सरकारी कार्यालयका सहयोगी कर्मचारी कोरोनाको उच्च जोखिममा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी कार्यालयका सहयोगी कर्मचारी कोरोनाको उच्च जोखिममा


प्रशासन सिंहदरवार ब्युरो

२९ श्रावण २०७७, बिहिबार


काठमाडौँ । सरकारी कार्यालयहरूमा कार्यरत कार्यालय सहयोगी तथा सफाइ कर्मचारी कोरोनाको उच्च जोखिममा छन् ।

नियमित सरसफाइदेखि चिया खाजाको व्यवस्थापन गर्दै आएका सहयोगी कर्मचारीको सुरक्षा सतर्कताबारे उपल्लो तहका कर्मचारीले गरेको नजर अन्दाजका कारण उनीहरूमा कोरोना सङ्क्रमण हुन सक्ने र फैलिन सक्ने जोखिम उच्च देखिएको हो ।

हरेक दिन बिहान एउटै सफाइ सामाग्रीले हरेक शाखा तथा महाशाखा प्रमुखदेखि कार्यालयका टेबुल कुर्सी सफा गर्दा आफूलाई सङ्क्रमण हुन सक्ने मात्रै होइन, अर्को कर्मचारी लाईसमेत सार्न सक्ने सम्भावना उच्च देखिएको सिँहदरवारस्थित एक कर्मचारीले बताए ।

‘कार्यालय सहयोगीले एउटै रुमालले सबै कर्मचारीको टेबुल सफा गर्छन्’ ती कर्मचारीले भने, ‘यदि कुनै एक जना कर्मचारीलाई मात्रै कोरोना भएको रहेछ भने त्यो कर्मचारीको टेबुल सफा गरेको रुमालले अरू सबै टेबुल सफा गर्दा सिङ्गो मन्त्रालय नै सङ्क्रमित हुने जोखिम हुन्छ ।’

मुलुकका प्रमुख प्रशासनिक केन्द्र सिँहदरवारले आम नागरिकलाई सङ्क्रमणबाट जोगिन अनेकन् उपाय अपनाउन सुझाई रहँदा आफ्नै निकायमा हुन सक्ने उच्च जोखिमबारे नजर अन्दाज गरिएकोप्रति कसैको ध्यान पुग्न नसकेको उनको भनाई छ ।

सहयोगी तथा सफाइ कर्मचारीलाई सुरक्षात्मक सामाग्रीहरूसमेत उपलब्ध गराएको देखिँदैन । खास गरी मास्क, ग्लोब्स, स्यानिटाइजर जस्ता अति महत्त्वपूर्ण सामानहरू कुनै पनि मन्त्रालयले सहयोगी कर्मचारीका लागि भनेर उपलब्ध गराएको छैन । मन्त्री, सचिव तथा सहसचिवहरूलगायत उच्च पदस्थहरू सबैको टेबुलमा स्यानिटाइजरको बोतल राखिने गरेको भएपनि आफू बस्ने टेबुल कति सङ्क्रमणमुक्त छ भन्ने ख्याल नभएको उनको भनाई छ ।

सङ्क्रमणको समयमा कार्यालय हरेक कर्मचारीले आफ्नो टेबुल कुर्सी आफै सफा गर्ने व्यवस्था गर्नु नै अहिलेको उत्तम उपाय भएको अर्का एक कर्मचारीले बताए । ‘हामी घरमा आफ्नो सबै काम आफै गर्न सक्ने तर केही समयका लागि आफू बस्ने कार्यालयको टेबुल सफा गर्न नसक्ने ? उनले प्रतिप्रश्न गर्दै भने । या त कार्यालय सहयोगीलाई सुरक्षा सामाग्रीसहित हरेक कार्यकक्षका लागि छुट्टाछुट्टै सफाइ सामाग्री उपलब्ध गराउँदा मात्रै सङ्क्रमण सर्ने सम्भावना कम रहने उनको भनाई छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक अधिकांश मन्त्रालयहरूमा स्यानिटाइजरको उचित प्रयोगदेखि शौचालयहरूमा साबुनसम्म राखिएको छैन ।

त्यसो त सिँहदरवारका क्यान्टिनदेखि मन्त्रालयमै राखिएका चियाखाजा बनाउने भान्साहरु अत्यन्तै अव्यवस्थित र फोहोर छन् । त्यसैमाथि सरसफाईसम्बन्धी सामान्य पनि चेतना नभएका सहयोगी कर्मचारीहरुले हाकिमको टेबुलमा पुर्‍याउने चिया खाजा कति स्वस्थ र सफा छ त ? कहिल्यै भान्सा हेर्न भ्याएका छन् ? साँधुरो तथा अध्यारो हावा पनि राम्ररी पास नहुने र कतिपय अवस्थामा भएको भ्याल तथा भेन्टिलेसनसमेत बन्द गरेर पकाउने खानाहरु के कसरी राखिन्छ भन्ने कुरामा त झन् कसले ख्याल गर्ने ? सरसफाईका लागि धारा तथा पानीकोसमेतको पर्याप्तता नहुँदा जे छ, त्यस्तैलाई त्यसैगरी काम चलाउँदा जुनसुकै बेला पनि संक्रमण फैलिनसक्ने खतरा मन्त्रालयकै कर्मचारी र भान्सामा देखिन्छ ।

प्रत्येक कर्मचारी सुरक्षित भयो भने मात्रै सिङ्गो मन्त्रालय र सबै कर्मचारी सुरक्षित हुन्छन् । आफ्नो मात्रै टेबुलमा स्यानिटाइजर र शौचालय साबुन राखेर सुरक्षित छु भन्ने सोच्नु बालुवामुनि मुन्टो लुकाएर सुतुरमुर्गले सुरक्षित महसुस गर्नु जस्तै हो । यसर्थ देशवासीलाई सुरक्षित रहन सुझाउने नीतिनिर्माताहरुले पहिले आफू र आफ्नो कार्यालयको सुरक्षा सतर्कता अपनाउन बिर्सन हुँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस