काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । बैठक बिहान ९ बजे बस्ने भनिएपनि शुरु हुन केही ढिलाई भएको हो ।
बैठकले केही नियमित प्रस्तावहरूसँगै मुख्यसचिवको विषयमा निर्णय गर्न सक्ने बुझिएको छ ।
सिंहदरवार उच्च स्रोतका अनुसार मुख्यसचिव लोक दर्शन रेग्मीले आज राजीनामा दिने र नयाँ मुख्यसचिव नियुक्त गर्ने विषयमा निर्णय हुन सक्नेछ । नयाँ मुख्यसचिवको चर्चामा रहेका परराष्ट्र सचिव शंकरदाश वैरागीको यही असोज २२ गते अनिवार्य अवकाशमा जानेभएपछि सो भन्दा अघि नै निर्णय भइसक्नु पर्ने भएकोले मुख्यसचिव रेग्मीले राजीनामा दिएर बाटो खुल्ला गर्न लागेका हुन् ।
नियमित प्रक्रियाबाट अर्थात् मुख्यसचिव रेग्मी स्वभाविकरुपमा अवकाश लिँदा चन्द्र कुमार घिमिरे मुख्य सचिवका एक्दा दाबेदार हुने भए पनि अगावै राजीनामा गरेर बाटो खाली गर्दा असोज २२ मा अनिवार्य अवकाश लिने सचिवत्रय मोहनकृष्ण सापकोटा, केदारबहादुर अधिकारी र शंकरदास वैरागीबिचबाट मुख्यसचिव बनाउनु पर्ने हुन्छ, जसमध्ये सचिव वैरागीको पल्ला भारी भएको चर्चा यसअघि देखि नै उच्च कर्मचारी वृत्तमा चर्चा छ ।
मुख्यसचिव रेग्मीले मंगलबार साँझ नै फोटोसमेत खिचाई सकेका छन् । लामो समयदेखि उनीसँगै काम गर्दै आएका एक कार्यालय सहयोगीको पनि अर्थ मन्त्रालयमा सरुवा गराई दिएका छन् । गुपचुप रहने र मुखै नखोल्ने मुख्यसचिवको रेग्मीको पुरानै बानी भए पनि नयाँ मुख्यसचिव नियुक्ति र उनको राजीनामा चर्चा चलिरहँदा उनको फोटो सुटलाई २२ अघि नै राजीनामा दिन सक्ने तयारीका रूपमा अर्थ्याइसकेका छन् ।
नौ बजे शुरु हुने भनिएको बैठक अघि नै मुख्यरेग्मीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईं र हुनेवाला मुख्यसचिव शंकरदाश बैरागी वालुवाटर पुगिसकेको पनि विशेष उच्च स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।