स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको भेटे उजुरी गर्न गृहको आव्हान, उजुरीकर्ताको विवरण गोप्य राखिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको भेटे उजुरी गर्न गृहको आव्हान, उजुरीकर्ताको विवरण गोप्य राखिने


१३ भाद्र २०७७, शनिबार


काठमाडौँ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भए तथा हुन सक्ने देखिएमा तत्काल गृह मन्त्रालयमा खबर गर्न आव्हान गरेको छ । मन्त्रालयको टोलफ्रि नम्बर १४४९ वा प्रहरीको १०० नम्बरमा फोन गरी जानकारी गराउन आव्हान गरेको हो । साथै उजुरीकर्ताको विवरण गोप्य रहनेसमेत मन्त्रालयले जनाएको छ ।

कोभिड-१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि आफ्नो स्वास्थ्यको परवाह नगरी रातदिन खटिरहेका चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई समाजबाट दुर्व्यवहारका घटना बढ्न थालेसँगै गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘कोभिड–१९ सङ्क्रमणको यस असहज परिस्थितिमा पनि नागरिकको जीवन रक्षाका लागि निरन्तर खट्ने स्वास्थ्यकर्मी राष्ट्रसेवकहरूलाई सम्मान तथा उत्प्रेरित गर्नुपर्नेमा काठमाडौँ, चितवन, मोरङलगायतका जिल्लामा केही उश्रृंखल व्यक्ति समूहबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका अन्य राष्ट्रसेवकहरू उपचर हुल हुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर÷डेरामा जान आउन अवरोध गर्ने, घेराउन गर्ने, दुर्व्यवहार गर्न जस्ता क्रियाकलाप भएको घटनाप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै स्थानमा त्यस प्रकारका घटना हुन सक्ने देखिएमा वा हुन गएमा तत्कालै गृह मन्त्रालयको टोल फ्री नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गरी जानकारी गराउनु हुन तथा जुरीकर्ताको विवरण गोप्य रहने ब्यहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’

गैर कानुनी तथा उश्रृंखल गतिविधिमा संलग्न हुनेहरू उपर कानुन बमोजिम तत्काल कारावही गर्न मन्त्रालय मातहत निकायहरूलाई निर्देशनसमेत दिइसकेको जनाउँदै मन्त्रालयले कोभिड-१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारमा संलग्न राष्ट्रसेवकहरू प्रति सद्भाव तथा सम्मानजनक व्यवहार गर्न नागरिकहरूलाई अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस