मा नगरी दुरुपयोग गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका –४ सुर्खेतमा कार्यरत दुई कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

करार सेवाअन्तर्गत प्रशासन सहायक रत्नबहादुर विकले राजश्व रकम सरकारी खातामा जम्मा नगरेको भन्ने सूचनाका आधारमा गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

वडा नं ४ मा रु २० लाख २० हजार ६७ राजश्व संकलन भएकामा रु चार लाख १६ हजार ६०० मात्रै बैंकमा दाखिला गरी रु १६ लाख तीन हजार ४६७ हिनामिना गरेको आयोगको अनुसन्धानमा खुलेको थियो । संकलित राजश्व कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका वडा सचिव इन्द्रप्रसाद अधिकारीको समेत संलग्नता रहेको पाइएको छ । आयोगले राजश्व दुरुपयोग गर्ने विकविरुद्ध रु १६ लाख तीन हजार ४६७ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै रु सात लाख १६ हजार ७१७ बराबरको रकम दुरुपयोग गरेको अभियोगमा वडा सचिव अधिकारीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार अभियुक्त दुवैलाई कसुरअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस